१६ चैत्र २०८० शुक्रबार
समाज

वैदेशिक रोजगारी निःसन्तानको कारक बन्दैै

काठमाडौं – सर्लाहीका ३३ वर्षीय जनक महतो (नाम परिवर्तन) को बिहे भएको पाँच वर्ष भयो। विदेशमा काम गर्ने उनी बिहे भएको पाँच वर्षको अवधिमा तीनपटक घर आएका छन्। बिहेको दुई महिनामै उनी वैदेशिक रोजगारीका लागि कतार गए। पहिलोपटक बिदेसिएको दुई वर्षपछि साढे २ महिनाको छुट्टीमा उनी घर आए। दोस्रोपटक विदेश गएको १८ महिनामै घर आएर दुई महिना बसेर फर्के। कतारको कमाइले पारिवारको ऋणको बोझ त घटायो तर बेलैमा सन्तान जन्माउने प्रयास सफल नहुँदा उनमा तनाव थपिएको छ। यसपटक अलि लामो बिदामा घर आएका उनी सन्तान नहुनुको कारण खोज्दै पत्नीसहित राजधानी काठमाडौंका अस्पताल चहार्दैछन्।

तनहुँका ३५ वर्षीय सरोज काफ्ले पनि वैदेशिक रोजगारी सिलसिलामा साउदी अरेबिया गएको आठ वर्षभन्दा बढी भयो। पाँच वर्षअघि उनले घर आएर बिहे गरे। बिहेपछि करिब तीन महिना पत्नीसँगै बसेर काममा फर्किए। त्यसपछि पटकपटक बिदा मिलाएर चारपल्ट उनी घर आए। प्रत्येकपटक दुईतीन महिना घर बसेर फर्किने गरेका उनलाई पनि अहिलेसम्म सन्तान सुख मिलेको छैन।

महतो र काफ्ले दम्पतीका लागि तनावको ठूलो विषय बनेको यसमा एउटा समानता छ– सन्तान हुन नपर्ने कुनै ठूलो शारीरिक र स्वास्थ्य समस्या छैन। तर बिहे गरेको यतिका वर्ष भइसक्दा पनि किन सन्तान हुन सकेको छैन? परिवार र समाजले बारम्बार गर्ने यो प्रश्नले दुवै दम्पतीलाई चिमोटिरहेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार ‘दम्पती परिवार नियोजनका कुनै साधन प्रयोग नगरीकनै एक वर्षसम्म सँगै बस्दा पनि बच्चा नभएको अवस्थालाई निःसन्तान समस्या’ भनिन्छ। यस्तो अवस्थामा जाँच एवं उपचार थाल्नुपर्छ। यो परिभाषाअनुसार उनीहरुलाई निःसन्तानको समस्या भएको भन्न मिल्दैन। तर पनि धेरै वर्षदेखि उनीहरु सन्तान नभएका कारण मानसिक र सामाजिक तनावमा छन्।

चिकित्सकका अनुसार कठिन र स्वास्थ्य प्रतिकूल हुने प्रकृतिका काम, अन्य व्यक्तिसँगको यौनसम्पर्कका कारण सर्ने रोग, गर्भ रहनसक्ने उपयुक्त समयमा यौनसम्पर्क हुन नसक्नु, मानसिक तनाव, धेरै वर्षसम्म अलगअलग बस्दा प्रजननशील उमेरसमेत घर्कंदै जाँदा सन्तान नहुने समस्या आउँँछ।

ओम अस्पतालकी निःसन्तान विशेषज्ञ डा. सबिना श्रेष्ठका अनुसार निःसन्तान विशेषज्ञ क्लिनिकमा उपचार एवं परामर्शका लागि आउनेमध्ये २५ प्रतिशतसम्म वैदेशिक रोजगारीमा गएका छन्। उनले गत वर्ष अस्पतालमा बच्चा नहुने समस्याको उपचारका लागि आएकामध्ये आठ हजार वैदेशिक रोजगारीमा आबद्ध युवा रहेको बताइन्।

