coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दुर्गममा आधुनिक सहर बसालौं : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्गम तथा मुख्य राजमार्ग क्षेत्रमा आधुनिक सहर विकास गर्न व्यवसायीलाई आग्रह गरेका छन्।

सातौंैं घरजग्गा मेला, २०७५ को शुक्रबार भृकुटीमण्डपममा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन्। उनले उद्योग–व्यवसायीलाई काठमाडौं उपत्यकामा मात्रै सीमित नभई दुर्गम क्षेत्रमा पनि भौतिक पूर्वाधार विकास गरी आधुनिक सहर बसाल्न आग्रह गरे।

सरकारले पुष्पलाल राजमार्गमा १० वटा आधुनिक सहर निर्माण गर्नेयोजना अघि सारेको जानकारी दिँदै ओलीले भने, ‘सरकारले नीति बनाइदिने हो। सहरको निर्माण व्यवसायीले गर्ने हो। यसमा सरकारले के गर्नुप-यो,’ प्रधानमन्त्री ओलीले भने, ‘खेतीयोग्य जमिन जोगाउँदै नयाँ ढंगले सहरको संरचना तयार गर्नुपर्छ।’

प्रधानमन्त्री ओलीका अनुसार सुर्खेत, दाङ र लुम्बिनीमा पनि आधुनिक सहर विकास गरिने छ। दुर्गम क्षेत्र, पूर्वाधार विकास नभएका क्षेत्रलाई आधुनिक सहरमा रुपमान्तरण गदैृ जाने सरकारको लक्ष्य रहेको उनले बताए। सहर निर्माणको ढाँचा परिवर्तन हुनुपर्नेमा जोड दिँदै उनले २५ किलोमिटर चौडाइ र १०० किलोमिटर लम्बाइको बस्ती विकास आजको आवश्यकता रहेको बताए।

अबको सहर तिनाउ र राप्तीलाई डाइभर्सन गरेर विकास गर्नुपर्छ। नदीलाई तालको रुपमा विकास गर्दै पर्यटकीय सहरका रुपमा विकास गर्नुपर्ने प्रधानमन्त्रीको तर्क थियो।

नेपाल जग्गा तथा आवास विकास संघका महासचिव मिनमान श्रेष्ठले ५५ वर्ष पुरानो भूमिसुधार नीतिमा टेकेर जग्गा खण्डीकरण रोक्नु उचित नहुने बताए। ‘सरकारको नीतिअनुसार हामीले कर तिरेर जग्गा लिएका छौं तर, कित्ताकाट रोकिएको छ। घर जग्गा औद्योगिक क्षेत्र भएकाले सरकारले यसमा विशेष प्राथमिकताका साथ हेर्नुपर्छ,’ महासचिव श्रेष्ठले भने, ‘हामी हरेक प्रदेशमा नयाँ सहरको विकास गर्न चाहन्छौं । यसमा सरकारले हातेमालो गर्नुपर्छ।’

नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इच्छाराज तामाङले मेलाले यस वर्ष धेरै उपभोक्ताको चाहना पूरा गर्ने बताए। उपभोक्तामुखी योजना ल्याएकाले यस वर्ष सोचेभन्दा राम्रो कारोबार हुने अपेक्षा लिएको उनको भनाइ थियो। ‘सरकारले घरजग्गा व्यवसायीलाई सहर विकास गर्ने महत्वपूर्ण डेभलपर्सको रुपमा हेर्नुपर्छ। यस क्षेत्रमा खर्बौ रुपैयाँ लगानी भएको छ। यस कारण समय सापेक्ष नीति नियम बनाउनु सरकारको दायित्व हो,’ अध्यक्ष तामाङले भने।

यस्तै, अन्तर्राष्ट्रिय हाउजिङ समिटका संयोजक संगिता सिंले असार ४ र ५ गते हुने समिटमा मलेसिया, भारत, बंगलादेश र अन्तर्राष्ट्रिय घरजग्गा संघका अध्यक्षसमेत सहभागी हुने जानकारी दिइन्। समिटमा घरजग्गाका विभिन्न विज्ञले कार्यपत्र प्रस्तुत गर्ने छन्। घरजग्गा मेला असार ५ गतेसम्म चल्ने छ। मेलामा घरजग्गा, फर्निचर, पाइप, निर्माण सामग्री, रङरोगन, विद्युतीय सामग्री, बैंक तथा वित्तीय संस्थाका स्टल छन्।

प्रकाशित: २ असार २०७५ ०२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App