१६ चैत्र २०८० शुक्रबार
समाज

केन्द्रीय बाल अस्पतालमा बिरामीकाे अधिक चाप

काठमाडौं - जेठेको तेस्रो साता जनकपुरका सात वर्षीय आलोक यादव बिरामी परे । पेट फुल्ने, ज्वरो आउने हुँदै दिसा–पिसाब रोकियो । बिरामी हुनेवित्तिकै उनलाई जनकपुर अञ्चल अस्पताल पुर्याइयो ।

अस्पतालले सामान्य उपचार गरेपछि ठूलो अस्पताल नपुर्याए पेट फुट्न सक्ने बताएपछि आलोकका अविभावक आत्तिए । स्थानीय चिकित्सकले धरान या काठमाडौं लैजान सुझाए । पत्नी रेखादेवी, आलोककी आमा समुन्द्रीदेवी र जीवनाथसहित चारै जना काठमाडौं आए । अस्पतालमा उपचारपछि उनी निको हुने क्रममा छन् । उपचारपछि अहिले आलोक आफैं पिसाब फेर्न सक्ने भएका छन् ।

आलोकको हेरचाहमा आएका चार जनाको खाना खर्च, एम्बुलेन्स र औषधि खर्चसहित चार दिनमा झन्डै ४५ हजार खर्च भइसकेको छ । पायक पर्ने ठाउँमा राम्रो बाल अस्पताल नभएकै कारण राजधानी आउनु परेको उनीहरुको दुखेसो छ । ‘पेट फुटेर बच्चा मर्न सक्छ भनेपछि हामी काठमाडौं आयौं । उहीँ राम्रो बाल अस्पताल भएको भए यहाँ किन आइरहनु पथ्र्यो र?,’ यादवले भने ।
अस्पतालकै सर्जिकल वार्डमा उपचाररत छन्, इलामका १६ महिने कुशल लिम्बु । कुशललाई जन्मेदेखि नै दिसा गर्न गाह्रो हुने र पेट फुल्ने समस्या थियो । छोराको उपचारका लागि आमा निर्मला लिम्बु चिनेजानेका अस्पताल पुगिन् । कतै केही उपाय नलागेपछि राजधानीको कान्ति बाल अस्पताल आइपुगिन् । सुरुमा उनी झापा दमकको लाइफ केयर अनि सिलगुढी हुँदै बल्ल कान्ति बाल अस्पताल आइपुगिन् ।

कान्ति बालका चिकित्सकले उनको आन्द्राको नशाको समस्याले दिसा हुन गाह्रो हुने गरेको पत्ता लगाए । सोहीअनुसार आन्द्राको शल्यक्रिया गरी दिसाको पाइप पेटबाहिर निकालिदिए । दोस्रो पटकमा पेटको आन्द्राभित्र पठाएर मलद्वारबाटै दिसा गर्ने व्यवस्था मिलाए । मलद्वारमा संक्रमण भएपछि उनीहरु पुनः कान्ति बाल आइपुगे । चिकित्सकले मलद्वारको समस्या निको भएपछि पुनः शल्यक्रिया गर्ने सुझाव दिएका छन् ।जनरल अस्पतालले समयमै रोगको पहिचान गर्न नसक्दा र अन्य अस्पतालमा यसको उपचार नभएकाले पटक–पटक काठमाडौं धाउनु परेको कुशलकी आमा निर्मला लिम्बुले बताइन् । ‘छोरासहित तीन जना पटक–पटक काठमाडौं धाउनु परेको छ, सानोतिनो आम्दानी उपचारमै सकिसकियो,’ उनले भनिन् ।

नेपालमा बालबालिका मानिने १४ वर्षमुनिका बालबालिकाको संख्या ४२ लाख हाराहारी छ । जुन कुल जनसंख्याको ३० प्रतिशत हुन आउँछ । त्यत्रो जनसंख्याको लागि एउटै मात्र अस्पताल हुँदा बिरामीको चाप धानिनसक्नु छ । लाहानामा २५ शैय्याको बाल अस्पताल निर्माण गर्ने घोषणा भए पनि हाल सो अस्पताल निर्माण प्रक्रिया स्थगित भएको छ ।

कान्ति बाल अस्पतालको वार्डमा सामान्य उपचारकै लागि टाढाटाढाबाट धेरै बिरामी आइपुगेका छन् । देशका पूर्वदेखि पश्चिमबाट रेफर भई आएका बिरामीले अस्पताल प्रायः भरिभराउ हुने गरेको छ । अस्पतालमा रेफरल बिरामीको चाप बढी नै भएको अस्पताल सम्बन्धितहरु बताउँछन् । ती मध्ये कति बिरामी जिल्ला अस्पतालबाट रेफर भएर आउँछन् भने केही आफैं केन्द्रीय अस्पतालमा उपचारका लागि आउँछन् ।केन्द्रीय बाल अस्पतालमै सबै बिभागका चिकित्सक नहुनु र उपलब्ध सेवामा पनि प्रर्याप्त चिकित्सक नहुँदा सामान्य शल्यक्रियामा पनि महिनौं पालो कुर्नुपर्छ । ‘आकस्मिक कक्षमै आएको बिारमी भए पनि भनेको बेलामा शल्यक्रिया गर्न सक्दैनौं,’ कान्ति बाल अस्पतालका निर्देशक डा. गणेश राईले भने ।

निर्देशक राई पछिल्लो समय भएको राज्य संरचना र विश्व स्वास्थ्य संगठनको बाल स्वास्थ्य मापदण्डअनुसार सातवटै प्रदेशमा बाल अस्पताल हुने हो भने बालबालिकाले उपचारमा हाल भइरहेको सास्ती खेप्नु नपर्ने बताउँछन् । उनका अनुसार नेपाल सरकारका क्षेत्रीय तथा अञ्चल स्तरका सबै अस्पतालमा बाल रोग विभागबाट सेवा दिइन्छ । तर ती विभागमा पर्याप्त दक्ष जनशक्ति, भौतिक संरचना र उपकरणको अभाव छ जसले गर्दा सेवा प्रभावकारी हुन सक्दैन । त्यसकारण पनि देशभरका बालबालिका कान्तिमै आउन बाध्य छन् । ‘अस्पतालहरुमा वाल विभाग छन्, तर विभागमा प्रर्याप्त दक्ष जनशक्ति र सेवा छैनन्,’ निर्देशक राईले भने।

नेपालमा छुट्टै बाल अस्पताल हुनुपर्छ भनेर विगतका वर्षमा सरकारी स्तरमा पहल नभएको होइन । तत्कालीन स्वास्थ्यमन्त्री उमाकान्त चौधरीले लाहानामा २५ शैय्याको बाल अस्पताल निर्माण गर्ने घोषणा गरे । तर हाल सो अस्पताल निर्माण प्रक्रिया स्थगित भएको छ । नेपालमा बालबालिका मानिने १४ वर्षमुनिका बालबालिकाको संख्या ४२ लाख हाराहारी छ । जुन कुल जनसंख्याको ३० प्रतिशत हुन आउँछ । त्यत्रो जनसंख्याको लागि एउटै मात्र अस्पताल हुँदा बिरामीको चाप धानिनसक्नु छ।

प्रकाशित: २४ जेष्ठ २०७५ ०१:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App