निःसन्तान उपचार केन्द्रकी डा. उमा श्रीवास्तवका अनुसार पनि बच्चा नभएको समस्या लिएर आउनेमध्ये झन्डै २५ प्रतिशत वैदेशिक रोजगारीमा गएका युवा छन्। ‘लामो समय छुट्टिएर बस्नु र भेट हुँदा पनि छोटो समय प्रमुख समस्या हो’, श्रीवास्तव भन्छिन्, ‘यो निःसन्तानको समस्याभन्दा पनि विविध कारणले बच्चा हुन नसकेको अवस्थामात्रै हो।’

चिकित्सकहरुका अनुसार कठिन र स्वास्थ्य प्रतिकूल हुने प्रकृतिका काम, अन्य व्यक्तिसँगको यौनसम्पर्कका कारण सर्ने रोग, गर्भ रहनसक्ने उपयुक्त समयमा यौनसम्पर्क हुन नसक्नु, मानसिक तनाव, धेरै वर्षसम्म अलगअलग बस्दा प्रजननशील उमेरसमेत घर्कंदै जाँदा सन्तान नहुने समस्या आउँँछ। डा. श्रेष्ठका अनुसार फलाम, रसायन उत्पादन गर्ने कारखाना, उच्च तापक्रममा ड्राइभिङ गर्ने मानिसको शुक्रकीट मर्ने र कम हुने समस्या आउँछ। यसरी कम भएको शुक्रकीट नयाँ बनेर पर्याप्त संख्यामा फर्किन कम्तीमा तीन महिना लाग्छ। ‘अधिकांश युवा मुस्किलले दुई–तीन महिना छुट्टीमा घर आएका हुन्छन्, त्यतिबेलाको सम्पर्क प्रभावहीन बन्छ।’

तथ्यांकअनुसार १५ प्रतिशत दम्पतीमा कुनै न कुनै कारणले निःसन्तान समस्या देखिएको छ। जसमध्ये आधाभन्दा बढी समस्या परामर्श तथा चेतनाबाटै समाधान गर्न सकिन्छ । बाँकी समस्या औषधि र उपचारबाट र न्यूनमात्रै टेस्टट्युब बेबी तथा कृत्रिम गर्भाधान गर्नुपर्ने अवस्थाका हुन्छन् । गर्भधारणका लागि महिलाको डिम्बासय निस्किने समयमा शारीरिक सम्पर्क सही रूपमा स्वस्थ शुक्रकीटसँग मिल्नुपर्छ । त्यसका लागि महिनावारी चक्रअनुसार बढी डिम्ब निस्किने समयमा स्वस्थ शुक्रकीटसँग मिल्नुपर्छ।

वैदेशिक रोजगार विभागका अनुसार नेपालका ३८ देखि ४० लाख युवा तथा वयस्क अनुमति लिएर वैदेशिक रोजगारीमा गएका छन्। जसमध्ये झन्डै ४७ प्रतिशत २२ देखि ३५ वर्ष उमेर समूह (रिप्रडक्टिभ एज) का छन्। अनुमतिबिनै भारत वैदेशिक रोजगारीमा जानेको संख्या पनि निकै ठूलो रहेको अनुमान छ । ‘यस्तो अवस्थामा स्थानीय स्वास्थ्य संस्थामा सामान्य (वीर्य) परीक्षण, परामर्शजस्ता सेवा विस्तारमा ध्यान दिनसके धेरै समस्या समाधान गर्न सकिन्छ,’ डा. श्रेष्ठ भन्छिन्।

