८ आश्विन २०७७ बिहीबार
समाज

‘पानी नपाएर थुक निल्यौँ तर साइकललाई ब्रेक लगाएका छैनौँ’

साइकलयात्राको क्रममा भेषबहादुर कँडेल र युवराज मैनाली ।

पोखरा– दुई वर्ष भयो, पर्वतका भेषबहादुर कँडेल र झापाका युवराज मैनालीको साइकल यात्रा। पर्वतको फलेवास नगरपालिका ११ पाङराङका कँडेल र झापाको कन्काईका मैनाली, प्रदेश नं. ४ र १ का यी दुई युवाहरु अहिले अमेरिकामा छन्। ४२ औँ देश साईकलमा घुमिसकेका उनीहरु यसपछि क्यानडा जानेछन्। ५ वर्षका विश्वका १५० देश पुग्ने उनीहरुको लक्ष्य छ।

यो उनीहरुको पहिल्यैदेखिको योजना भने होइन्, पुरानै मित्रताको हिसाबले पनि यी दुई प्रदेशका दुई युवाहरु नजिकिएका पनि होइनन्। सामान्य घटनाले उनीहरुलाई विश्वव्यापी अभियान सञ्चालन गर्न जागरुक बनाएको पनि होइन।

यो त्यो दिनको घटना हो, जुन दिन नेपालमा विनाशकारी महाभूकम्प आएको थियो। त्यो मिति २०७२ साल वैशाख १२ गते हो। भूकम्पपछि नेपालमा ठुलो मानवीय, भौतिक, आर्थिक, सांस्कृतिक क्षति भयो।

भत्किएका अस्पतालमा बिरामीहरु छटपटाउन थाले। मर्नेहरु त मरिहाले, तर घाइते भएकाहरुले पनि समयमा उपचार पाउन सकेनन्। रगत अभावकै कारण कैयौँको ज्यान गुम्यो, गुम्ने स्थिती थियो। यो भयावह अवस्थाका साक्षी बनेका कँडेल र मैनालीको मनले ठुलो योजना सोच्यो। दूरगामी र मानवीय ज्यान बचाउने अभियान बनायो। र, त्यो अभियान थियो, रगत अभावले कसैको ज्यान नगुमोस् भन्ने सन्देश दिनको लागि थालनी गरिएको, ‘रक्तदान गरौँ, जीवन बचाऔँ’ नारासहित त्यो पनि साईकलयात्रा मार्फत।

फलस्वरुप, अभियानलाई सार्थकता दिन उनीहरुले भूकम्पको केही महिना पश्चात नै मेची महाकाली अभियान गरे। देशका सबै जिल्लामा पुगेर उनीहरुले यो सन्देशलाई प्रचारप्रसार गरे।

साइकलमा नेपाल भ्रमणपश्चात यो अभियानलाई विश्वव्यापी बनाउनुपर्ने सोचसहित उनीहरु अहिले विश्व भ्रमणकै क्रममा पश्चिमी महादेश अमेरिकामा यो सन्देश प्रवाह गर्दैछन्। एसियाका दर्जनौँ मुलुक, युरोप पश्चात यतिबेला उनीहरु अमेरिकाका राज्यमा साईकलमा घुमेरै रगतको महत्व बुझाउँदैछन्।

सन्देश फैलाउनु र मानवीय ज्यानको सुरक्षाको लागि अभियान थालनी गर्नु राम्रो हो, यसलाई निरन्तरता दिनको लागि आर्थिक सहयोग कसरी जुटेको छ त? यो प्रश्नमा साईकलयात्री कँडेलले भने, ‘हामीलाई विदेश स्थितका नेपाली प्रवासी नेपाली संस्था, राजनीतिक दलका भातृ संघसंगठन, व्यक्तिगत र संस्थागत सहयोग मिलिरहेको छ।’

४२ देश घुमिसक्दाका केही अनुभवबारे उनी सुनाउँछन्, ‘रगत मात्र यस्तो पदार्थ हो, जसबाट एक मानिसले अर्को मानिसको ज्यान बचाउन सक्दछ, वैज्ञानिकहरुले पनि कृत्रिम रगत उत्पादन गर्न सकेका छैनन्, भूकम्पको बेला धेरै मानिसहरु समयमा नै रगत नपाएका कारण अकाल मृत्यु वरण गरे, त्यसपछि नै हामीले अभियान सुरु ग¥यौँ।’

उनले थप जानकारी दिए– यो अभियान कुनै देश र भौगोलिक सीमाभित्रको समस्या होईन, विश्वमा जति जीवित छन्, तिनिहरुलाई पनि रगतको अभाव पर्दछ, त्यसैले यो अभियानलाई विश्वव्यापी बनाएका हौँ। हामीले अमेरिकाका ८ राज्य भ्रमण गरिसक्यौँ, यहाँ नेपालीभाषी धेरै व्यक्तिहरुले हामीलाई सहयोग गर्नुभएको छ। तर, चीन, ताईवान, भियतनाम, कम्बोडिया जस्ता मुलुक भ्रमण गर्दा हामीलाई भाषाको निकै समस्या प¥यो। यतिसम्म कि हामीसँग पैसा थियो, होटेल थियो तर भाषा नबुझेकै कारण खाना खान समेत समस्या भयो, त्यतिबेला हामीले गुगलबाट भाषा ट्रान्सलेट गरेपछि खाना खायौँ। मकाउ, हङकङमा मिडियाहरुले अन्तर्वार्ता लिन खोजे हामीले भाषा नबुझ्दा दोभाषेको प्रयोग पनि ग¥यौँ।

उनी अगाडि सुनाउँछन्, पैदलै यात्रामार्फत पनि जान कठिन उकालीहरुमा साईकलै बोक्यौँ, अनकन्टार जंगलमा कैयौँ रात भोकै बितायौँ, पानी समेत पिउन पाएनौँ, त्यतिबेला हामीले थुक निल्यौँ र अगाडि बढ्यौँ। सबै ठाउँमा नेपालीहरुको प्रवासी संस्था पनि छैनन्, त्यतिबेला हाम्रो साईकलमा आर्थिक ब्रेक लाग्थ्यो, भोकै सुत्थ्यौँ।

अहिले उनीहरु चार महिनादेखि अमेरिकामा छन्। अघिल्लो महिना नै ४३ औँ देश क्यानडा जाने योजना भएतापनि प्राकृतिक अवरोध (चिसो) का कारण अर्को महिना मात्र अमेरिका छाड्ने कँडेलले बताए। अमेरिकाको मेरिल्याण्डमा हालसालै उनीहरुलाई एचपी भण्डारी, प्रवीण भण्डारीले आर्थिक सहयोग गरेका छन्। यस्तै क्यालिफोर्नियामा उनीहरुलाई सूर्य शर्मा, गजेन्द्र पाठक सहितका नेपालीहरुले सहयोग गरि उनीहरुको यात्रालाई अगाडि बढाउन हौसला दिएका छन्।

कँडेलले भने, अभियान महत्वाकांक्षी छ, नेपालीले सुरु गरेको अभियानलाई सफल बनाउन नेपालीहरुले नै सहयोग गर्नुपर्छ, यो देशको पनि गौरवको कुरा हो।

प्रकाशित: ६ जेष्ठ २०७५ १७:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App