७ वैशाख २०८१ शुक्रबार
समाज

पाँचौपटक म्याद थप गर्न माग

नारायणगढ–मुग्लिन सडकखण्डको रामनगर क्षेत्र ।तस्विरः सविता/नागरिक

चितवन - नारायणगढ–मुग्लिन सडक विस्तारको काम चौंथोपटक थपिएको म्यादभित्र नसकिएपछि निर्माण कम्पनीहरूले फेरि पाँचौंपटक म्याद थपका लागि निवेदन दिएका छन् । पछिल्लोपटक तोकिएको म्यादभित्र काम नसकिने भएपछि सडक निर्माणको जिम्मेवारी पाएका कम्पनीले म्याद थपको माग गरेका हुन् । सडकलाई तीन खण्डमा विभाजन गरेर तीन फरक निर्माण कम्पनी सडक विस्तारमा सहभागी छन् । सडक विस्तारमा सहभागी दुई निर्माण कम्पनीको चौथो पटकको म्याद सकिएको छ ।

दुईवटै कम्पनीले काम नसकिएको जानकारी गराउँदै म्याद थप गर्न निवेदन दिएको नारायणगढ–मुग्लिन सडक आयोजनाको डिभिजनल इन्जिनियर गोविन्दप्रसाद खनालले जानकारी दिए । ‘म्याद सकिनु एक साताअघि म्याद थपको निवेदन दिनुपर्ने व्यवस्था छ,’ उनले भने, ‘सोही व्यवस्थाअनुसार दुईवटा कम्पनीले म्याद थपका लागि निवेदन दिएको बुझिएको छ ।’आँपटारीदेखि मुग्लिनसम्म ३३.२७ किलोमिटर सडकमध्ये आँपटारीदेखि दासढुंगासम्म १०.४५ किलोमिटर बिएलएएससीसीले, दासढुंगादेखि सिमलतालसम्म १०.६९ किलोमिटर उड हिल–लामा जेभीले र सिमलतालदेखि मुग्लिनसम्म १२.१३ किलोमिटर सडक विस्तारको जिम्मा सुप्रिम–रौताहा जेभी कम्पनीले लिएका छन् ।

चौथोपटक म्याद थप गरे अनुसार बिएलएएससीसीको मे १० मा र उड हिल–लामा जेभीको मे २० मा म्याद सकिएको छ । उड हिल–लामा जेभीको म्याद मे ३० सम्म छ । म्याद सकिएका दुवै कम्पनीले सडक विस्तारको परामर्शदाता कम्पनीमा समय बढाउन निवेदन दिएका छन् ।चौथोपटक थपिएको म्यादमा पनि तीनवटै निर्माण कम्पनीले सडक निर्माण सकेका छैनन् । म्याद सकिन एक साता मात्र बाँकी रहेको सिमलतालदेखि मुग्लिनसम्म सबैभन्दा धेरै काम हुन बाँकी छ । त्यसैले म्याद थपको निवेदन दिन बाँकी सुप्रिम–रौताहा जेभीको पनि निवेदन दिन आउने खनाल बताउँछन् ।

परामर्शदाता कम्पनी (कन्सल्ट्यान्ट) मा निवेदन परेको जानकारी पाए पनि कति दिन म्याद थपको माग गरेको भन्ने जानकारी आयोजनामा नआएको उनले बताए । परामर्शताले म्याद थप गर्न मिल्ने, नमिल्ने जाँचबुझ गरेर सुझाव सहित आयोजनालाई जानकारी गराउने उनले बताए ।सडक विस्तारको काम करिब ८८ प्रतिशत सकिएको उनले जानकारी दिए । ‘वैशाख मसान्तसम्ममा ८५ प्रतिशत काम सकिएको थियो,’ उनले भने, ‘त्यसयता दुई÷तीन प्रतिशत प्रगति भएको छ ।’

 

प्रकाशित: ९ जेष्ठ २०७५ ०२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App