८ वैशाख २०८१ शनिबार
समाज

स्वास्थ्य शिविरमा महिला बिरामी बढी

जिल्ला अस्पतालमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा आएका महिलाको भीड । तस्बिर : दमन राई/नागरिक

खोटाङ– खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा बिरामीको भीड लागेको छ । आर्थिक, भौगोलिकलगायत अप्ठ्याराका कारण सुविधा सम्पन्न अस्पताल जान नसक्ने सर्वसाधारणलाई लक्ष्य गरी जिल्ला अस्पतालमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा बिरामीको भीड लागेको हो।

मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ अस्पतालसँगको सहकार्यमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको उक्त स्वास्थ्य शिविरमा आउने बिरामीमा सबैभन्दा बढी महिला देखिएका छन्। शिविरमा पहिचान भएका पाठेघरसम्बन्धी समस्या भएका महिला र उसका सहयोगीलाई सम्पूर्ण खर्च उपलब्ध गराएर थप उपचारका लागि काठमाडौं पठाइने दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए ।

विशेषज्ञसहितको स्वास्थ्य शिविरमा दिक्तेल, बाम्राङ, सोल्मा, लफ्याङ, नेर्पा, दोर्पाचिउरीडाँडा, बुइपा, नुनथलालगायत छिमेकी गाउँपालिकाका बासिन्दा स्वास्थ्य शिविरमा आइरहेका छन् । शिविरमा बालबालिकादेखि वद्धवृद्धाको भीड लागेको छ।

आजसम्म सञ्चालन हुने स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुति, पेटसम्बन्धी रोग, नशा तथा हाडजोर्नीलगायत रोगको निःशुल्क उपचार भइरहेको छ । शिविरमा सामान्य चिकित्सादेखि शल्य चिकित्सासम्मको सुविधा दिइएको आयोजकले जनाएको छ।

शिविरमा आएको भीड व्यवस्थापन गर्नै मुस्किल परिरहेको जिल्ला जनस्वास्थ्य कार्यालय खोटाङका प्रमुख डा. रामबहादुर केसीले बताए । ‘स्वास्थ्य शिविरका लागि हामीले जिल्लाका सबै नगर र गाउँपालिकामा पत्राचार गरेका थियौं,’ डा. केसीले भने, ‘शिविरमा सोचेजस्तो बिरामीको उपस्थिति छ । बिरामी र बिरामीका आफन्तको चाप थेगिनसक्नु भइरहेको छ ।’

मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ अस्पतालका प्रबन्धक तथा डाक्टर धर्मदत्त सुवेदीले शुक्रबार बिहान दिक्तेल रूपाकोेट मझुवागढी नगरपालिका–१ दिक्तेलका ८० वर्षीया कर्मसरी राईको चेकजाँज गरेर स्वास्थ्य शिविरको उद्घाटन गरेका थिए ।

विशेषज्ञसहित १५ स्वास्थ्यकर्मीको टोलीले शिविरमा उपचार सेवा दिइरहेका हुन्छन् ।नगरपालिकाको तीन लाख र मनमोहन मेमोरियल शिक्षण अस्पतालको १० लाख रूपैयाँको औषधि जुटाएर निःशुल्क बृहत् विशेषज्ञ स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।
 

 

प्रकाशित: १२ जेष्ठ २०७५ ०२:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App