१६ चैत्र २०८० शुक्रबार
समाज

विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

बैरेनीमा रहेको बागेश्वरी माध्यमिक विद्यालयको बेहोस भएको विद्यार्थी।

धादिङ – विद्यार्थीहरु विद्यालयमा आउँछन्। बेन्चमा बस्न नपाउँदै भुईमा ढलिहाल्छन्। भुईमा ढलेपछि चिच्चाउने, कराउने, घाँटीमा न्याक्ने, हाँस्ने, काप्ने जस्ता फरक फरक लक्षण देखाउँछन्। भुइँमा ढलेर बर्बराउँदै बचाउ बचाउ समेत भन्छन्। 

यो धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनी बजारमा रहेको वागेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीहरूमा देखिएको अनौठो रोग हो। यस विद्यालयमा जेष्ठको तेस्रो सातादेखि दैनिक छात्रा विद्यार्थीहरू बेहोस भएर ढल्ने समस्या देखिएको छ। 

अनौठो रोग देखिएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ। विद्यालयमा  केहि दिनदेखि एउटा छात्रा चिच्याएर कराउने र अर्ध बेहोस अवस्थामा लडेकी थिइन्। उनी लडेपछि एकपछि अर्को गर्दै अन्य विद्यार्थीहरू पनि त्यस्तै गरी चिच्चाउने, कराउने, बेहोस हुन थालेको विद्यालयका प्रधानाध्यापक राजनप्रसाद अधिकारीले जानकारी दिए। ‘बिद्यार्थी बेहोस हुने, चिच्याउने, लड्ने जस्ता समस्या विद्यालयमा पहिलो पटक देखा परेको हो’ अधिकारीले भने, ‘विद्यार्थीमा निरन्तर बेहोस हुने लक्षण देखिएपछि आगामी आइतबार सम्मका लागि विद्यालय वन्द गरेका हौँ।’ 

जेष्ठ महिनाको २४ गतेदेखि विद्यार्थीहरूमा यस्तो लक्षण देखेपछि विद्यार्थीहरूलाई जचाउँनका लागि स्वास्थ्य संस्था पनि लगिएको थियो। जचाउँन डाक्टरले केहि रोग नभेटिएको जानकारी दिएका थिए। दैनिक करिब १०–११ जना विद्यार्थी कक्षा कोठामा पढ्दै गर्दा बेहोस हुने गरेको छ। कहिले लाइन लागेकै समयमा ढल्ने त कहिले बेन्चमा बसिरहेका बेला ढल्ने गरेको विद्यालयका प्रधानाध्यापक अधिकारीले बताए। ‘घरमा बसेको बेला केही हुन्न, विद्यालयमा बेहोस हुने गरेको छ’ अधिकारीले भने, ‘कक्षामा शिक्षकले पढाइरहेको बेलामा बेहोस भएर ढल्ने गरेपछि पढाई समेत प्रभावित भएको छ।’   विद्यालयको कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थीहरूमा यस्तो समस्या देखिएको विद्यालयले जनाएको छ।

प्रधानाध्यापक अधिकारीका अनुसार एक साता अघि पहिलो पटक देखा परेको थियो। यस्तो समस्या देखा परेपछि दुई दिन विद्यालय बन्द गरी  पुनः सञ्चालन गर्दा समेत यस किसिमको समस्या दोहोरिएको उनले बताए। बेहोस हुने समस्या देखेपछि अभिभावकहरूले धामी झाँक्री पनि लगाए तर बिसोक भएन। विद्यालयमा यस्तो प्रकारको अनौठो रोग देखा परेपछि विद्यार्थीहरू विद्यालय नै आउन छाडेका छन्। पढाई पनि राम्रोसँग संचालन हुन सकेको छैन। 

यता नीलकण्ठ नगरपालिका १२ धुवाँकोटमा रहेको रातमाटे विद्यालयम पनि यस्तै समस्या देखिएको छ। कक्षामा पढाइरहेका बेलामा अकस्मात विद्यार्थी कराउने चिटचिट पसिना निकाल्ने, काम्नेजस्ता लक्षण देखापरेपछि विद्यालयका शिक्षक, अभिभावक चिन्तित बनेका छन्।  गणित, अंग्रेजी, विज्ञान विषय पढ्ने समयमा यस्तो समस्या देखिने गरेको विद्यालयले जनाएको छ। गत सालमा पनि सिद्धलेक गाउँपालिका वडा नं ४ स्थित आरुवासमा रहेको कालीदेवी माविका विद्यार्थीहरुमा यस्तै अनौठो रोग देखिएको थियो। 

यो समस्या ‘कन्भर्सन डिसअर्डर’ भएको चिकित्सकहरूले बताएका छन्। उपचार गराउँदा पनि रोग बिसेक नभएकाले विद्यार्थीमा मनोसामाजिक परामर्श आवश्यक परेको विद्यालयले जनाएको छ। यस्तो लक्षण पटक पटक देखिएपछि उपचारका लागि पहल गरिएको थियो तर कुनै परिवर्तन नभएपछि मनोपरामर्श पनि दिइएको छ। यो तनावका कारण हुने भएकाले औषधी उपचारबाट समस्या समाधान नहुने मनोपरामर्शदाता प्रविण घिमिरेको भनाई छ। 

‘पारिवारिक समस्या, उमेर अनुसार शारीरिक वृद्धिविकास बढेका कारण पनि यस्तो लक्षण देखा पर्ने गर्छ’ घिमिरेले भने, ‘मास हिस्टेरियाको रुपमा देखिएकाले यस्ता समस्याको समाधान औषधी उपचार नभई शान्त वातावरण तथा सरसफाईमा ध्यान दिनु हो।’ यस्ता विद्यार्थीहरूलाई शान्त वातावरणमा छुट्टै कक्षामा लगेर मनोपरामर्श दिने गरेको घिमिरेले बताए। 

प्रकाशित: ४ असार २०७५ ११:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App