१५ चैत्र २०८० बिहीबार
समाज

कर्णाली प्रदेश : विकास र समृद्धिको आधार वर्ष

सुर्खेत- कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षलाई विकास र समृद्धिको आधार वर्षका रुपमा मनाउने भएको छ। यसका लागि आगामी आर्थिक वर्षमा कर्णालीको समग्र गुरुयोजना निर्माण र ठूला आयोजनाहरुको संभाव्यता अध्ययन थालिने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए। ‘कर्णालीको आवश्कता र संभावनाको खोजी गर्नका लागि गुरुयोजना निर्माण गर्न लागेका हौं’ सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘यसका साथै दूरगामी महत्वका ठूला आयोजना निर्माणका लागि संभाव्यता अध्ययन गछौं।’

प्रदेश सरकारले शनिबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा समग्र कर्णालीको विकासका लागि जिआइएस तथा रिमोट सेन्सिङ विधिबाट अध्ययन गरी गुरुयोजना निर्माण गर्ने उल्लेख छ । उनले नीति तथा कार्यक्रम महत्वाकांक्षी भएपनि कार्यान्वयन गरेरै छोड्ने बताए । ‘प्रदेशको विकासका लागि सानो लक्ष्यले पुग्दैन्’ उनले भने, ‘हामीले महत्वाकांक्षी नीति तथा कार्यक्रम ल्याएका छौं, पूरा गरेरै छोड्छौं।’

उनले नीति तथा कार्यक्रम जस्तै बजेट पनि महत्वाकांक्षी ल्याउन लागिएको जानकारी दिए । उनले ३२ अर्व बराबरको बजेट ल्याउने तयारी भइरहेको बताए । संघीय सरकारले प्रदेशलाई १६ अर्व छुट्याएको छ । कर्णाली प्रदेशको आफ्नै आन्तरिक स्रोत छैन् । संघीय सरकार, साझेदार दातृ निकाय र निजी क्षेत्रसँग ऋण ल्याएर भएपनि बजेटको लक्ष्य पूरा गर्ने उनले बताए।

उनले वितरणमुखि बजेट नआउने स्पष्ट पारे । ‘अवको बजेट उत्पादनमुखि हुन्छ’ उनले भने, ‘कनिका छरेजस्तो गरेर टुक्रे आयोजनाका लागि बजेट आउँदैन् ।’ उनले समृद्धिको नारा पूरा गर्न सोचमा परिवर्तन गर्नुपर्ने बताए । सोच परिवर्तनलाई अबको राजनीतिक अजेण्डा बनाइनुपर्ने उनको भनाई छ । ‘समृद्धिका लागि पहिले सोच परिवर्तन जरुरी छ’ मुख्यमन्त्री शाहीले भने, ‘हाम्रो अहिलेको राजनीतिक अजेण्डा भनेको ‘व्रेन वार’ हो ।’ कर्णाली प्रदेशसंगै मुलुक समृद्ध बनाउनका लागि सबै नयाँ उर्जाका साथ होमिनुपर्ने औंल्याउँदै उनले सामूहिक प्रतिबद्धताका साथ अघि बढ्नुपर्ने बेला आएकोमा जोड दिए।

उनले देशको नेतृत्व गर्नेगरि युवाहरुलाई सक्षम तुल्याईनुपर्ने समेत बताए। मुख्यमन्त्री शाहीले १८ वर्ष पूरा भएका कर्णालीका युवाले अनिवार्य रुपमा एक वर्ष शारिरिक तन्दुरुस्ती तथा सामाजिक सुरक्षा तालिम लिनै पर्ने बताए। ‘युवाहरुलाई हरेक कुरामा सक्षम बनाउनका लागि प्रदेश सरकारले १८ वर्ष पूरा भएका युवाहरुलाई एक वर्षे तालिमको व्यवस्था गरेको हो’ उनले भने, ‘यो अनिवार्य छ, कर्णालीका हरेक युवाले तालिम लिनुपर्छ ।’ उनले महिलाहरुलाई आर्थिक तथा सामाजिक रुपमा सक्षम बनाउन महिला सशक्तिकरणका पक्षमा सरकारले बजेट ल्याउन लागेको जानकारी दिए।

दुर्गममा ‘अटो निधेष’

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उपत्यका र केही पहाडी जिल्लाका पक्की सडकमाबाहेक अन्य ठाउँमा तीन पांग्रे अटो रिक्सामा प्रतिवन्ध लगाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । आइतबार पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा भएको अटो रिक्सा दुर्घटनाका घाइते भेट्न मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँ पुगेका मुख्यमन्त्री शाहीले पक्की सडकबाहेकका ठाउँ तथा लामो दूरीमा तीन पांग्रे अटो सञ्चालन गर्न नदिन प्रहरीलाई निर्देशन दिए । ‘अटो रिक्साका कारण धेरै दुर्घटना भएका छन्’ उनले भने, ‘यसको नियन्त्रण गर्न जरुरी छ।’

 

प्रकाशित: २८ जेष्ठ २०७५ ०९:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App