८ वैशाख २०८१ शनिबार
समाज

हिरासतमा रहेका ब्यक्तिबारे बुझ्न गएका स्थानीयको प्रहरीसँग झडप, ८ घाइते

दाङ-  बलात्कार मुद्दामा थुनामा रहेका एक युवकको बारेमा स्थानीय र प्रहरीबीच झडप हुँदा गढवामा ३ प्रहरी सहित ८ स्थानीय घाईते भएका छन्। बलात्कार मुद्दामा थुनामा रहेका युवकको बारेमा जानकारी लिन गढवा स्थित ईलाका प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच विवाद भएको थियो। विवादले उग्ररुप लिएपछि झडप भएको स्थानीयले बताएका छन्।

चार महिना अघि विवाह गरेका गढवाका एक युवकमाथि श्रीमतीका तर्फबाट बलात्कारको उजुरी परेपछि यो घटना भएको हो। स्थानीय दुखहरण यादवका अनुसार यादव समूदायका ति युवकले चार महिना अघि गाउँकै एक युवतीलाई विवाह गरेका थिए। यो अवधिमा श्रीमान श्रीमतीबीच विवाद चल्न सुरु भयो। ‘विहे गरेर आएपछि त्यो महिला घरमा नबस्ने समस्या बढ्न थालेपछि केटाको परिवारले खोजी गरिदिनका लागि प्रहरीमा उजुरी समेत दिएको थियो,’ स्थानीय दुखहरणले भने।

तर गत शनिवार प्रहरीले ति श्रीमानलाई बलात्कार आरोपमा नियन्त्रणमा लियो । श्रीमतीले स्वयं आँफू बलात्कृत भएको भन्दै प्रहरीमा उजुरी परेपछि प्रहरीलेति युवकलाई नियन्त्रणमा लिएको हो । ‘श्रीमती भनिएकै युवतीले नै आँफू माथि बलात्कार भएको भनेर उजुरी दिएपछि हामीहरुले नियन्त्रणमा लिएका हौँ,’ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख,प्रहरी निरीक्षक पञ्चलाल गोलेले भने ‘उजुरी दर्ता भैसकेको छ, अनुसन्धान चलिरहेको छ।’ तर स्थानीयले यो मुद्दालाई मिलाउनु पर्ने भन्दै दबाब दिन थालेपछि शुक्रवार झडपको स्थिती निम्तीएको उनले वताए। ‘निवेदन दर्ता भैसकेको यो घटनालाई मिलाउनका लागि स्थानीयले दबाब दिन थाल्नु भयो,’गोले भन्छन् ‘तर निवेदन दर्ता भैसकेको घटना मिलान गर्न नमिल्ने भनेपछि उहाँहरु बढि आक्रोशमा आउनु भयो।’ तर स्थानीयले भने प्रहरीले थुनामा रहेका युवकलाई चरम यातना दिने गरेको भन्ने सुनेपछि ति युवकको अवस्था बुझ्न खोजेका थिए। ति युवकलाई केहि दिन अघि मात्रै श्रीमतीले जलाउन खोजेको र उनको टाउकोमा ठूलो घाउ रहेको स्थानीय दुखहरणले बताए। प्रहरी नियन्त्रणमा रहेका ति युवकको अवस्था बुझ्नका लागि भेट्न खोज्दा प्रहरीले भेट्न नदिएपछि स्थानीय आक्रोशित बन्न पुगेको वताईएको छ। 

गोलेले घटनामा तीन जना प्रहरी मात्रै घाईते भएको भएपनि स्थानीय भने कोहि पनि घाईते नभएको दाबी गरे । तर स्थानीयले ८ जना घाईते भएको वताएका छन् । प्रहरी र स्थानीय विच लाठी तथा ढूंगाहानाहान चलेको थियो । स्थिती तनावपूर्ण बनेपछि प्रहरीले दुई सेल अश्रुग्याँस प्रहार समेत गरेको थियो।  

प्रकाशित: १ असार २०७५ ११:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App