७ वैशाख २०८१ शुक्रबार
समाज

चट्टानसँग सेनाको पौंठेजोरी

कर्णाली कोरिडोरस्थित नानिकोटको कर्णाली नदी तीरमा गाडी गुड्दै। तस्बिर : पवित्रकुमार/नागरिक

कालिकोट – नेपाली सेना चट्टानसँग भिड्दै कर्णाली कोरिडोरको सडक निर्माणमा सक्रिय भएको छ। सेनाले लालिघाटदेखि कालिकोट र बाजुराको सिमाना हिल्सासम्लोमिटर सडकको ट्र्याक खोलिसकेको छ। कोरिडोर सडक निर्माणले तीव्रता पाउँदा कर्णालीवासीको गाडी चढ्ने सपना साकार भएको छ। दुई दशकसम्म अलपत्र परेको कर्णाली कोरिडोर निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएको छ। कालिकोटको खुलालु जिरो प्वाइन्ट रहेको कोरिडोरमा ३८.५ किलोमिटर सडक निर्माण भइसकेको सडक निर्माण कार्यदलका प्रमुख सेनाका मेजर मिलन कार्कीले बताए।

खुलालु नजिकै दुई किलोमिटरबाहेक कालिकोट खण्डको पूरै ट्र्याक खोलिएको उनले जानकारी दिए। ‘बाँकी दुई किलोमिटर आगामी असोजसम्म सक्ने योजना छ,’ कार्कीले भने, ‘चालू आर्थिक वर्षभित्रै सडक विभागलाई सडक हस्तान्तरण गर्ने तयारीमा छाैं।’ सेनाले आगामी असोजसम्म निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको जिल्ला समन्वय समिति कालिकोटका प्रमुख अनिपाल शाहीले बताए। खुलालुदेखि हुम्लाको सिमकोटसम्म सडकको लम्बाइ एक सय ९६ किलोमिटर छ। यसमध्ये ४० किलोमिटर सडक कालिकोट खण्डमा पर्छ। कर्णाली कोरिडोर निर्माणका लागि नेपाल सरकारले एक अर्ब ४८ करोड ११ लाख १६ हजार बजेट विनियोजन गरेको थियो।

मुहार फेर्दै कर्णाली
कर्णाली कोरिडोरअन्तर्गत कालिकोटको रकुको रेगिलमा होटल व्यवसाय गर्दै आएका गणेश शाही अचेल निकै खुसी छन्। शाही आफ्नो अाँगनमा गाडी गुड्न थालेपछि खुसी भएका हुन्। २० वर्षदखि होटल व्यवसायमा सक्रिय शाही अचेल आवश्यक सामान आँगनमै गाडीबाट झार्छन्। ‘मैले विगतमा बर्दिया राजापुर र कैलालीको चिसापानी पुगेर नुन ल्याएँ,’ शाहीले भने, ‘अचेल घरअगाडि गाडी गुड्न थालेको छ। अब मेरा दुःखका दिन गए। विकास पनि भयो । अहिले नुन, तेल र चामल घरमै आइपुग्छ।’

सेनाले लालिघाटदेखि कालिकोट र बाजुराको सिमाना हिल्सासम्म ३८ किलोमिटर सडकको ट्र्याक खोलिसकेको छ। कोरिडोर सडक निर्माणले तीव्रता पाउँदा कर्णालीवासीको गाडी चढ्ने सपना साकार भएको छ।

रास्कोट नगरपालिका ८ को भात्तडीमा व्यापार गर्दै आएका शिवशरण बरालको मुहारमा पनि खुसीको सीमा छैन। उनी आफ्नो होटलअगाडि गाडी गुड्दा दंग परेका छन्। सडक नहुँदा टाढाबाट भारी बोकेर ल्याउनुपर्ने बाध्यताबाट मुक्ति मिलेको बरालले बताए। उनले भने, ‘मैले होटल व्यवसाय मात्र हैन, तरकारीखेती पनि गरेको छु। सडक नहुँदा होटलमा मान्छेको चाप थिएन। अहिले होटलमा बास बस्नेको घुइँचो लाग्न थालेको छ।’ कोरिडोरको ट्र्याक खुलेपछि कालिकोटका खुलालुबजार, जितेबाजर, लालिघाटर, रेगिलबजार, सान्नीगाड, भात्तडी, भुराबगर, जारकोट, घाटपारीलगायतमा चहलपहल बढेको उद्योग वाणिज्य संघ कालीकोटका अध्यक्ष सूर्यबहादुर शाहीले बताए।

