७ वैशाख २०८१ शुक्रबार
समाज

सरकारी सवारी साधन सदुपयोगसम्बन्धी कार्यविधि निर्माण

रसुवा– जिल्ला प्रशासन कार्यालय रसुवाले ‘सरकारी सवारी साधनहरुको सदुपयोग सम्बन्धी कार्यविधि २०७५’ निर्माण गरेको छ । 

जिल्लास्थित सरकारी कार्यालयमा रहेका सरकारी सवारी साधनहरु व्यवस्थितरूपमा सञ्चालन गर्नका लागि कार्यविधि निर्माण गरिएको हो । कार्यविधिले सरकारी स्रोत साधनको समुचित प्रयोग गरी सार्वजनिक खर्चलाई मितव्ययी वनाउन सहयोग पुग्ने कार्यालयले जनाएको छ । 

कार्यविधि कार्यान्वयनका लागि जिल्ला समन्वय समिति, गाउँकार्यपालिका र सबै सरकारी निकायलाई आइतबार कार्यविधि पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । 

‘हामीले नयाँ कार्यविधि निर्माण गरेका छौं,’ प्रजिअ पौडेलले भने, ‘कार्यविधि कार्यान्वयनको अवस्थाबारे नियमित अनुगमन गरिनेछ ।’ 
कार्यविधिमा सरकारी कार्यालयहरुको सवारी साधन व्यवस्थापन, स्थानीय तहका सरकारी कार्यालयहरुको सवारी साधन व्यवस्थापन र अनुगमन तथा नियमन व्यवस्था गरी तीन भाग राखिएको छ । 

सरकारी सवारी साधन विदाको दिनमा सञ्चालन गर्न नपाइने, कार्यालयको काममा मात्रै सवारी साधनको प्रयोग गर्नुपर्ने, सवारी साधन प्रयोगसम्बन्धी लगबुक सबै कार्यालयले अनिवार्यरूपमा राख्नुपर्ने कार्यविधिमा उल्लेख छ । 

कार्यसम्पादनको सिलसिलामा सरकारी सवारी साधन लिएर जिल्ला बाहिर जानुपर्ने अवस्थामा यात्रा गर्नुपर्ने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्नुपर्ने र समयावधिमा फर्कन नसकेमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउनुपर्ने छ । 

एकै पटक दुई वा दुईभन्दा बढी सरकारी अधिकारीहरु जिल्लाभित्र वा जिल्ला बाहिर एउटै गन्तव्यमा जानुपर्ने अवस्थामा सम्भव भएसम्म एउटै सवारी साधन प्रयोग गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । 

स्थानीय तहका सरकारी कार्यालयहरूको सवारी साधन व्यवस्थापनका लागि सवारी साधनको अद्यावधिक गर्ने, आवश्यकताका आधारमा मात्र सरकारी सवारी साधन सञ्चालनको सुनिश्चितता गर्नुपर्ने, सार्वजानिक विदाको दिन प्रयोग भएका सरकारी सवारी साधनहरुको विवरण स्थानीय तहले अद्यावधिक गरी राख्नुपर्ने व्यवस्था गरिएको छ । 

सार्वजनिक विदाको दिन प्रयोग भएका सबै सरकारी सवारी साधनहरु अनुमति लिइ सञ्चालन भए वा नभएको सम्बन्धमा जिल्ला भित्रका प्रहरी चेकपोष्ट र ट्राफिक प्रहरीबाट चेकजाँच हुने कार्यालयले जनाएको छ ।

अनुमति नलिइ जिल्ला वाहिर जान लागेका सवारी साधनहरुलाई ट्राफिक प्रहरी र प्रहरी चेकपोष्टमा रहेका सुरक्षाकर्मीहरुले फिर्ता गरिदिने उनले बताए । 

प्रकाशित: ७ जेष्ठ २०७५ ०३:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App