३१ असार २०७७ बुधबार
समाज

छैन जीवनजल, झाँक्रीको भर

उहिया गाउँको एक घरमा बिरामीको उपचार गर्दै झाँक्री। तस्बिर : नरहरि/नागरिक

उहिया (गोरखा) – धार्चे गाउँपालिका–३ उहिया स्वास्थ्य चौकीमा निःशुल्क पाइने भनिएको जीवनजल पाइँदैन। झाडापखालाको औषधि जीवनजल लिन पुगेका बिरामी रित्तै फर्कन्छन्। ‘जीवनजल सकिएको धेरै भयो, कहिले आउँछ यसै भन्न सकिन्न,’ स्वास्थ्य चौकीका अहेव शुभनारायण दासले भने, ‘सामान्य रोग लाग्दा निःशुल्क दिनुपर्ने औषधि दिन सक्दैनौं। स्थानीय बासिन्दा रोग लाग्दा बेवास्ता गर्छन्, च्याप्दै गएपछि झाँक्रीकहाँ जान्छन्।’ उहिया गाउँमा बिरामीको उपचारका नाममा दैनिक कुनै न कुनै घरमा ढ्यांग्रो बजेकै हुन्छ। ‘स्थानीय बासिन्दा औषधिलाई भन्दा झाँक्रीलाई विश्वास गर्छन्,’ दासले भने।

बुधबार दिउँसो स्वास्थ्य चौकी पुगेकी बिन्दु सुनारको अनमी पुष्पाकुमारी मण्डलले रक्तचाप परीक्षण गरिन्। रिंगटा लाग्ने, ज्वरो आउने भएपछि स्वास्थ्य चौकी पुगेकी सुनारलाई मण्डलले भनिन्, ‘तपार्इंलाई कमजोरी भएको हो, बी कम्प्लेक्स औषधि खानुपर्छ तर हामीसँग छैन।’ त्यो सुनेर सुनार चुपचाप फर्किइन् । अनमी मण्डलले काखेबालक देखाउँदै भनिन्, ‘एक वर्षको यो मेरो छोरालाई पनि सुकेनास भएको छ ।’ सेवामा खटिएकी स्वास्थ्यकर्मीको आफ्नै बिलौना छ। सरकारले निःशुल्क भनेका अत्यावश्यक औषधि अधिकांश स्वास्थ्य चौकीमा पाइँदैन। सिटामोल र एमोक्सिसिलिनजस्ता अत्यावश्यक औषधि स्वास्थ्य चौकीमा छैन। मण्डलका अनुसार स्वास्थ्य चौकीमा छाती दुखेका, पाखाला लागेका र निमोनिया भएका बिरामी बढी आउँछन्।

‘जीवनजल सकिएको धेरै भयो, कहिले आउँछ यसै भन्न सकिन्न । हामी सामान्य रोग लाग्दा निःशुल्क दिनुपर्ने औषधि दिन सक्दैनौं। स्थानीय बासिन्दा रोग लाग्दा बेवास्ता गर्छन्, च्याप्दै गएपछि झाँक्रीकहाँ जान्छन्।’

स्वास्थ्य चौकीमा उपचार गनुपर्छ भन्ने चेतना भएका बिरामी औषधि उपचार नपाएर फर्कन्छन्। स्वास्थ्य चौकी जानुपर्छ भन्ने थाहा नपाएकाहरू झाँक्रीकै भर पर्छन् । ‘झाँक्री नलगाउँदासम्म उपचार हुन्छ जस्तो लाग्दैन,’ स्थानीय धनप्रसाद सुनारले भने। दाँत दुखेको १० दिनसम्म उनी झाँक्री लगाएर उपचार गराइरहेका छन्। उनी पाँच सय मिटर नजिकको स्वास्थ्य चौकी जान छाडेर एक किलोमिटर पर रहेका झाँक्रीकहाँ पुगेका छन्। ‘बिरामी भएपछि पहिला झाँक्रीकहाँ जान्छन्, निको भएन भनेमात्र यहाँ आउँछन्’, अनमी मण्डलले भनिन्, ‘बूढाबूढी र यहाँका जनजाति समुदायमा झाँक्री लगाउने प्रचलन छ।’ पहिलेको तुलनामा अहिले स्वास्थ्य चौकी जानेको संख्या बढे पनि झाँक्रीपछि औषधि लिन जाने र औषधि लिएपछि झाँक्रीकहाँ जाने प्रवृत्ति नरोकिएको उनले बताइन्।

धार्चे गाउँपालिकाले माग गरेभन्दा थोरै औषधि पठाउँदा छिटोछिटो सकिएको अहेव दासले बताए। उनले भने, ‘१० प्रकारका औषधि माग्दा गाउँपालिकाले पाँच प्रकारका औषधि पठाउँछ। एक सय पत्ता माग्यो भने ३५÷४० पत्ता पठाउँछ।’ उहिया गाउँ पुग्न सदरमुकामबाट तीन दिन लाग्नछ। गाउँमा टेलिफोन र इन्टरनेट सुविधा छैन। दुर्गम ठाउँको झुरुप्प बस्ती भएकाले जतिसुकै बेला महामारी फैलन सक्ने खतरा रहेको स्वास्थ्यकर्मी बताउँछन्। यसअघि उहियामा धेरै बालबालिकालाई झाडापखाला लागेको थियो। ‘भौगोलिक अवस्था र मागअनुसार गाउँपालिकाले औषधि नपठाएकाले बिरामी फर्काउनुपर्छ,’ अहेव दासले भने। उनका अनुसार गाउँपालिकाबाट औषधि बोकेर ल्याउनुपर्छ। भरियालाई पाँच हजार रुपैयाँ ज्याला दिनुपर्छ।

स्वास्थ्य चौकीमा एक अहेव, एक अनमी मात्रै छन् । दुई जना स्वास्थ्यकर्मी तालिममा गएको दासले बताए।

गाउँपालिकाले बर्खाका लागि दुई लाख रुपैयाँको औषधि खरिद गरी वितरण गरिरहेको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुबताए । उनले १३ वटा स्वास्थ्य संस्था रहेकाले सबैमा वितरण गर्दा अपुग भएको जानकारी दिए।

प्रकाशित: २० जेष्ठ २०७५ ०६:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App