८ वैशाख २०८१ शनिबार
समाज

उधारोमा अस्पताल चम्काउँदै धुर्मुस

काठमाडौं - वीर अस्पतालको एउटा कोठा । कोठाभरी बाल्टिन, जग र डस्विनको चाङ । कोठाको बीचतिर एउटा टेबल र टेबुल दायावायाँ दुई कुर्सी । सो कोठा वीर अस्पताल सफाइका लागि सक्रिय धुर्मुस–सुन्तली फाउन्डेशनलाई उपलब्ध गराइएको हो । त्यहीँ खटिइरहेका छन्, हास्य कलाकार सीताराम कट्टेल।

वैशाख अन्तिम सातादेखि अस्पतालको मुहार फेर्न खटिएका धुर्मुस–सुन्तली फाउन्डेशनले काम त थाल्यो तर उधारोमा । काम थालेको तीन साता पुग्नै लाग्दा रंगरोगन र मर्मतमा लाखौं खर्च भइसकेको छ । उधारोमा काम गरेका मजदूरले पैसा माग्न थालेका छन् । ‘पर्वमा घर जानलाई ज्याला मागिरहेका छन् । दिन सकिरहेको छैन,’ उनले भने । कामदारको खाना खर्च, ज्याला, रंग, पलम्बरको सामान, शौचालयका सरसमान गरी खर्च ४४ लाख खर्च भइसकेको छ । सहयोगबापत प्राप्त ८ लाख सामान आपूर्तिकर्तालाई तिरिसके र बाँकी उधारोमै चलाइरहेको उनले बताए ।

वैशाख तेस्रो सातादेखि १ सय १२ मजदूर दैनिक १२ देखि १८ घण्टा खटिइरहेका छन् । खर्च तिर्ने मुख्य जिम्मेवारी सरकारबाट अहिलेसम्म केही खबर आएको छैन । सरकारबाट खबर नआएपछि केही दिन अघि मात्रै फेसबुकमार्फत सहयोगको अपिल गरेको उनले सुनाए । ‘अप्ठेरै परेपछि औपचारिक अपिल गरेका हौं,’ उनले भने । प्राप्त भएको ८ लाख जनसहयोग खर्च भइसकेको उनले सुनाए । ‘सरकारले कहिले दिने हो जानकारी आइसकेको छैन, जनतालाई भन्न अप्ठेरो लागेको छ,’ उनले भने, ‘यो पवित्र अभियानमा सबैको साथ मिल्ने कुरामा विश्वस्त छु।’

सत्र दिनअघि स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालको समन्वयमा सफाइ अयिानका लागि वीर अस्पताल पुगेका धुमुर्सलाई समग्र अस्पताल पूर्णरुपमा सफा गर्ने सोच पलाएपछि कामको दायरा बढेको हो । ‘भुइँ टल्काएर मात्र नहुने देखिएपछि अरु काम गर्न अघि बढेका छौं,’ उनले भने । यतिखेर अस्पतालका भित्ता रंगिसकेका छन्, शौचालयमा वेसिन, ऐना, धारा जडान भएका छन् । बिरामीको भीड हुने भएकाले छिटो काम गर्न मिलेको छैन । ‘तीन लेयर पुरानो भित्ता उप्काउनु परको छ, सामान पन्छाउँदा दिन नै बित्छ,’ उनले भने । यसैले कामको अवधि लम्बिँदै गएको उनले बताए ।

अभियानअन्तगर्त कट्टेलले बिरामीलाई छिटो र सहज सेवा दिलाउन केही योजना बुनेका छन् । लाइनमा नबसी जँचाउन नाम लेखाउनको लागि अनलाइन सेवाको लागि सफ्टवेयर निर्माण तथा एप निर्माण गर्ने, ओपिडीको बाहिर डिजिटल वार्र्ड राख्ने सोच उनको छ । ‘अस्पतालसँगको समन्वयमै यी काम पूरा हुनेछन्,’ उनले भने । अस्पताल बसाइमा बिरामीसँगको भेटले समस्या र व्यवस्थापनबीचको खाडल बुझ्ने अवसर मिलेको उनले सुनाए । नेपालमा भूकम्पपछि नै आपूmमा समाज सेवाको वास्तवीक आस्था जागेको उनले सुनाए । ‘पेशाले कलाकार पेशा हो, मेरो मन सामाजिक सेवा हो,’ उनले भने।

यो अभियानकै थालनीमा लिलाराम कुन्तादेवी प्रतिष्ठानले २ लाख २५ हजार, सञ्चारकर्मीै चेतन पन्तले २५ हजार दिएर अभियान सुरु भएको थियो । यही अभियानमा केएनसी जापान प्रालि, महालक्ष्मी पेन्ट्स र तिरुपती बालाजीले केही सहयोग गरेका छन् । त्यसै गरी सिस्नोपानी नेपाल, हास्यकलार समूह भद्रगोल, बाग्मती सफाइ महाअभियान खटिएको छ ।

प्रकाशित: १६ जेष्ठ २०७५ ०४:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App