८ वैशाख २०८१ शनिबार
समाज

नेपालीलाई अपहरण शैलीमा लैजान खोज्ने तीन भारतीय सुरक्षाकर्मीसहित चार पक्राउ

राैतहट प्रहरीले नियन्त्रणमा लिएकाे भारतीय प्रहरीकाे जीप । तस्बिर : मदन ठाकुर

रौतहट – एकजना नेपाली व्यावसायीलाई नेपालबाट अपहरणशैलीमा भारतीय प्रहरीले गाडीमा कोचेर लैजान लागेको अवस्थामा गौर भन्सारबाट नेपाल प्रहरीले चार भारतीयलाई नियन्त्रणमा लिएको छ।

भारतीय प्रहरीको गाडी अनुमति नै नलिई नेपाल पसेर एकजना नेपाली व्यावसायीलाई अपहरण शैलीमा लैजान लागेको बेला गौर भन्सारको सुरक्षा चेकजाँच प्वाइन्टमा चेकजाँच गर्ने क्रममा नेपाली व्यावसायी भेटिएपछि सोधपुछ गरिएको थियो। सो क्रममा भारतीय सुरक्षाकर्मीले पूर्व जानकारी नै नदिई भारततिर लैजान लागेको बताएपछि तीन भारतीय सुरक्षाकर्मी र एकजना भारतीय नागरिकलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ ।

 नेपाल प्रहरीको नियन्त्रणमा रहेको भारतीय प्रहरीमा एकजना दरोगा सुजीत कुमार र दुई जना प्रहरी जवान मिथलेश मिश्र तथा अछेवर खान रहेको रौतहट प्रहरीले जनाएको छ। 

बाराको कलैया नगरपालिका १७ का महेश प्रसाद यादवले काठमाडौँमा संचालन गरेको गार्मेन्ट उद्योगमा काम गर्ने भारत बिहारको सीतामढी जिल्लाअन्तर्गतको पचटकीका ओहिद मन्सुरीले चार लाख रुपैया लिएर घर गएकोमा लामो समयसम्म काममा नफर्केपछि काम गर्न वा पैसा फर्काउन दबाब दिँदै आएका थिए। 

लामो समयपछि मन्सुरीका छोराले व्यावसायी यादवलाई पैसा फिर्ता लिन रौतहट सदरमुकाम गौर आउन भनेकोमा व्यवसायी गौर आएको बेला मन्सुरीका छोरा साबिन मन्सुरी र उनका साथी मोमताज अहमदसमेतको सहयोगमा भारत नेपाल सीमानजिकै गौर भन्सार एरियाको छेउमै बोलाएर षड्यन्त्र गरेको बुझिएको छ । साबिन मन्सुरीले फोन गरेर बोलाएपछि एउटा होटलमा सँगै खाजा खाएको र मन्सुरीले फोन गर्ने बित्तिकै भारतीय सुरक्षाकर्मीको गाडीसहित तीनजना सुरक्षाकर्मी होटल अगाडि उपस्थित भएर अपहरणशैलीमा व्यावसायी यादवलाई गाडीमा कोचेका थिए।

लगत्तै भन्सार पुगेको गाडीलाई भन्सारको बैरियरमा नेपाल प्रहरीले चेकजाँच गर्दा केरकारको क्रममा नेपाली व्यावसायीको संकेतको आधारमा प्रहरीले गाडीसहित चारैजनालाई नियन्त्रणमा लिएका थिए।

घटनाको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक मनोज यादवको नेतृत्वमा प्रहरीको टोली भन्सार कार्यालयनजिक पुगेर भारतीय सुरक्षाकर्मीको गाडीसहित चारजनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। नेपाली व्यावसायीलाई भारतीय प्रहरी र नागरिकले अपहरण गरेको हल्ला फैलिएपछि सशस्त्र प्रहरी समेतको टोलीले भारतीय प्रहरीको गाडीसहित सुरक्षाकर्मीलाई जिल्ला प्रहरी कार्यालय रौतहटसम्म घेरा हालेर स्कर्टिङमा पुर्‍याएको सशस्त्र प्रहरी बल नेपालको बिओपी भन्सार कार्यालयका प्रहरी निरीक्षक शंकर साहु ठकुरीले बताएका छन् ।

तीनजना भारतीय प्रहरी र एकजना भारतीयसहित चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रवीन्द्र केसीले बताएका छन्।

घटनाको विषयमा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भारतीय प्रहरीले अनुमति नलिइकन गाडीसहित नेपाल पसेको स्वीकार्दै नियन्त्रणमा रहेको भारतीय प्रहरीको विषयमा भारतको बिहारका उच्च प्रहरी पदाधिकारीसित सम्पर्क गर्ने काम भइरहेको बताएका छन्।

रौतहटको सदरमुकाम गौरको छिमेकी भारतीय बजार बैरगनिया थानाका प्रहरीकै नेतृत्वमा तीन सदस्यीय प्रहरी टोली र एकजना भारतीय नागरिकले नेपाली व्यावसायीलाई छापामार शैलीमा भारततिर लैजान लागेको विषयको कारणबारे पनि अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी गराएका छन् ।

प्रकाशित: ११ जेष्ठ २०७५ १५:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App