१५ चैत्र २०८० बिहीबार
समाज

दोस्रो किस्ता नपाउँदा भूकम्पपीडित समस्यामा

दोस्रो किस्ता नपाए पनि आफ्नै खर्चमा घर बनाउँदै साकेला गाउँपालिका–५, मात्तिमका भूकम्पपीडित । तस्बिर ः दमन राई/नागरिक

खोटाङ- खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७, दोर्पाचिउरीडाँडाका भूकम्पपीडित भीमकुमार बुढाथोकीले आवास निर्माण बापतको पहिलो किस्ताले गत फागुनमै घरको डिपिसी ठड्याए । घरको डिपिसी सकेर बुढाथोकी परिवारले दोस्रो किस्ताका लागि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको बाटो हेरे।

तर, दोस्रो किस्ता पर्खंदा घर निर्माणमा ढिलाइ हुने भए पछि प्राविधिकको परामर्शमा बुढाथोकीले डिपिसीभन्दा माथिका काम आफ्नै खर्चमा पूरा गरे । ‘वर्षा लाग्यो, खेतीपातीको सिजन सुरु भयो,’ उनले भने, ‘किस्ता पर्खिरहने हो भने वर्षामा बस्ने ठाउँ नै नहुने भो । त्यही भएर सरासर आफैले घर बनाइरहेका छौं ।’ बुढाथोकीले घरको तला उठाइसकेका छन्।

यस्तै, पहिलो किस्तावापत प्राप्त ५० हजारबाट घरको डिपिसी उठाए पनि दोस्रो किस्ता नपाएपछि दिप्रुङ चुइचुम्मा गाउँपालिका–५, सछितापोखरीका श्यामकुमार थापाले ऋण काढेर घर बनाइरहेका छन् । पर्खाल लगाइ सकिएकाले अब घरको छानो हाल्ने काम मात्र बाँकी छ । वर्षा सुरु भएकाले दोस्रो किस्ता पर्खनुको साटो सरासर घर निर्माण अघि बढाएको थापाले बताए । ‘पहिलो किस्ताबाट मापदण्डअनुसार काम सके पनि बेलामा दोस्रो किस्ता पाइएन,’ थापाले भने, ‘दिनहँु वर्षा हुन थालेकाले घर निर्माणमा हतारो गर्नु परेको हो ।’ डिपिसीको काम सक्दा पनि दोस्रो किस्ता हात नलाग्दा आवास निर्माणमा समस्या झेल्नु परेको सछितापोखरीकी सीता थापाले गुनासो गरिन् ।

२०७२ जेठ १२ गते गएको महाभूकम्प र त्यस पछिका पराकम्पनका कारण घरविहीन बनेपछि पहिलो किस्ता लिएर डिपिसीको काम पूरा गरेका कुनै पनि लाभग्राहीले हालसम्म दोस्रो किस्ता पाउन सकेका छैनन् ।दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा भूकम्प गएको दुई वर्षपछि २०७४ जेठ १९ गतेदेखि राष्ट्रिय पुनर्निमाण प्राधिकरणले भूकम्पीय आवास पुनर्निर्माणका लागि लाभग्राहीलाई आवास अनुदानअन्तर्गत पहिलो किस्ता वितरण गरेको थियो । पहिलो किस्ता लिएपछि डिपिसी उठाएका लाभग्राहीलाई तत्काल दोस्रो किस्ता दिने संयन्त्र प्रभावकारी नहुँदा लाभग्राही समस्यामा परेका हुन् ।

दोस्रो र तेस्रो किस्ता वितरणका लागि तयारीस्वरूप राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय ओखलढुंगाले २०७४ चैत २८ गते दिक्तेलमा इन्जिनियर तथा प्राविधिकलाई अभिमुखीकरण तालिम दिएको थियो । तर त्यसको कार्यान्वयन हुन नसकेको भूकम्पीडितको गुनासो छ ।जिल्ला समन्वय समितिका प्रमुख बबी चामलिङका अनुसार खोटाङका ८ हजार ४ सय ४३ लाभग्राहीमध्ये ८ हजार ६२ घर परिवारले पहिलो किस्ताबापत ५० हजार रुपैयाँ लिएर घर बनाइरहेका छन् । कुल लाभग्राहीमध्ये अझै ३ सय ८१ भूकम्पपीडितले आवास निर्माण अनुदानको पहिलो किस्ता नै पाउन सकेका छैनन् ।

डिपिसीका काम पूरा गरेका भूकम्पपीडितका लागि गत वैशाखमा अनुदान सिफारिस गरे पनि प्राधिकरणको ढिलासुस्तीका कारण दोस्रो किस्ता पाउन नसकेको हलेसी तुवाचुङ नगरपालिका–९, सल्लेका वडासचिव चञ्चल पोखरेलले गुनासो गरे । ‘३४ घरका लागि दोस्रो किस्ता लिन गत वैशाखमै सिफारिस गरेका थियौं,’ पोखरेलले भने, ‘तर उनीहरूले अहिलेसम्म रकम पाउन सकेका छैनन् ।’बेलामा दोस्रो किस्ता नपाएपछि खोटाङका कतिपय भूकम्पपीडित आफ्नै रकममा घरमा बनाइरहेका छन् भने कतिपय डिपिसी गरेर दोस्रो किस्ताको प्रतीक्षामा बसिरहेका छन् । किस्ता बुझेर आवास निर्माण सुरु नै नगर्ने पनि छन् । पहिलो किस्ता लिएर घर ठड्याउन थालेका भूकम्पपीडित भने दोस्रो किस्ता पाउन नसक्दा घर निर्माण अलपत्र परेको छ ।

अधिकतर भूकम्पपीडितले डिपिसी पूरा गरेका भए पनि दोस्रो किस्ता पाउन नसकेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७, दोर्पाचिउरीडाँडाका तेजनाथ ढकालले बताए । कतिपय स्थानीय तहमा इन्जिनियर नहुँदा पनि आवास निर्माणको प्राविधिक मूल्यांकन हुन नसक्दा किस्ता निकासामा ढिलाइ भएको हो ।डिपिसि सकिएपछि भूकम्पपीडितका नाममा दोस्रो किस्ता १ लाख ५० हजार, छाना हाल्ने बेला तेस्रो किस्ता ७५ हजार तथा शौचालय निर्माणपछि २५ हजार रकम खातामा उपलब्ध गराइने जनाइएको छ । भूकम्पका कारण खोटाङमा १३ हजार ७ सय ९९ घरमा क्षति पुगेको तथ्यांक छ ।


 

प्रकाशित: ८ जेष्ठ २०७५ ०२:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App