कर्णाली कोरिडोर निर्माण कार्य सम्पन्न भएपछि देशकै नमुना प्रदेशका रूपमा मुहार फेरिने दाबी नागरिक समाजका अगुवा दमनराज बमको छ। कोरिडोरअन्तर्गतको हिल्सा–सिमकोट खण्डमा निर्माण कार्य दु्रत गतिमा भइरहेको छ। ९५ किलोमिटर लम्बाइको यो खण्डमा हिल्सादेखि दक्षिण नाम्खा गाउँपालिकाको ओखरथलासम्म १५ किलोमिटर सडकमा ट्र्याक खुलिसकेको छ। सान्नीगाडमा ‘बेलिब्रिज’ निर्माण भएपछि कालिकोटमा गाडी सञ्चालनमा सहज भएको छ। हिल्सा–सिमकोट सडकखण्डको नौ किलोमिटर मात्र ट्र्याक खोल्न बाँकी रहेको सेनाका मेजर कार्कीले बताए।

समृद्धिको प्रमुख आधार कोरिडोर
कर्णाली कोरिडोर निर्माण सम्पन्न भएपछि यस क्षेत्रमा पर्यटन विकासको प्रचूर सम्भावना रहेको छ। छिमेकी देश भारत र चीनबाट पनि पर्यटक कर्णाली कोरिडोरमा आवागमन गर्ने विश्वास स्थानीयको छ। सडक बनेमा जडिबुटी निर्यातमा पनि सहज हुने भएको छ। ठेकेदार र सडक विभागले लापरबाही गर्ने भएकाले सरकाले नेपाली सेनालाई सडक निर्माणको जिम्मा दिएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्दबहादुर शाहीले बताए। विगतमा बजेट अभावले काम रोकिएपछि निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिइएको उनले बताए। खुलालु–सिमकोट खण्डमा सडक विभागले आर्थिक वर्ष ०६५/०६६ मा काम सुरु गरेको थियो। तर लक्ष्यअनुसार प्रगति नभएपछि निर्माणको जिम्मेवारी सेनालाई दिइएको हो। कोरिडोर निर्माण पूरा भएपछि कालिकोटका साबिक १७ गाविससहित बाजुरा, मुगु पश्चिम र हुम्लाका बासिन्दाको जीवनशैली समृद्धितर्फ लम्कने नेकपाका नेता नगिन्द्र शाही ‘नेसनल’ ले बताए।

कोरिडोरमा गाडी गुडेपछि गरिबीको रेखामुनि रहेका हजारौं नागरिकका लागि ठूलो राहत भएको नेपाल तरुण दलका महामन्त्री भूपेन्द्रजंग शाहीले बताए। नेपाली सेनाले कोरिडोर निर्माण २०७६ भित्र सम्पन्न गर्ने लक्ष्य लिएको मेजर कार्कीले बताए। उनका अनुसार एक किलोमिटर सडक निर्माणका लागि करिब ७० लाख रुपैयाँ लाग्ने भएको छ।

कोरिडोर निर्माणपछि चीनसँगको व्यापार पनि बढ्ने विश्वास गरिएको छ। कर्णाली कोरिडोर सरकारको राष्ट्रिय गौरवको आयोजनाको सूचीमा छ। कर्णाली कोरिडोर हुम्लाको हिल्सादेखि बाँकेको जमुनाहसम्म उत्तरदक्षिण जोड्ने सबैभन्दा छोटो दूरीको सडक हो। यसको लम्बाइ पाँच सय ३० किलोमिटर छ। सडक खण्ड निर्माण भएपछि भारतबाट नेपाल हुँदै तिब्बतको मानसरोवर जाने तीर्थयात्रीका लागि सहज हुनेछ।

प्रकाशित: २६ जेष्ठ २०७५ ००:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App