६ वैशाख २०८१ बिहीबार
समाज

ठुला सवारीलाई विपी राजमार्गमा अनुमति : स्थानीय भन्छन्, सरकारको गलत निर्णय

विपी राजमार्गस्थित खुर्कोट नेपालथोक खण्ड अन्र्तगत सिन्धुलीको मुलकोट नजिकैको नागवेली सडकको दृश्य। तस्बिर: अनिल भण्डारी/नागरिक

सिन्धुली – नेपालकै नमुना राजमार्गको रुपमा रहेको विपी राजमार्गमा ठुला सवारीलाई निर्वाध रुपमा सञ्चालनका लागि अनुमति दिएसँगै यहाँका स्थानीयले चिन्ता व्यक्त गरेका छन्। राजमार्गमा बढी भार बोकेका सवारी साधन चल्न थालेपछि राजमार्गको भविष्यनै खतरामा परेको उनीहरूको भनाइ छ।

सिन्धुली खुर्कोट सडक खण्ड अत्याधिक घुमाउरो भएपनि त्यही राजमार्गमा लामो समयदेखि बन्देज लगाइएका ठुला सवारीलाई भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले चल्न दिने निर्णय गरेसँगै राजमार्गमा ठुला सवारीको चाप बढेको छ।

यातायात व्यवस्था विभागले विपी राजमार्गमा बढी भारवहन क्षमताका सवारीलाई चल्न दिने निर्णय गरेसँगै दिवा सेवामा यात्रुवाहक सवारी र रात्री सेवामा मालवाहक सवारी चल्न थालेका हुन्। विभागले ३२ सिट सम्म भएका यात्रुवाहक सवारी साधनलाई बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म चल्न दिने निर्णय गरेको छ। त्यस्तै ६ टन भारवहन क्षमता भएका मालवाहक सवारी साधन चल्न दिने निर्णय गरेको हो।

मालवाहक सवारी जिभिडव्लु (कुल वजन) १६२०० किलो ( १६.२ टन) ह्लिवेसचारहजार दुईसय २५ एमएम सम्मका सवारी साधन प्रति एक्सल भार १०.२ टन नबढ्ने गरि राती ९ बजेदेखि बिहान ५ बजेसम्मका लागि अनुमती दिएपछि स्थानीय आक्रोसित भएका छन्। विपी राजमार्गको क्षमताको कुनै चेकजाँच नगरी बढी भारका सवारी साधन चल्न दिनु सरकारको गलत निर्णय हो, विपी राजमार्गस्थित रतनचुरा खनियाखर्कका स्थानीय डोर बहादुर तामाङले भने,‘यतिधेरै सवारी र यो क्षमता राजमार्गले धान्न सक्दैन।’

हाल दिउँसोको समयमा मात्र नभएर यस राजमार्गमा रातभर सवारी गुड्न थालेका छन्। बढी भार बोकेका सवारी गुड्नाले केही महिनामै राजमार्ग जोखिममा पर्ने उनको भनाई छ। यतिधेरै सवारी र बढी भार यो राजमार्गले धान्नै सक्दैन, अध्यन प्रतिवेदन विपरित यसरी सवारी चल्न दिने निर्णय फिर्ता हुनुपर्छ, तामाङले भने,‘भूकम्पले भत्काएको राजमार्ग त सामान्य टालटुलमै चलाइएको छ, झन् सवारी थपिएपछि राजमार्गको हालत खराब हुन्छ।’

राजमार्गसँग जोडेर भवन निर्माण गर्ने क्रममा घडेरी खार्दा एक्साभेटर, जेसिभि लगायतका ठुला उपकरण चलाइएकाले आसपासमा समेत खाल्डैखाल्डा भइसकेको सडकमा नेपाल सरकारले थप ठुला सवारी चल्न दिएपछि राजमार्गको अवस्था झनै बिग्रीएको छ।  समयमा सडक मर्मतका लागि ध्यान नदिए दुर्घटनासँगै नेपाल सरकारले पर्यटकिय संरचनाको अस्तित्व गुमाउन सक्ने स्थानीय बासिन्दाको भनाई छ।

नेपालथोक देखि धुलिखेलसम्म ठुला ट्रिफर गाडीले बाटो अत्याधिक भत्काएको छ। समयमा बनाउन ध्यान नदिँदा राजमार्गमा दुर्घटनाको जोखिम बढेको छ। साघुरो र घुमाउरो राजमार्गका यात्रा गर्न जति मज्जा लिन सकिन्छ, राजमार्गको खाल्डामा सवारी पस्दा उत्तिकै जिउ झस्कने गरेको यात्रुहरू बताउछन्। यस्तो पर्यटकिय र रमणीय सडकमा ठुला सवारी चल्न दिनु सरकारको गलत निर्णयनै हो, एक स्थानीयले भने,‘केही जनप्रतिनिधि र केही व्यवसायीको दबाबमा भौतिक पुर्वधार तथा यातायात मन्त्रीले गरेको यो निर्णय सच्याई राजमार्गको क्षमता अनुसारको मात्रै सवारी चल्न दिनु उपयुक्त हुन्छ।

नेपालकै नमुना राजमार्गको रुपमा रहेको यस राजमार्गको नागबेली भीत्र ऐतिहासिक स्थल सिन्धुलीगढी पनि पर्छ। सिन्धुली गढी अवलोकन गर्न र विपी राजमार्गको सुन्दरता हेर्नकै लागि भएपनि नेपालका बिभिन्न स्थानबाट पर्यटकहरू आउने भएकाले राजमार्गमा भएको खाल्डालाइ तत्काल बनाउनुपर्ने स्थानीयको भनाई छ। ठुला सवारी र बढी भारका मालबाहक सवारी रातीको समयमा मात्र सञ्चालन गर्दा दुर्घटनाको जोखिम बढेको उनीहरूको भनाइ छ।

प्रकाशित: २० जेष्ठ २०७५ ०६:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App