८ वैशाख २०८१ शनिबार
समाज

झाडापखालाले चार सय बिरामी

शान्तिनगर स्वास्थ्यचौकीमा झाडापखालाका बिरामी। तस्बिरः देवेन्द्र/नागरिक

दाङ – पश्चिम दाङस्थित शान्तिनगर गाउँपालिकाको पातेटाकुरामा झाडापखाला फैलिएको छ। दूषित पानीका कारण फैलिएको झाडापखालाले झन्डै चार सय बिरामी परेका छन्। शान्तिनगर स्वास्थ्यचौकीमा शनिबार बेलुकासम्म ३ सय ८४ बिरामी उपचारका लागि पुगेका छन्। बिरामी हुनेमा अधिकांश महिला छन्। ‘अहिलेसम्म ३ सय ८४ जना झाडापखालाका बिरामी उपचारका लागि आएका छन्,’ स्वास्थ्यचौकी प्रमुख हरि पुनले भने, ‘बिरामी आउने क्रम जारी छ।’

गम्भीर अवस्थाका २४ जनालाई तुलसीपुरस्थित अञ्चल अस्पतालमा ल्याइएको छ। चौकीमा त्यहाँ कार्यरत १० स्वास्थ्यकर्मीले बिरामीको उपचार गरिरहेका छन्। ‘गाउँभर झाडापखाला फैलिए पनि नियन्त्रणभन्दा बाहिर छैन,’ पुनले भने, ‘बिरामी सबैको अवस्था सामान्य बन्दै गएको छ।’

शनिबार बिहानदेखि शान्तिनगर गाउँपालिका ३ र ४ वडामा मा झाडापखाला फैलिएको पुनले बताए। ‘शनिबार बिहान सुरुमा एकदुईजना बिरामी आउनुभयो,’ उनले भने, ‘पछि त बिरामीको ओइरो नै लाग्यो, हामीसमेत अचम्मित भयौं ।’

स्थानीय खानेपानी योजनामार्फत वितरण गरिएको पानी प्रयोगकर्तामात्रै बिरामी परेका छन्। प्रदूषित पानी वितरण भएकाले झाडापखाला लागेको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले बताए। स्थानीयका अनुसार बिहीबारदेखि स्वास्थ्यमा सामान्य असर पर्न थालेको थियो। ‘बिहीबारदेखि सामान्य असर परेको थियो,’ स्वास्थ्य चौकीमा उपचाररत हरिकला सुनारले भनिन्, ‘आज (शनिवार) त साह्रै समस्या भयो, पखाला र बान्ताले उठ्नै नसक्ने भएँ।’ गाउँमा बिरामी बढेपछि दुईवटा एम्बुलेन्सले स्वास्थ्यचौकीमा लगेका थिए।

जिल्ला जनस्वास्थ्य कार्यालयले यसलाई ब्याक्टेरियल डायरिया भनेको छ। कुन ब्याक्टेरिया हो भन्ने खानेपानी परीक्षण गरेपछि थाहा हुने जिल्ला जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन परशुराम पोख्रेलले बताए। उनले भने, ‘बिरामीको अवस्था सुधारोन्मुख छ, आत्तिनुपर्ने अवस्था छैन।’ गाउँमा झाडापखाला फैलिएपछि प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, जिल्ला समन्वय समितिका सभापति जितेन्द्रमान नेपालीलगायत त्यहाँ पुगेका थिए। ‘झाडापखाला नियन्त्रणमा ल्याउन उच्चसतर्कता अपनाएका छौं,’प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने।

प्रकाशित: १३ जेष्ठ २०७५ ०१:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App