१५ चैत्र २०८० बिहीबार
समाज

सीमा क्षेत्रमा मदिरा प्रतिबन्ध

इटहरी - सुनसरीको भण्टाबारी भारतीय सीमा नजिकै पर्छ । भण्टाबारीमा साँझपख भारतीय मदिराप्रेमी पाहुनाको जमघट थामिनसक्नुको हुन्छ । भारतको विहार राज्यमा रक्सी प्रतिबन्ध गरिएपछि त्यहाँका नागरिक साँझपख रक्सी खान नेपाल छिर्ने गरेका हुन् ।

देवानगन्ज गाउँपालिका–६ को पारिपट्टि भारत मनिकपुरबाट मात्रै दैनिक सयको हाराहारीमा भारतीय नागरिक रक्सी खान नेपाल आउने गरेका छन् । भारत मनिकपुरका सन्तोष रामका अनुसार नेपालतर्फ रक्सी पिएर भारतीयहरू राति अबेर भारत नै फर्कने गरेका छन्।

मदिरा पिउन आएका पाहुनाले गर्दा सीमावर्ती क्षेत्रमा झगडा नभएको दिन नै हुँदैन । यसरी मदिरा खान आएका भारतीय पाहुनाले गर्दा सीमावर्ती क्षेत्रका नेपालीमा त्रास बढ्दै गएको छ । तीन महिनाअघि पैसा तिर्ने विषयमा विवाद हँुदा भण्टाबारीका मदिरा पसल सञ्चालक मनोज गुप्तालाई भारतीय नागरिकले कुटपिट गरी घाइते बनाए । त्यस क्रममा भारत विहार राज्यको सुपौल जिल्ला भीमनगरका ३० वर्षीय अर्जुन पासवानलाई प्रहरीले पक्राउ त ग¥यो तर उपचार खर्च बेहोर्नेबाहेक कुनै कारबाही भएन ।

भारतको विहारमा रक्सी प्रतिबन्ध भएयता नेपाली बजारमा रक्सी पिउन आउनेको भारतीयको संख्या बढेसँगै सीमावर्ती क्षेत्रमा चौपाया चोरीका घटनासमेत बढेका छन् । भोक्राहा नरसिंह वडा नं–१ का राधेश्याम यादव र शिवनारायण यादवको केही महिनाअघि भैसी चोरी भएका थिए।

भारतको विहारमा रक्सी प्रतिबन्ध भएयता नेपाली बजारमा रक्सी पिउन आउनेको भारतीयको संख्या बढेसँगै सीमावर्ती क्षेत्रमा चौपाया चोरीका घटनासमेत बढेका छन् ।

यसरी मदिराका कारण सीमावर्ती क्षेत्रका नेपाली असुरक्षित हुँदै गएपछि जिल्ला सुरक्षा समिति सुनसरीले भारतीय सीमाबाट नेपालतर्फ पाँच सय मिटरसम्म मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ । भारतीय नागरिक दिनहुँजसो नेपाल आएर रक्सी खाइ हुलदंगा मच्चाउने गरेकाले जिल्ला सुरक्षा समितिको बैठकले भारतीय सीमादेखि पाँच सय मिटरसम्मको क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी अनुप भण्डारीले बताए ।

सुनसरी सीमावर्ती क्षेत्रमा बग्रेल्ती दर्ता भएका मदिरा पसल छन् । दर्ता भएका मदिरा पसलले घरेलु रक्सी बनाएर बेच्ने गरेका छन् । भारतको विहारमा रक्सी प्रतिबन्ध गरिएपछि सुरुमा सुनसरीको सीमावर्ती क्षेत्रमा पनि साँझ ७ बजेपछि मदिरा बिक्रीमा बन्देज लगाइएको थियो । दशगजा क्षेत्रभन्दा डेढ सय मिटर आसपासका क्षेत्रमा रक्सी प्रतिबन्ध लगाइएको थियो।

