१६ चैत्र २०८० शुक्रबार
समाज

‘मास हिस्टेरिया’ रोग देखिएपछि विद्यालय बन्द

स्याङ्जा– वालिङ नगरपालिका–४ स्थित हिमाली माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीमा मास हिस्टेरिया देखिएपछि पठनपाठन अवरुद्ध भएको छ। सोमबार विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका २ जना छात्र र १९ जना छात्रामा मास हिस्टेरिया देखिएपछि मंगलबार बिद्यालय बन्द गरिएको हो। 

एक विद्यार्थीमा मास हिस्टेरिया देखिएपछि डर त्रासका कारण अन्य विद्यार्थीमा पनि समस्या देखिने भएकाले विद्यालय बन्द गरिएको विद्यालयलका प्रधानाध्याप खगेन्द्र ढुङ्गानाले जानकारी दिए। ‘बिशेष गरी छात्राले टाउको दुख्यो भन्ने, रुने कराउने र चक्कर लागेर ढल्ने समस्या देखियो,’ ढुङ्गानाले भने, ‘तत्काल स्वास्थ्यकर्मीका टोली बोलायौं।’ बिरामीहरुको स्वास्थ्य परीक्षण गह्रौंघ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर सुशील रेग्मीको नेतृत्वमा गएको चार जना स्वास्थ्यकर्मीको टोलीले विद्यालयमै गरेका थिए। 

स्वास्थ्य परीक्षण गर्दा विद्यार्थीहरुमा गरी मास हिस्टेरिया भएको पुष्ट भएको स्वास्थ्य केन्द्रका सुचना अधिकारी देवेन्द्र भट्टराईले जानकारी दिए। यो यौवनावस्थामा प्रवेश गर्न लागेका विशेष गरी किशोर किशोरीमा देखा पर्ने एक प्रकारको मनोवैज्ञानिक समस्या भएको भट्टराईको भनाई छ। उनले कक्षा ६ देखि १० सम्मका विद्यार्थी र शिक्षकहरुलाई पनि सँगै राखेर परामर्श दिईएको बताए। उनले भने, ‘एउटालाई भएपछि डर, त्रासबाट एकपछि अर्कोमा देखा पर्दै जाने मास हिस्टेरिया फेरि पनि देखिन सक्ने भएकाले विद्यालयका शिक्षक तथा विद्यार्थीलाई परामर्श दिएका हौँ।’ आइतबार दुई÷तीन जना विद्यार्थीमा यस प्रकारको लक्षण देखिएको विद्यालयले जनाएको छ। 

आइतबार पनि विद्यालयमा मास हिस्टेरियासम्बन्धी समस्या नदेखियोस् भन्नका लागि एकदिन विद्यालय बन्द गरिएको प्रधानाध्यापक ढुंगानाले बताए। 

प्रकाशित: १५ जेष्ठ २०७५ १५:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App