२३ श्रावण २०७७ शुक्रबार
समाज

पीडित चौथो बर्खा पनि टहरोमै बस्न बाध्य

भूकम्प प्रभावित पर्यटकीय क्षेत्र हेलम्बुको मेलम्चीघ्याङ गाउँ। १ सय १० भन्दा बढी घरधुरी रहेको यहाँका अधिकांशले पुनर्निर्माण थालेका छैनन्। तस्बिर : ध्रुव/नागरिक

सिन्धुपाल्चोक - भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकमा अहिलेसम्म पीडितका कति घर बने भन्ने एकिन तथ्यांक सरकारी निकायसँगै छैन। पुनर्निर्माणसम्बन्धी सरकारी तथ्यांक हेर्दा ठूलो संख्याका भूकम्पपीडित चौथो बर्खा पनि अस्थायी टहरोमै बस्न बाध्य हुँदै छन्।

व्यक्तिगत आवास निर्माण तथ्यांक अद्यावधिक गर्ने निकाय सहरी विकास तथा भवन डिभिजन, जिल्ला आयोजना कार्यान्वयन इकाइ (डिएलपिआइयू) हो। इकाइ प्रमुख टंकप्रसाद गौतम व्यक्तिगत आवास पुनर्निर्माणको एकिन तथ्यांक अद्यावधिक हुन नसकेको स्वीकार्छन्। ‘अनुदानको तेस्रो किस्ता वितरण नसकिँदासम्म पुनर्निर्माण सम्पन्न घरको एकिन तथ्यांक आउन सक्दैन,’ उनले भने।

इकाइले प्राविधिक परीक्षणको आधारमा अनुदानको दोस्रो किस्ता वितरणलाई प्राथमिकता दिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले असार मसान्तभित्र पीडितले दोस्रो किस्ता लिइसक्नुपर्ने समय सीमा तोकेको छ। भुइँ तहको संरचना (डिपिसी) पूरा भएपछि पीडितले दोस्रो किस्ता डेढ लाख रुपैयाँ पाउँछन्। दोस्रो किस्ता वितरणलाई प्राथमिकता दिँदा तेस्रो किस्ता निकासा पर्याप्त हुन सकेको छैन।

सोही कारण पुनर्निर्माणमा भएको भौतिक प्रगति देखिन नसकेको डिभिजन इन्जिनियर रहेका इकाइ प्रमुख गौतम बताउँछन्। इकाइको तथ्यांकअनुसार हालसम्म साढे २७ हजार पीडितले तेस्रो किस्ता लगिसकेका छन्। गारो तहको संरचना तयार भएपछि छाना छाउने काम गर्न पीडितले अन्तिम तेस्रो किस्ता १ लाख रुपैयाँ पाउँछन्। यसको आधारमा कम्तीमा साढे २७ हजार घर निर्माण भएको बुझ्न सकिन्छ । तर इकाइको तथ्यांकले योभन्दा अझै कम झन्डै २४ हजार घरको मात्र पुनर्निर्माण सम्पन्न भएको देखाएको छ।

यो तथ्यांकअनुसार भर्खर साढे २८ प्रतिशत मात्र घर संरचना सम्पन्न भएको छ। जिल्लामा अनुदान सम्झौता गर्ने पीडित लाभग्राहीको संख्या ८३ हजार ६ सय ६३ छ। जिल्लाको सबैतिर पुनर्निर्माणले लिइरहेको गति र तीव्रता देख्दा सरकारी यो तथ्यांक विश्वसनीय छैन । सरकारका अधिकारी नै यो तथ्यांकमा विश्वस्त देखिँदैनन्। पुनर्निर्माणमा भएको अथार्थ भौतिक प्रगति कागजमा देखाउनसमेत सरकारी निकाय चुकेको देखिन्छ।

प्राविधिक जाँचपछि इकाइको सिफारिसका आधारमा ७० हजार ३ सय ६१ ले दोस्रो किस्ता पाइसकेका छन्। पहिलो किस्ताको ५० हजार रुपैयाँले भुइँ तहको संरचना तयार गरेपछि थप निर्माणका लागि पीडितले दोस्रो किस्ता पाउँछन्। झञ्झटिलो र ढिलासुस्ती सरकारी प्रक्रियाका कारण दोस्रो किस्ता निकासा हुन एकदेखि दुई महिना लाग्छ। प्राविधिकको अनुभवमा त्यतिञ्जेल निर्माणाधीन अधिकांश संरचना सम्पन्न भइसक्छन्।

प्राविधिकको अनुभवलाई विश्वास गर्दा दोस्रो किस्ता प्राप्त गर्ने संख्याकै हाराहारीमा कम्तिमा ६० हजार घरसंरचना निर्माण सम्पन्न भइसकेका छन्। ‘हाम्रो अनुमानमा पनि ६० हजारभन्दा बढी घर संरचना बने भन्ने छ,’ इकाइ प्रमुख गौतमले भने, ‘तर तेस्रो किस्ता वितरण नसकिँदासम्म अन्तिम तथ्यांक यही हो भनेर भन्न सक्दैनौँ।’

उनकै भनाइलाई आधार बनाउने हो भने पनि २० हजारभन्दा बढी पीडित यो बर्खा टहरोमै बस्न बाध्य हुने छन्। यीमध्ये अधिकांशले पुनर्निर्माण थाले पनि असारभित्र उनीहरु नयाँ घरमा सर्न सम्भव छैन। पहिलो किस्ता अनुदान लिएका सबै ८१ हजार ९ सय ८ ले पुननिर्माण थालेको इकाइको तथ्यांक छ। प्राधिकरणले समय तोकेकाले भर्खर पुनर्निर्माण थालेका अधिकांश पीडितले असारभित्र भुइँ तहको संरचना बनाउन भ्याउने देखिए पनि बर्खा र खेतीपाती लगाउने सिजनका कारण काम अघि बढ्ने देखिँदैन।

इकाइ प्रमुख गौतम बर्खामा पुनर्निर्माण प्रभावित हुने बताउँछन्। उनका अनुसार बाह्रैमास यातायात साधन सञ्चालन हुने बजार र सुगम क्षेत्रमा पुनर्निर्माण नरोकिए पनि ग्रामीण क्षेत्रमा भने असर पुग्छ। ‘बर्खामा ग्रामीण सडक अवरुद्ध हुन्छन् । निर्माण सामग्री लैजान नसकेपछि काम रोकिने नै भयो,’ उनले भने, ‘खेतीपातीको काममा लाग्नु पर्ने बाध्यतामा पनि गाउँले नै हुन्छन्।’

अनुदान सम्झौता गरेका झन्डै १ हजार ५ सय पीडितले अझै पुनर्निर्माण गर्न नसकेको तथ्यांकले देखाएको छ। विदेशमा रहेका, विस्थापित भएका, भूकम्पले जमिन चर्काएका कारण जग हाल्ने जग्गा नभएका, सुकुम्वासी र प्राविधिक त्रुटीको उल्झन खेपिरहेकाहरुले पुनर्निर्माण थाल्न नसकेको इकाइ प्रमुख गौतमले जानकारी दिए।

प्रकाशित: ४ असार २०७५ ०८:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App