६ वैशाख २०८१ बिहीबार
समाज

अपराध र भ्रष्टाचार अन्त्य नभएसम्म विकास हुँदैन : गृहमन्त्री

धनगढी - गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचार, अपराध, तस्करी, अनियमितताका कारण देशको विकास हुन नसकेको उल्लेख गर्दै सुरक्षाअधिकारीलाई बदलिँदो परिवेसमा देशको विकास र समृद्धिका लागि कडाइका साथ काम गर्न निर्देशन दिएका छन् । बुधवार प्रदेश ७ को प्रदेश स्तरीय गोष्ठीमा बोल्दै गृहमन्त्री थापाले गलत गर्ने कोहीलाई पनि छुट नदिने भन्दै परिणाम देखिनेगरी काम गर्न जोड दिए ।

गुहमन्त्री थापाले विकास र समृद्धिका लागि भ्रष्टाचार, अनियमितता, तस्करी रोक्न कडाइकासाथ काम गर्न निर्देशन दिदै सबैको काम हेरिने बताए । विकास र समृद्धिका लागी सुशासन र सुरक्षा भनेर विशेष सुरक्षा गोष्ठी सबै प्रदेशमा गरिन लागेको उनले बताए ।‘देशको विकास र समृद्धिका लागि सुशासन आवश्यक छ,’ उनले भने, ‘भ्रष्टाचार, अपराध, अनियमितता, तस्करी, सेण्डिकेट अन्त्य नभएसम्म मुलुकको विकास सम्भव छैन,’ निर्देशन दिँदै गहृमन्त्रीले भने, ‘अब कडाइका साथ यो अन्त्य गरिनुपर्छ ।’

अनुगमनको पनि अनुगमन गरिने कुरा नीति तथा कार्यक्रममा त्यत्तिकै उल्लेख नभएको बताउँदै त्योे सुशासनको सुनिश्चितताका लागि भनिएको उनले बताए । अब कडाइकासाथ सबैको काम हेरेर गलत गर्ने जोकोहीलाई पनि नछाड्ने उनले बताए । यातायातलगायत सबै क्षेत्रमा रहेको सेण्डिकेन्ट, कार्टेलिङ र एकाधिकार अन्त्य गरिने उनले बताए । प्रदेश ७ का ९ जिल्लाका प्रमुख जिल्ला अधिकारीले जिल्लाको सुरक्षा अवस्थाबारे ब्रिफिङ गरेका थिए । बैठकमा गृहमन्त्री थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह, गृहसचिव, ३ वटा सुरक्षा निकायका प्रमुख र नेपाली सेनाका उपरथीले पनि निर्देशन दिएको कैलालीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । सुरक्षा अवस्थाबारे विश्लेषण गरेर शान्तिसुरक्षा र गलत क्रियाकलाप नियन्त्रणका लागी अपनाउनुपर्ने रणनितीबारे छलफल भएको उनले बताए।

खुला सीमा र विप्लव माओवादी मुख्य चुनौती

गोष्ठीमा खुला सीमाका कारण भइरहेको अपराध तथा विप्लव माओवादी गतिविधि मुख्य सुरक्षा चुनौती रहेको कुरा उठेको छ । खुला सीमाका कारण भारतवाट हातहतियार भित्रिरहेको गोष्ठीमा कुरा उठेको थियो । खुला सिमानाका कारण अपराध गर्न सहज भएको गोष्ठीमा छलफल भएको थियो । लागू औषधको कारोबार पनि समस्याका रूपमा रहेको बैठकमा उठेको सहभागीले बताएका छन् । यसैगरी अढाई वर्षअघि थरूहट आन्दोलनका क्रममा टीकापुरमा भएको घटना उल्लेख गर्दै समाजिक सद्भाव बिथोलिने गतिविधि हुन नदिने चुनौतीबारे छलफल भएको थियो।

‘अपराधीहरुको अन्तिम छटपटाहट’

यसैगरी, गृहमन्त्री थापाले पत्रकार भेटघाटमा देशको विकास र समृद्धिका लागि अपराध, भ्रष्टाचार, अनियमितता र तस्करी अन्त्य गरेरै छाड्ने बताए । हिजोका दिनमा तस्करी गर्नेका भरियालाई समातेको नाटक गरिने गरेको भन्दै अव अपराधका नाइकलेलाई नै समात्ने उनले बताए ।

‘ मालिकको सुरक्षाका लागि भरिया समातेको नाटक गर्ने गरिन्थ्यो, अब नाइके नै हामी समात्ने छौं, हामीले त्यो अभियान सुरु गरिसकेका छौं’ उनले भने, ‘अहिलेको समयमा अपराधीको अन्तिम छटपटाहट हो ।’ उत्पादन शक्ति युवाहरूलाई लागू औषधको कारोबारले ध्वस्त पारेको उनले बताए । सेण्डिकेटले मुठ्ठीभर मान्छे समृद्ध भएको उल्लेख गर्दै सबैको समृद्धि र विकासका लागी एकाधिकार र सेण्डिकेट अन्त्य गरिने उनले बताए । ‘विकास निर्माण, यतायात, स्वास्थ्य, शिक्षा, कृषि सबैमा सेण्डिकेट र भ्रष्टाचार छ,’ उनले भने, ‘हामीले सेण्डिकेट अन्त्यको अभियान सुरु गरेका छौं ।’ तस्करलाई कोही प्रहरीले संरक्षण गरिरहेको छ भने सिधैँ मन्त्रालयमा खबर गर्न आग्रह गर्दै त्यस्ता प्रहरीलाई अन द स्पोट कारबाही गर्ने उनले प्रतिबद्धता जनाए । ‘प्रहरी, कर्मचारी र राजनीतिक दलभित्र पनि ठूलो सुधार आवश्यक छ,’ उनले भने, ‘शुद्धीकरण अभियान पनि हामीले चलाएका छौँ।’

एक प्रसंगमा सुन तस्करीमा गोरेलाई समातिएको र अब माथिका ठूला माछा पनि सरकारले समात्ने बताए । विप्लव माओवादीलाई संविधान विरोधी र राज्य विरोधी शक्तिका रूपमा परिभाषित गरिराखेको उल्लेख गर्दै राजनीतिक रूपमा र प्रशासनिक दुई प्रक्रियाबाट समस्याको हल गरिराखेको उनले बताए ।

पार्टी एकीकरण भएर शक्तिशाली कम्युनिष्ट पार्टी निर्माणले अहिलेसम्म हुन नसकेको समाजवाद निर्माणका लागि सवल नेतृत्व र राजनीतिक स्थायीत्व प्राप्त हुने उनले बताए । छोटो अवधिमा देशलाई विकास र समृद्धिको शिखरमा कसरी पु¥याउने भन्ने दस्तावेज अब जेठ १५ गते आउने बजेट हुने उनको भनाइ थियो । विकास निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीले ढिलासुस्ती गरेमा, भ्रष्टाचार गरेमा र अलपत्र छोडेमा कानुनको उल्लघन हुने उल्लेख गर्दै कानुनको उल्लंघन गर्नेलाई सरकारले नछोड्ने बताए।

प्रकाशित: १० जेष्ठ २०७५ ०१:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App