छोटो अवधिका लागि घर आउँदा शुक्रकीटमा देखिएका समस्या निराकरण नहुँदै बिदा सकिन्छ । ‘प्रत्येक वर्ष घर आएको हुन्छ तर बच्चा हुँदैन’, डा. श्रेष्ठले भनिन्, ‘जति ढिला भयो उति मानसिक प्रेसर र तनाव थपिँदै जान्छ ।’ चिकित्सकका अनुसार बच्चा हुन ढिला भएपछि दम्पतीमा सामाजिक तथा पारिवारिक दबाब बढ््छ। तनावमा यौनसम्पर्क हुँदा गर्भ बस्ने सम्भावना कम हुन्छ। पहिला रोग नभए पनि पछि विविध कारणले समस्या थपिँदै गएर निःसन्तान हुने अवस्था आउन सक्छ । त्यसबाहेक दम्पती अलगअलग बस्दा दुवै पक्षको अन्य व्यक्तिसँगको यौनसम्पर्कले पनि समयमै बच्चा नहुने समस्या निम्त्याउँछ। ‘धेरैजनासँग वा जो पायो त्यहीसँगै सम्पर्क गर्दा यौनरोग वा अन्य संक्रमण हुन्छ,’ डा. श्रेष्ठ भन्छिन् ,‘त्यसले पनि गर्भधारणमा समस्या ल्याउन सक्छ ।’ महिलाको सन्दर्भमा अनिच्छित गर्भ वा असुरक्षित गर्भ पतन गराए अर्कोपटक बच्चा नहुने सम्भावना रहन्छ। मानसिक तनाव नलिईकन पतिपत्नीले मासिक चक्रलाई सही ढंगले फलो गर्दा पनि समस्या समाधान हुनसक्छ।

लामो समयसम्म बच्चा नभएपछि मात्र दम्पती उपचारका लागि चिकित्सकसँग पुग्छन्। समस्या पहिचान भएर जाँच र उपचार थाल्दा उमेर बढिसकेको हुन्छ । ‘महिलाको जति उमेर बढ्दै गयो उति बच्चा हुने सम्भावना कम हुन्छ,’ डा. सबिना भन्छिन्, ‘महिलाको डिम्ब उत्पादन कम हुन्छ भने पुरुषको पनि शुक्रकीट उत्पादन घट्छ।’

चिकित्सकका अनुसार एक वर्षसम्म कुनै साधन प्रयोग नगरी शारीरिक सम्पर्कमा रहँदा बच्चा नभए उपचार थाल्नुपर्छ। गर्भधानचक्र र प्रक्रियाबारे सही जानकारी लिन र दिनसक्दा पनि अधिकांश समस्या समाधान हुने डा. श्रीवास्तव बताउँछिन् । पुरुषको शुक्रकीट (गुणस्तर र संख्या) जाँच, महिलाको पाठेघरको अवस्था र डिम्बबाहिनी नली थुनिए–नथुनिएको परीक्षणबाटै बच्चा हुने नहुने अवस्था पत्ता लगाउन सकिन्छ । पाठेघरको समस्या, शुक्रकीटमा हुने संक्रमण र गुणस्तर सुधारलगायत समस्या सामान्य औषधिबाटै निको पार्न सकिन्छ। तर डिम्बबाहिनी नली बन्द र शुक्रकीटको संख्या अन्त्यन्तै कम भएको अवस्थामा भने टेस्टट्युब बेबीमात्रै विकल्प बन्ने चिकित्सक बताउँछन् । यसबाहेक पुरुषको वीर्य संकलन गरेर सुरक्षित राख्ने र त्यसलाई महिलाको नियमित जाँच गरेर पर्याप्त डिम्ब निस्किएको समयमा नलीको सहायताले पाठेघरसम्म लगेर राखिदिने विधिसमेत नेपालमा प्रचलनमा छ । ‘तर पति विदेश भएको समयमा गर्भवती भई भनेर सामाजिक आलोचना हुने भएकाले धेरैले यो विकल्प रोज्दैनन्,’ डा. श्रेष्ठ भन्छिन्।

चिकित्सकहरुका अनुसार बच्चा हुने–नहुने प्रारम्भिक जाँच ५/६ हजार रुपैयाँमा हुन सक्छ । सीधा यौनसम्पर्कबाट बच्चा नहुने भए सन्तान सुख प्राप्तिका लागि टेस्टट्युब बेबीसम्मको अवस्थामा पुग्दा लाखौं रुपैयाँ खर्च लाग्छ । ‘सन्तान नहुँदा व्यक्ति ठूलो तनावमा हुन्छ, निःसन्तान दम्पतीलाई परीक्षण तथा टेस्टट्युब बेबीसम्म चाहिने अवस्थामा राज्यले सहुलियत दिनुपर्छ,’ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालले भने।

प्रकाशित: ८ जेष्ठ २०७५ ०१:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App