१६ चैत्र २०८० शुक्रबार
समाज

एकैदिन २८ कर्मचारी छड्केमा

सिन्धुपाल्चोक– सदरमुकाममा रहेका विभिन्न सरकारी कार्यालयका २८ कर्मचारी छड्केमा परेका छन्। जिल्ला प्रशासन कार्यालयले बिहीबार गरेको छड्केमा एकैदिन ठूलो संख्यामा कर्मचारी अनुपस्थित पाइएको हो। 

प्रशासनले विभिन्न टोली बनाएर बिहान १० बजे कार्यालय समय सुरु भएसँगै हाजिरी समयपछि छड्के गरेको थियो। संघीयता कार्यान्वयनसँगै जनशक्ति व्यवस्थापन र समायोजनको तयारी भइरहेका बेला कार्यालयमा कर्मचारी अनियमित हुने गरेको गुनासो ब्याप्त हुन थालेपछि प्रशासनले छड्के गरेको हो। 

छड्के टोलीका अनुसार छड्केमा परेका कतिपय कर्मचारी सातादेखि कार्यालयमा अनुपस्थित रहँदै आएको पाइयो। स्वास्थ्यका एक कर्मचारीले एकैचोटी शुक्रबारदेखि आउँदो बुधबारसम्मको हाजिरी गरेर हिँडेको टोलीले फेला पारेको थियो। 

प्रशासनले सदरमुकाममा रहेका विभिन्न १७ कार्यालयमा छड्के गरेको थियो। सो क्रममा १० कार्यालयमा उक्त संख्याका कर्मचारी अनुपस्थित भेटिएको निमित्त प्रमुख जिल्ला अधिकारी भीमप्रसाद बस्तनेतले बताए। ‘उनीहरुलाई बिहीबारै प्रशासनको तर्फबाट पत्र लेख्दै कार्यालयमा अनुपस्थित रहनुको कारणबारे स्पष्टीकरण सोधेका छौँ,’ उनले भने। 

प्रशासन कार्यालयका अनुसार सबैभन्दा बढी स्वास्थ्य कार्यालयका कर्मचारी अनुपस्थित भेटिएका छन्। स्वास्थ्य चिकित्सक डा. आयुशकिरण प्रधानसहित सात कर्मचारी छड्केमा परे। जिल्लामा स्वास्थ्य पछिल्लो समय बढी गुनासो आउने कार्यालयमा पर्छ। अधिकांश समय चिकित्सक कार्यालयमा नबस्दा प्रभावकारी स्वास्थ्य सेवाबाट बञ्चित भएको स्थानीयले गुनासो गर्दै आएका छन्। 

छड्केका क्रममा कोष तथा लेखा नियन्त्रक कार्यालयमा दोस्रो बढी कर्मचारी अनुपस्थित रहेको भेटियो। त्यहाँ पाँच कर्मचारी अनुपस्थित थिए। भूकम्पपछि पीडितलाई आवास निर्माणको सरकारी अनुदान निकासा अख्तियारी दिने कोलेनिका हाल जिल्लामा सर्वाधिक व्यस्त निकायमा पर्छ। 

त्यस्तै, सिँचाई डिभिजन कार्यालयका प्रमुख प्रकाश अधिकारीसहित चार, नापी कार्यालयका चार, शिक्षा दुई, सहरी विकास तथा भवन डिभिजन दुई तथा पशु सेवा, वन, घरेलु तथा साना उद्योग विकास र खानेपानी डिभिजन कार्यालयका एक÷एक कर्मचारी छड्केमा परे। कार्यालयका हाजिरी पुस्तिका नै नियन्त्रणमा लिएको प्रशासनले छड्केमा परेका कर्मचारीलाई तीन दिनभित्र स्पष्टीकरण जवाफ दिन निर्देशन दिएको छ। 

‘चित्तबुझ्दो जवाफ नआए कानुनी कार्वाहीको प्रक्रिया अघि बढाउँछौँ,’ निमित्त प्रजिअ बस्नेतले भने। छड्के टोलीका अनुसार छड्केमा परेका कतिपय कर्मचारी सातादेखि कार्यालयमा अनुपस्थित रहँदै आएको पाइयो। स्वास्थ्यका एक कर्मचारीले एकैचोटी शुक्रबारदेखि आउँदो बुधबारसम्मको हाजिरी गरेर हिँडेको टोलीले फेला पारेको थियो। 

सिन्धपाल्चोक राजधानीबाट नजिक रहेकाले यहाँ कार्यरत सरकारी कर्मचारीमा शुक्रबार समयमै घर हिँड्ने र आइतबार अबेरसम्म नफर्किने प्रवृत्ति रहँदै आएको छ। बेला–बेला गरिने यस्तो छड्केले केही दिन कर्मचारी नियमित हुने गरे पनि त्यसपछि पूरानै प्रवृत्ति दोहोरिँदै आएको छ। विषयगत कार्यालयका अधिकांश कर्मचारी स्थानीय तहमा गएपछि सदरमुकाममा रहँदै आएका कर्मचारीमा मनोमानी देखिँदै आएको छ।

प्रकाशित: १७ जेष्ठ २०७५ १३:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App