१६ चैत्र २०८० शुक्रबार
समाज

नगरवासीको घर बनाउने महानगरले बनाएन् आफ्नै घर

काठमाडौं – महानगरपालिकाबाट दैनिक सरदर १५ वटा भवनको नक्सा स्वीकृत हुन्छन् । यसरी प्रत्येक दिन जनताको घर तथा सार्वजनिक भवनको नक्सा स्वीकृत गर्ने कार्यालय महानगरको भने आफ्नै भवन छैन। 

सुन्धारास्थित बागदरबारलाई कार्यालयका रूपमा प्रयोग गर्दै आएको महानगर २०७२ वैशाखको भूकम्पले दरबारमा क्षति पुर्‍याएपछि राष्ट्रिय सभागृहमा सरेको थियो । त्यसपछि बागदरबारसँगै जोडिएको जेडिए कम्प्लेक्समा भाडामा महानगर कार्यालय सर्‍यो । हाल जेडिए भवनमा मासिक झण्डै १० लाख रुपैयाँ भाडा तिरेर कार्यालय चलाउँदै आएको छ । तर, उक्त भवनमा पनि ठाउँ नपुगेर अहिले विभिन्न पाँच स्थानबाट आफ्नो सेवा प्रवाह गर्दै आएको छ। 

अहिले महानगरले पाँचवटा विभाग जेडिए कम्प्लेक्सबाट सञ्चालन गर्दै आएको छ। चारवटा विभाग जिल्ला समन्वय समितिको कार्यालय बबरमहलबाट सञ्चालन गरिरहेको छ। त्यसैगरी दुईवटा विभाग बागदरबारबाट चलाइरहेको छ भने वातावरण विभाग टेकुबाट सञ्चालन गर्दै आएको छ। 

कार्यालय एकै ठाउँ नहुँदा सेवाग्राही फाइल बोकेर दौडिनुपर्ने बाध्यता छ। तर, महानगरवासीको समस्यालाई ध्यानमा राखेर महानगरले एकै ठाउँबाट सेवा दिन भने सकेको छैन। 

भूकम्पले महानगरको बागदरबारको कार्यालयमा क्षति गरेपछि टेकुमा स्टिल स्ट्रक्चरको भवन बनाउने योजना अघि सारिएको थियो। 

टेकुस्थित सात रोपनी क्षेत्रफलमा बनाउन लागेको स्टिल स्ट्रक्चरको ठूलो अत्याधुनिक भवनलाई ‘काठमाडौं ट्विन टावर’ भनेर पनि नामकरण गरिएको थियो । झन्डै ५० करोड लागतमा बनाइने उक्त भवन एउटा ब्लक पाँच र अर्कोे ब्लक ६ तले हुने तय भएको थियो। 

देशकै पहिलो भूकम्परहित स्टिल स्ट्रक्चरको अत्याधुनिक भवन बनाउने भने पनि महानगरले योजना कार्यान्वयन गर्न सकेन । ‘महानगर स्टिल स्ट्रक्चरको भवन बनाउने योजनामै थियो,’ महानगर प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, ‘जनप्रतिनिधि आएसँगै उक्त योजना कार्यान्वयनमा नआएको हो।’ उनका अनुसार जनप्रतिनिधिले बागदरबारमै अत्याधुनिक भवन बनाउने निर्णय गरेपछि स्टिल स्ट्रक्चरको भवन नबनाइएको हो। 

स्थानीय तहको चुनावमा उत्रँदै गर्दा महानगरका मेयर विद्यासुन्दर शाक्यले पनि महानगरको भवन बनाउने सपना बाँडेका थिए । मेयर शाक्यको सय दिनमा गर्ने भनिएका एक सय एक कामको ७१ नम्बरमा ‘महानगरपालिका भवन निर्माण कार्य प्रारम्भ गर्ने उल्लेख छ । तर, शाक्य मेयरमा विजयी भएको वर्ष दिन हुँदा पनि भवन निर्माणको कुनै कार्य अगाडि बढाएका छैनन्। 

करिब दुई महिनाअघि बागदरबार भत्काएर अत्याधुनिक भवन बनाउने घोषणा मेयर शाक्यले गरेका थिए। बागदरबार पुरातात्त्विक महत्त्वको राणाकालीन दरबार भएकाले भत्काएर आधुनिक भवन बनाउन नमिल्ने भन्दै विवाद भयो। 

‘विवाद आए पनि हामीले भूकम्पले क्षति पुगेको बागदरबार भत्काएर नयाँ भवन बनाउने प्रक्रिया सुरु गरेका छौँ,’ प्रवक्ता कार्कीले भने, ‘त्यसका लागि बागदरबार भत्काउन टेन्डर प्रक्रिया अघि बढिसकेको छ ।’ महानगरले भत्काउन थालेको बागदरबार कसैले रोक्न नमिल्ने प्रवक्ता कार्कीको तर्क छ। 

पुरातत्त्व विभाग भने बागदरबार भत्काउन नमिल्ने दाबी गर्दै आएको छ। ‘बागदरबार ऐतिहासिक महत्त्वको भवन हो,’ विभागका प्रवक्ता रामबहादुर कुँवरले भने, ‘त्यसैले उक्त भवन भत्काउन मिल्दैन ।’ उनका अनुसार विभागले बागदरबार भत्काउन अनुमति दिएको छैन। 

अनुमति नपाए पनि महानगर भने बागदरबार भत्काउने पक्षमा देखिन्छ। ‘बागदरबार भत्काएर नयाँ भवन बनाउने प्रक्रिया थालिसकेका छौँ,’ महानगर प्रवक्ता कार्कीले भने। प्रवक्ता कार्कीका अनुसार भवन भत्काउने काम सकिएलगत्तै नयाँ भवनका लागि टेन्डर आह्वान हुनेछ। बागदरबारमा बनाउने भनिएको नयाँ भवनका लागि ड्रोइङ, डिजानइन र इस्टिमेट तयार गर्ने काम भइरहेको महानगरले जनायो । महानगरले सोचेअनुरूप काम गर्न पाएमा अबको तीन वर्षभित्र महानगरको सबै सेवा एकै ठाउँमा दिने भवन तयार गरिने प्रवक्ता कार्कीको दाबी छ। 

प्रकाशित: ११ जेष्ठ २०७५ १२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App