१६ चैत्र २०८० शुक्रबार
समाज

नेपाली नागरिकता प्राप्त गर्न १५ सय घुस !

सर्लाही– ईलाका प्रशासन कार्यालय हरिवनका कर्मचारीले नेपाली नागरिकता प्रमाणपत्र बनाएबापत सेवाग्राहीसँग १५ सय रुपैंया घुस माग्ने गरेको पाइएको छ।

पत्नी विमलाको नागरिकता बनाउन ५ दिनदेखि धाइरहेका लालबन्दी नगरपालिका–६ निवासी विसु भूजेलसँग प्रशासन कार्यालयका कर्मचारीले सोमबार १५ सय रुपैंया मागेका हुन्। भूजेलले आफूसँग प्रशासनका कर्मचारीले १५ सय रुपैंया दिए तत्काल नागरिकता बन्ने नत्र कागजातहरु जुटाउनु पर्ने भन्दै हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईं, यस पंक्तिकार लगायतसँग गुनासो गरेका थिए। 

विहीबार पत्नीको नागरिकता बनाउन भूजेललाई सर्जिमिन मुचुल्का लिएर आउन भन्दै प्रशासन कार्यालयले ईलाका प्रहरी कार्यालय लालबन्दीलाई पत्र लेखेको थियो। सो पत्र लिएर गएका भूजेललाई आइतबार लालबन्दी प्रहरीले मुचुल्का बनाएर पठाईदियो। 

\सोमबार प्रहरीको मुचुल्का लिएर आएका भूजेल दम्पतिलाई प्रशासनले पुनः विमलाको माइती जिल्ला सिन्धुली स्थित जिल्ला प्रशासन कार्यालयलाई अभिलेख उतार गरी पठाउनका लागि पत्र लेखेर जिम्मा लगाएको थियो। ‘कहिले यो कहिले त्यो कागज ल्याउन भनेर लाचार बनाइयो’, नागरिकसँग भूजेलले गुनासो गरे, ‘अनि मैले यो अभिलेख र सर्जीमिन मुचुल्काको पत्र एकैचोटी लेखेको भए त आज एकैचोटी दुईवटै कागज लिएर आउँथे, किन दुःख दिन खोज्नु भएको भनेर सोँधे।’ प्रशासन कार्यालयका कर्मचारी १५ सय रुपैंया दिए सिन्धुली गईराख्नु पर्दैन यहीँबाट अभिलेखको सेटिङ मिलाउन सकिन्छ भनेको भूजेलले जानकारी दिए।

‘मेरो जन्मदर्ता, पत्नीको जन्मदर्ता, विवाहदर्ता, आवश्यक सबैजनाको नागरिकता प्रमाण पत्रको प्रतिलिपी, नगरपालिकाको सिफारिस र प्रहरीको सर्जीमिन मुचुल्का जम्मा पारेर आईसकेपछि फेरि सिन्धुली जानुपर्छ भनेर अर्को लफडा लगाईयो’, उनले प्रतिप्रश्न गरे, ‘फेरि १५ सय रुपैंया दिएपछि त त्यो ल्याउनै नपर्ने रहेछ त, नेपालमा जन्मेर नेपाली नागरिकता प्रमाण पत्र लिन पनि कस्तो झञ्झट व्यहोर्नुपर्ने?’

भूजेलको गुनासो आएपछि मेयर प्रसाईंले ईलाका प्रशासन कार्यालय हरिवनका प्रमुख कुमार थापालाई सोमबार दिउँसो उनकै कार्यकक्षमा भेट गरेका थिए। मेयर लगायतको टोलीको भेट पश्चात प्रशासनले भूजेलको नागरिकता प्रमाणपत्र बनाउने प्रकृया तत्काल अगाडि बढायो।

मेयर प्रसाईंले नागरिकता प्रमाणपत्र लिनका लागि प्रशासनका कर्मचारीले अनाधिकृत घुस रकम माग्ने गरेको गुनासो व्यापक रुपमा आउने गरेको जानकारी दिए। ‘प्रशासन कार्यालयका कर्मचारीले नागरिकता प्रमाणपत्र बनाउने क्रममा सेवाग्राहीलाई अनेक बहानामा झुलाउने गरेको र घुस रकम समेत माग्ने गरेको गुनासो लामो समयदेखि आईरहेको छ’, उनले भने, ‘सोमबार भूजेल भाईको केस आएपछि प्रशासन प्रमुख ज्यूलाई सेवाग्राहीसँग घुस रकम माग्ने तथा अनावश्यक दुःख दिने क्रियाकलाप तत्काल बन्द गराउन भनेको छु।’

ईलाका प्रशासन प्रमुख थापाले भने भूजेलसँग कर्मचारीले नभई बाहिरको प्mयाक्स फसल सञ्चालकले रकम माग गरेको दाबी गरे। ‘फोन गरेर सिन्धुलीबाट अभिलेखको फ्याक्स मगाउनका लागि पसलबालाले रकम मागेको रहेछ’, थापाले भने, ‘तर उनले हाम्रा कर्मचारीलाई दोष दिएछन्।’ 

सेवाग्राहीको चाप निकै बढेका कारण कर्मचारी साथिलाई भ्याई नभ्याई हुँदा सेवाग्राहीसँगको व्यवहारमा तलमाथि समेत हुने गरेको उनले बताए। ‘मैले कर्मचारी साथिहरुलाई सेवाग्राहीलाई अनावश्यक झुलाउने तथा अनाधिकृत रकम माग्ने जस्ता क्रियाकलाप नगर्न पटक–पटक चेतावनी दिएको छु’, थापाले दाबी गरे, ‘निकै चाप भएकाले सेवाग्राहीले पाउने सेवामा ढिलाई हुने गरेको छ र आवश्यक कागजात जम्मा गर्न नसकेका कारण भन्ने वितिकै नागरिकता नपाएका सेवाग्राही स्वयंले पनि कर्मचारीमाथि अनावश्यक लाञ्छना लाउने गरेका छन्।’  

प्रकाशित: १४ जेष्ठ २०७५ १४:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App