coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सडक क्षति गरे सार्वजनिक मुद्दा

इलाम – सार्वजनिक सडक उक्काएर घरको ढल बगाउने, निर्माण सामग्री राखेर सडक क्षति गर्नेजस्ता क्रियाकलापविरुद्ध इलाम नगरपालिका अब कडा रूपमा प्रस्तुत हुने भएको छ। सडकको जताततै घरको ढल बगाउने, सडक फोहोर पार्ने र सार्वजनिक सम्पत्ति क्षति गर्नेविरुद्ध नगरले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दासमेत चलाउने भएको छ। 

सडक क्षति गर्नेलाई पहिलो पटक ५ हजार, दोस्रो पटक त्यसको दोब्बर र त्यति गर्दा पनि अटेर गरे सार्वजनिक अपराधमा मुद्दा चलाउने नगर कार्यपालिका बैठकले निर्णय गरेको हो। नगरपालिका प्रमुख महेश बस्नेतले नगरमा विभिन्न सडक उक्काएर घरको नाली बगाउने, निर्माण सामग्री सडकमा लोड–अनलोड गरेर कालोपत्रे, ग्राभेल क्षति गर्नेविरुद्ध कारबाही गरिने बताए। 

‘व्यक्तिगत फाइदाका लागि कालेपत्रेमा ढुंगा अनलोड गर्दा क्षति पुगेको, घरको नाली सडकको कालोपत्रे उक्काएर बगाउने गरेकोजस्ता समस्या जताततै देखिएका छन्,’ उनले भने, ‘सार्वजनिक सम्पत्ति संरक्षण गर्न हामीले यस्तो क्रियाकलाप गर्नेविरुद्ध अप्रिय निर्णय गरेका छौं।’ उनले व्यक्तिगत प्रयोगका लागि सडक दुरुपयोग गर्नेक्रम बढेकाले यस्तो निर्णय गर्नुपरेको पनि जनाए। बस्नेतले रुखका गोलिया बिक्री गर्नेहरूले पनि सडक दुरुपयोग गरी सवारी साधनलाई अवरोध गर्ने, सर्वसाधारणलाई हिँडडुल गर्न समस्यामा पार्ने प्रवृत्ति बढेको पनि जनाए। 

अहिले इलाम नगरपालिकाका विभिन्न स्थानमा घर, भवन बनाउनेको संख्या धेरै छ। घर बनाउँदा मेची राजमार्ग, इलाम बजार क्षेत्र र वरपरका सडक ढाकिने गरी निर्माण सामग्री राख्दा सर्वसाधारणलाई आउ–जाउमा समस्या हुने गरेको छ। घरको बाथरुम, भान्साघरलगायतको फोहोर बगाउन जताततै सडकको कालोपत्रे उक्काउनेक्रम बढेको देखिएको छ। यस्ता कार्यले सार्वजनिक सम्पत्ति नष्ट हुने भएपछि नगरपालिकाले तिनीहरूको संरक्षण गर्ने निर्णय गरेको प्रमुख बस्नेतले जनाए। 

नगरका धार्मिकस्थल व्यवस्थित र नियमित गर्न धार्मिक तथा सांस्कृतिक क्षेत्र विकास गठन तथा सञ्चालन कार्यविधि पनि बैठकले पारित गरेको छ। विशेषगरी नगरको स्वामित्व र सञ्चालनमा रहेका ५ धार्मिकस्थललाई व्यवस्थित गर्न यो कार्यविधि पारित गरेको प्रमुख बस्नेतले बताए। सेतीदेवी, सिंहवाहिनी, नारायणस्थान, माइस्थान र गुम्बाडाँडा धार्मिक तथा सांस्कृतिक क्षेत्र अहिले नगरपालिकाको स्वामित्व, सञ्चालन र रेखदेखमा छन्। ‘यीबाहेकका मठ–मन्दिर, चर्च, गुम्बालगायतका धार्मिक तथा सांस्कृतिकस्थलको अभिलेखीकरणका लागि यसअघि नै निर्णय भइसकेको छ,’ उनले भने, ‘नगरको स्वामित्वका धार्मिकस्थल व्यवस्थित गर्न समिति पनि गठन गरिने छ।’ 

सम्बन्धित वडा समितिको सिफारिसमा नगरपालिकाले आफ्नो स्वामित्वका धार्मिकस्थलको व्यवस्थापन समिति गठन गर्ने कार्यविधिले व्यवस्था गरेको छ। प्रत्येक धार्मिक तथा सांस्कृतिकस्थलका लागि निर्माण हुने ११ सदस्यीय समितिका पदाधिकारी चयन गर्न निश्चित मापदण्ड पनि तोकिएको नगरले जनाएको छ। 

नगरले प्रदेश नम्बर १ को सरकारले नगरपालिकाका विभिन्न ४ योजनाका लागि पठाएको रकम कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ। चालू आर्थिक वर्षभित्रै खर्च गर्नेगरी प्रदेशबाट आएको १७ लाख रुपैयाँ नगरले विनियोजन विधेयक पास गरी खर्च गर्ने तयारी गरेको छ। प्रदेश सरकारले इलाम नगरपालिका वडा ९ को रत्नचोक–इन्टेक सडक र वडा ११ को भाङटार–बेलासे सडकलाई ५–५ लाख रुपैयाँ पठाएको छ। वडा ८ को रक क्लाइम्बिङलाई ४ लाख र वडा ५ स्थित बहुद्देश्यीय कभर्ड हललाई ३ लाख रुपैयाँ आएको नगरले जनाएको छ। 

नगर कार्यपालिका बैठकले वडा ६ को कार्यालय भवन साविक स्थानबाट नारायणस्थानमा सार्ने निर्णय गरेको छ। वडा ७ को भवन पनि उपयुक्त स्थानमा सार्ने निर्णय भएको प्रमुख बस्नेतले बताए। नगरको स्वामित्वमा रहेका भवनमा यातायात व्यवसायीले संस्थागत रूपमा सञ्चालन गरिरहेका काउन्टर पनि अब नगरपालिकाले खुला प्रतिस्पर्धाबाटै भाडामा लगाउने भएको छ। 

बसपार्क क्षेत्रमा रहेका ४ कोठालाई प्रतिस्पर्धाका आधारमा भाडामा लगाइने उनले बताए। ‘व्यवसायीको संस्था अब प्राइभेट कम्पनी हुने भएकाले नाफामूलक व्यवसायलाई नगरले सित्तैमा घर दिन सक्दैन,’ प्रमुख बस्नेतले भने, ‘अहिले व्यवसायीले सञ्चालन गरिरहेका काउन्टर अब खुला प्रतिस्पर्धाका आधारमा भाडामा लगाइने छ।’ नगरपालिकाले इलाम चोक बजारको तरकारी लाइनमा ८ करोड रुपैयाँ लगानीका सिटी मार्ट निर्माण गर्ने भएको छ। सिटी मार्टका लागि ठेक्का लागिसकेको पनि नगर प्रमुख बस्नेतले बताए।

प्रकाशित: ३१ जेष्ठ २०७५ ११:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App