तर, व्यापारीले मदिरा पसल दर्ता गरेरै सञ्चालन गर्न थालेपछि प्रहरीले केही खुकुलो गरेको थियो ।
नेपाल–भारतका सुरक्षा अधिकारीबीच हुने हरेक बैठकमा भारतले रक्सी प्रतिबन्ध लगाए पनि नेपालले सहयोग नगरेको आरोप लाग्दै आएको छ । ‘भारतीय सीमा सुरक्षा बलले जहिले पनि नेपालले हाम्रो योजनालाई सफल पार्न नदिएको भनेर गुनासो गरिरहनु अनि नेपालमै रक्सीका कारण झैझगडा, चोरी, तस्करी लगायतका घटना हुन थालेका कारण यसलाई नियन्त्रण गर्न मदिरामा निषेधित क्षेत्र घोषणा गरिएको हो,’ सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले भने ।

यसैगरी जिल्ला सुरक्षा समितिको बैठकले सीमा क्षेत्रको एक किलोमिटर नेपालतर्फ ढुंगा–गिटी स्टक गर्न पनि रोक लगाएको छ । सीमा क्षेत्र नजिकै स्टक गरेर राति प्रहरी नभएको मौकामा भारततर्फ निकासी गर्ने गरेकाले यसमा पनि कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी उप्रेतीले जानकारी दिए । उनका अनुसार कसैले सीमा क्षेत्रमा घर बनाउन चोहमा स्थानीय तहको अनुमति लिनुपर्ने नियम बनाइएको छ ।जिल्ला सुरक्षा समिति बैठकले केही दिनको समय सीमा तोकेर मदिरा निषेध र ढुंगा–गिटी स्टकबारे सचेतना कार्यक्रम गर्ने र त्यसपछि पनि अटेर गरे कारबाही प्रक्रिया थाल्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उप्रेतीले बताए ।

सीमा क्षेत्रमा स्थानीय परिचालन गरी गस्ती गरिने
सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि सुनसरीका विभिन्न स्थानमा टोल सुरक्षा समिति गठन गरिने भएको छ ।सीमा क्षेत्रमा अस्थायी प्रहरी पोस्ट मात्र तथा कम जनशक्ति भएकाले संवेदनशील मानिएका गाउँमा टोल सुरक्षा समिति गठन गरिने जिल्ला प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए ।

उनका अनुसार टोल सुरक्षा समितिलाईं आवश्यक परे एक जना प्रहरी दिइने छ।‘टोल सुरक्षा समिति गठन गरेपछि पशु चोरीलगायत आपराधिक गतिविधि रोकिने विश्वास गरिएको छ,’ एसपी अधिकारीले भने, ‘स्थानीय सुरक्षा समितिलाई स्थानीय तहले आवश्यक सहयोग भने गर्नुपर्छ ।’ टर्च लाइट, मोबाइल रिचार्ज, रजिस्टर र बर्खाका बेला लगाउने रेनकोट सहयोग गर्न स्थानीय तहलाई आग्रह गरिएको उनले बताए ।

सीमावर्ती क्षेत्रमा कोसी, हरिनगर, देवानगन्ज र बर्जु गाउँपालिका पर्छन् । यी चारवटै गाउँपालिका प्रमुखले अपराध नियन्त्रण गर्न प्रहरीले सुरु गर्न लागेको अभियानमा साथ दिने बताएका छन् । तर, सीमावर्ती क्षेत्रमा बसोबास गर्ने कतिपय नेपाली नै आपराधिक गतिविधीमा संलग्न हुने गरेकाले सुरक्षा समितिमा रहने व्यक्ति भने स्वच्छ छविको हुनुपर्ने सर्त राखिएको छ । ‘सुरक्षा समितिमा स्वच्छ छविका व्यक्तिको पहिचान गरेर राख्नुपर्छ, अनि मात्र प्रहरीको योजना सफल हुन्छ, नत्र उल्टो अपराध बढ्न सक्छ,’ हरिनगर गाउँपालिकाका प्रमुख गफार अनसारीले भने ।

प्रकाशित: १० जेष्ठ २०७५ ०२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App