coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

देशभरका अस्पताल सफाई अभियान चलाइने

काठमाडौं – स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले वीर अस्पतालसहित देशभरका सरकारी अस्पताल सफा र व्यवस्थित बनाउन अभियान अघि बढाइने बताएकी छिन्। बिहीबार पत्रकार सम्मेलनमार्फत उनले यस्तो घोषणा गरेकी हुन्। ‘वीर अस्पतालबाट अभियान सुरु भएको छ, केही समय लाग्ला तर देशभरका सरकारी अस्पताल सफा गर्छौं,’ उनले भनिन्। बिहिबार वीर अस्पताल, धुर्मुस–सुन्तली फाउन्डेशन र स्वास्थ्य मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सफाइ अभियान, प्रक्रिया र लक्ष्यको बारेमा जानकारी दिइन्।

मन्त्री अर्यालले शौचालय र भुइँ मात्र सफा गर्न अस्पताल पसेको अभियानले थप कामको आवश्यकता देखेपछि अस्पतालको समग्र सफाइको जिम्मेवारी लिएको जानकारी दिइन्। अभियानले रंगरोगन, मर्मत तथा प्राविधिक सुधारका काग गर्दै आएको छ। जसअनुसार अस्पतालको सेवालाई डिजिटल प्रविधिबाट सहज बनाइने, सेवा व्यवस्थापन चुस्त बनाइने लगायत काम छन्।

डिजिटल प्रविधिमार्फत घरबाटै नाम लेखाउन सकिने, अस्पतालको सेवाबारे गुनासो गर्न ‘हेलोे वीर अस्पताल’ लगायतका सेवा विस्तार हुनेछ। ‘हामीले बाहिरी सफाइ मात्र गर्न खोजेका छैनौं। समग्र अस्पतालको भित्री सफाइ गर्ने गृहकार्य गरिसकेका छौं,’ उनले भनिन। सफाइ अभियानको खर्चअन्तर्गत वीर अस्पतालले सफाइ सामग्री उपलब्ध गराउने, धुर्मुस–सुन्तली फाउन्डेसनमा संकलन भएका सहयोगको प्रयोग गर्ने र आवश्यक अन्य सम्पूर्ण खर्च स्वास्थ्य मन्त्रालयले बेहोर्ने जनाइन्।

अभियानको बारेमा बताउँदै फाउन्डेसनका अध्यक्ष तथा सफाइ अभियन्ता सीताराम कट्टेलले देशेको केन्द्रमा रहेको अस्पताललाई प्रभावकारी बनाउन सेवा भावमा समर्पित भएर काम गरिरहेको बताउँदै आर्थिक व्यवस्थापनको पारदर्शितामा आफू नचुक्ने बताए। सेवाभावले समाजसेवाको पवित्र काममा लाग्दा पनि निराधार आरोप लाग्दा मन दुखेको बताउँदै उनले एक–एक रुपैयाँको हिसाब सार्वजनिक गर्ने बताए । ‘एक पैसा तलमाथि भएको रहेछ भने यो धर्तिमा रहने छैन,’ कट्टेलले भने। आफूमाथि जुनसुकै आरोप लगे पनि सफाइ अभियानको काम निरन्तर अघि बढ्ने उनले बताए।

वीर अस्पतालका निर्देशक भूपेन्द्र बस्नेत र राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका उपकुलपति गणेश गुरुङले कुनै पनि संस्थाले अस्पताललाई दिएको सहयोग अस्वीकार नहुने बताए। ‘हाम्रो अस्पतालमा थुपै्र संस्थाले उपकरण तथा अन्य सहयोग दिइरहेका छन्,’ उपकुलपति गुरुङले भने। अभियानमा लागेको खर्च सरकारले बेहोर्ने र सबै खर्च विवरण पारदर्शी रुपमा सार्वजनिक गरिने मन्त्री अर्यालले बताइन्। ‘हामीले सफाइ सकेर हस्तान्तरण गर्ने क्रममा सबै हिसाब पारदर्शी रुपमै पेश गछौ,’ उनले भनिन्। धर्मुस सुन्तली फाउन्डेसनले अहिलेसम्म सफाइ अभियानका लागि १४ लाख ६४ हजार ८ सय ३५ रुपैया संकलन भएको र ४८ लाख ६४ हजार ३ सय ४४ खर्च भएको जनाएको छ।

प्रकाशित: १८ जेष्ठ २०७५ ०३:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App