१६ चैत्र २०८० शुक्रबार
समाज

लापरवाही गर्ने दुई ठेकेदार पक्राउ

दाङ– सडक निर्माणमा लापरवाही गरेको भन्दै दाङका दुई निर्माण व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

घोराहीमा ‘फोर लेन’ सडक बिस्तारको जिम्मा लिएर चार बर्षसम्म काम पुरा नगरेका कान्छाराम शंकरमाली जेभीका पदम शर्मा र तुलसीपुर क्षेत्रमा ‘फोर लेन’ सडक बिस्तारको जिम्मा पाएको गौरी पार्वती कन्सट्रक्सनका प्रकाश महतारालाई विहीबार नियन्त्रणमा लिइएको दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए। 

काममा लापरवाही गर्ने ठेकेदारलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापाले दिएको निर्र्देशन बमोजिम प्रहरीले उनिहरुलााई नियन्त्रणमा लिएको जनाएको छ। ‘काममा अधिक लापरवाही गर्ने दुईजना ठेकेदारलाई नियन्त्रणमा लिएका छौँ,’ प्रजिअ श्रेष्ठले भने ‘लापरवाही गर्ने अरु ठेकेदारलाई पनि खोजिरहेका छौं।’ 

पक्राउ परेका निर्माण व्यवसायीहरुले ठेक्का सम्झौता गरेको चार बर्षसम्म पनि सडक बिस्तारको काम पुरा गरेका छैनन्। फलतः बिस्तारका नाममा खनिएको धुलाम्य सडकका कारण सर्वसाधारणहरुले लामो समयदेखि सास्ती खेप्दै आइरहेका छन्। 

यसैगरी निर्माणाधीन पुलको काममा समेत गरिएको चरम लापरवाहीका कारण सर्वसाधारणहरुले सास्ती बेहोर्नु परिरहेको छ। घोराही तुलसीपुर सडक खण्डमा पर्ने पुलविहिन खोलाहरुमा पुल निर्माणको काम थालिएको भएपनि ढिला सुस्तीले दुर्घटनाको जोखिम समेत बढेको छ। 

प्रकाशित: १० जेष्ठ २०७५ १२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App