१५ चैत्र २०८० बिहीबार
समाज

एक वर्षपछि बल्ल दोस्रो किस्ता

घर बनाउँदै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङका भूकम्पपीडित। तस्बिर : दमन/नागरिक

खोटाङ – खोटाङका भूकम्पपीडितले लामो प्रतीक्षापछि आवास निर्माणबापत बल्ल दोस्रो किस्ता रकम पाउन थालेका छन्। २०७४ जेठ १९ गतेदेखि पहिलो किस्ताबापत ५० हजार रुपैयाँ बुझेर आवास निर्माण सुरु गरेका लाभग्राहीले वर्ष दिनपछि मात्र दोश्रो किस्ता पाउन थालेका हुन्।

२०७२ जेठ १२ गतेको महाभूकम्प र पराकम्पनका कारण घरविहीन बनेपछि पहिलो किस्ता लिएर डिपिसी पूरा गरेका जिल्लाका ७९ लाभग्राहीले दोस्रो किस्ता रकम निकासा पाएका हुन्। घरको डिपिसी ढलान गरेको महिनौंपछि दिप्रुङ चुइचुम्मा गाउँपालिकाका ७४ र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका पाँच लाभग्राहीका नाममा दोस्रो किस्ता रकम जम्मा भएको जिल्ला समन्वय समितिका आवास अनुदान फोकल पर्सन रविकिरण आचार्यले जानकारी दिए।

पहिलो किस्ता बुझेका खोटाङका ८ हजार १ सय ७३ लाभग्राहीमध्ये बल्ल ७९ लाभग्राहीले दोस्रो किस्ताबापत १ लाख ५० हजार रुपैयाँका दरले अनुदान बुझ्न थालेका हुन्। पहिलो किस्ता बुझेका भूकम्पपीडितले उक्त रकम बराबरको काम सम्पन्न गरेको लामो समयपछि मात्र दोस्रो किस्ता पाएको बताएका छन्।

पहिलो किस्ता बुझेका खोटाङका ८ हजार १ सय ७३ लाभग्राहीमध्ये बल्ल ७९ लाभग्राहीले दोस्रो किस्ताबापत १ लाख ५० हजार रुपैयाँका दरले अनुदान बुझ्न थालेका हुन्। पहिलो किस्ता बुझेका भूकम्पपीडितले उक्त रकम बराबरको काम सम्पन्न गरेको लामो समयपछि मात्र दोस्रो किस्ता पाएको बताएका छन्।

सहरी विकास मन्त्रालयअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाइको सिफारिसमा जिल्ला समन्वय समितिमार्फत गत वैशाख ३० गते ७९ लाभग्राहीका नाममा अनुदान रकम जम्मा भएको थियो। दिक्तेलका दुईवटा बैंकमा जम्मा भएको दोस्रो किस्ता अधिकतर लाभग्राहीले बुझिसकेको जिल्ला समन्वय समितिका आवास अनुदान फोकल पर्सन आचार्यले जानकारी दिए।

दिप्रुङ चुइचुम्मा गाउँपालिकाका लाभग्राहीको दोस्रो किस्ता ज्योति विकास बैंकमा र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको भूकम्पपीडितको किस्ता बैंक अफ काठमाडौंमा जम्मा भएको थियो। ढिलै भए पनि दोस्रो किस्ता निकासा हुन थालेपछि पहिलो किस्ताबाट घरको डिपिसी उठाएका लाभग्राही उत्साहित बनेका छन्। अनुदान पाए पनि वर्षा सुरु भएका कारण आवास निर्माण अघि बढाउन समस्या हुने कतिपय भूकम्पपीडितको गुनासो छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बेलामा पर्याप्त इन्जिनियर पठाउन नसक्दा, पठाइएका इन्जिनियर काम छाडेर हिँड्दा, प्राविधिक मूल्यांकनका क्रममा डाटा इन्ट्री गर्ने ट्याब आवश्यक मात्रामा व्यवस्था नहुँदा, जिल्ला आयोजना कार्यान्वयन इकाइ स्थापना नहुँदा आवास निर्माण प्रभावित भएको छ। भूकम्प गएको लामो समयपछि खोटाङमा आवास निर्माण थालेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बराहपोखरी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकामा हालसम्म इन्जिनियर पठाएको छैन।

बेलामा दोस्रो किस्ता नपाएपछि कतिपय भूकम्पपीडितले आफ्नै खर्चमा घर बनाइरहेका छन् भने कतिपयले डिपिसी गरेर दोस्रो किस्ताको प्रतीक्षा गरिरहेका छन्। किस्ता बुझेर पनि घर निर्माण सुरु नै नगर्ने पनि छन्। भूकम्पपीडितले पहिलो किस्ता लिएर घर ठड्याउन थाले पनि दोस्रो किस्ता नपाउँदा निर्माणाधीन अधिकांश आवास बीचमै अलपत्र परेका छन्। अधिकतर भूकम्पपीडितले डिपिसीको काम पूरा गरिसके पनि दोस्रो किस्ता नपाएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७, दोर्पाचिउरीडाँडाका तेजनाथ ढकालले बताए।

खोटाङका ८ हजार ४ सय ४३ लाभग्राहीमध्ये अझै २ सय ७० लाभग्राही पहिलो किस्ता पाउनबाट बञ्चित छन्। विदेशमा रहेका घरमूलीका नाममा आवास अनुदान सम्झौता गरेका, आवास अनुदान सम्झौतापछि बिदेसिएका, अनुदान सम्झौतापछि मृत्यु भएका, बुढेसकाल वा अपांगताका कारण सदरमुकाममा रहेको बैंकसम्म आउन नसक्नेलगायत समस्याका कारण कतिपय भूकम्पपीडित परिवारले हालसम्म आवास अनुदानको पहिलो किस्ता पाउन नसकेका हुन्। भूकम्पका कारण खोटाङमा १३ हजार ७ सय ९९ घरमा क्षति पुगेको तथ्यांक छ।

प्रकाशित: २० जेष्ठ २०७५ ०३:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App