८ वैशाख २०८१ शनिबार
समाज

१६ वर्षमा ४६ हजार वन क्षेत्र विनाश

काठमाडौं – नेपालमा सन् २००१ देखि १६ सम्मको अवधिमा ४६ हजार वन क्षेत्र विनास भएको देखिएको छ । वातावरण विज्ञान सम्बन्धी अन्तर्राष्ट्रिय जर्नल पियर जर्नलमा मंगलबार प्रकाशित लेखमा सो तथ्य सार्वजनिक भएको हो।

लेखमा अमेरिका र अस्ट्रेलियामा कार्यरत दुई नेपालीसहित तीन अनुसन्धानकर्ताले सन् २००१ देखि सन् २०१६ सम्मको वन तथ्यांकको विश्लेषण गरिएको छ । नेपलको वन क्षेत्रमाथि उत्तमबाबु श्रेष्ठ, सुजाता श्रेष्ठ र कमल बावाले गरेको संयुक्त अनुसन्धनमा आधारित लेखमा सन् २००० मा नेपालमा कुल ४७ लाख ४६ हजार हेक्टर वन क्षेत्र रहेकोमा सन् २०१६ सम्ममा ४६ हजार हेक्टर वन क्षेत्र विनास भएको उल्लेख छ।

लेखमा १६ वर्षको अवधिमा १२ हजार तीन सय हेक्टर नयाँ वन क्षेत्र थपिएको पनि उल्लेख छ । अमेरिकी अन्तरिक्ष संस्था नासाको भूउपग्रहबाट लिइएका लाखौं तस्बिरलाई गुगल अर्थ इन्जिनले गरेको विश्लेषणलाई आधार मानेर उक्त अध्ययन गरिएको थियो । अध्ययनमा संरक्षित क्षेत्रका वनलाई भने समेटिएको छैन । अध्ययनकर्ताहरुले जिल्लागत र भौगोलिक अवस्थाको आधारमा यस प्रकारको विस्तृत अध्ययन यसअघि नभएको दाबी गरेका छन् । लेखमा वन क्षेत्रको अवस्थामा मात्रै नभएर वन विनासका विभिन्न दश कारण पनि उल्लेख छ । विनासका मुख्य कारक सामाजिक, आर्थिक, भौगोलिक र नीतिगत कारणको विश्लेषण गरिएको छ।

अध्ययनमा सबैभन्दा बढी चुरेमा २८ प्रतिशत अर्थात १३ हजार हेक्टर वन विनास भएको उल्लेख गरिएको छ । त्यस्तै, पहाडमा २६ प्रतिशत अर्थात १२ हजार एक सय हेक्टर र तराईमा २२ प्रतिशत अर्थात ९ हजार नौ सय हेक्टर वन विनास भएको लेखमा उल्लेख छ । मध्य पहाडमा २१ प्रतिशत अर्थात नौ हजार आठ सय हेक्टर र उच्च पहाडमा दुई प्रतिशत अर्थात एक हजार एक सय हेक्टर वन विनास भएको देखिएको छ । पहाडी भूभागमा ६ हजार दुई सय हेक्टर अर्थात ५१ प्रतिशत नयाँ वन क्षेत्र थपिएको तथा चुरेमा तीन हजार हेक्टर अर्थात २५ प्रतिशत, तराईमा दुई हजार एक सय हेक्टर अर्थात १७ प्रतिशत नयाँ वन क्षेत्र थपिएको छ । मध्य पहाडमा ७ प्रतिशत वन क्षेत्र थपिएको उल्लेख छ।

वन क्षेत्र विनास हुने मुख्य जिल्लामा कैलाली, दाङ, सर्लाही, रौतहट, नवलपरासी लगायतका जिल्ला छन् । त्यस्तै तनहुँ, पाल्पा, दाङ र नवलपरासीमा नयाँ वन क्षेत्र थपिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा सामुदायिक वन कार्यक्रमको असरका बारेमा पनि उल्लेख गरिएको छ । रिपोर्टमा जुन जिल्लामा बढी सामुदायिक वन समूह रहेका छन्, ती जिल्लामा वन विनास कम भएको पाइएको छ । अधिकांश वन क्षेत्र सामुदायिक वनले ओेगटेका जिल्लामा थप नयाँ वन क्षेत्र वृद्धि भएको उल्लेख छ । प्रतिवेदनमा वन विनास रोक्न र नयाँ वन हुर्काउन सामुदायिक वनको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरिएको छ।

तर, नेपाल सरकारले सन् २०१५ मा सार्वजनिक गरेको वनको अवस्था बारेको प्रतिवेदनमा नेपालको वन क्षेत्र वृद्धि भएको देखाइएको छ । यस अध्ययनले सरकारी दाबीमाथि प्रश्न उठाएको छ।

प्रकाशित: १७ जेष्ठ २०७५ १०:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App