७ वैशाख २०८१ शुक्रबार
समाज

दाइजोको सकस : हत्या, आत्महत्यादेखि सम्बन्ध विच्छेदसम्मका घटना बढ्दै

वीरगन्ज – एक – पर्साको पोखरिया नगरपालिका–९ का रघुनाथ साहकी २२ वर्षीया छोरी मधुमाला कुमारीको बिहे २०७१ मा पर्सौनीबिर्ताका मनोज साह तेलीसँग धुमधामसाथ भएको थियो । तीन वर्ष नबित्दै रघुनाथ छोरी मधुमालाको ज्वाइँ र परिवारजनले हत्या गरेको भन्दै न्यायको खोजीमा जिल्ला अदालतदेखि प्रहरीसम्म धाइरहेका छन् । उनी दाइजोका कारण छोरी मारिएको बताउँछन्।

दुई

वीरगन्ज महानगरपालिका–३१ इस्लामपुरकी २० वर्षीया अन्जुम आराको गत वैशाख १८ मा घरमै शंकास्पद अवस्थामा लास भेटियो । दाइजो नपाएको निहुँमा परिवारका सदस्यले घाँटी थिचेर हत्या गरेको माइती पक्षको आरोप छ । छोरीसँग ज्वाइँले फोन गर्न लगाएर ‘बुलेट’ मोटरसाइकल माग्न भनेको र नदिए मार्ने धम्की दिएको छोरीले बताएको अन्जुमकी आमा रोशन जहानले जानकारी गराइन्।

तीन
वीरगन्ज महानगरपालिका–२३ बस्ने वर्ष १८ की रबिता कुमारीको पर्सा बहुदरमाई–८ का शिवदयाल कुमारसँग विवाहको तयारी भई निमन्त्रणा कार्ड वितरण भयो । सोही अवस्थामा केटा पक्षले दाइजो माग बढायो । रबिताका बुबाले दाइजो दिन असमर्थता देखाउँदा केटा पक्षले विवाह नगर्ने धम्की दिए । बाबुआमाको तनाव सहन नसकी रबिताले वैशाख ६ मा झुन्डिएर आत्महत्या गरिन्।

दाइजोले निम्त्याएका अप्रिय घटनाका केही उदाहरण हुन् यी । अहिले तराईमधेसमा बिहेको सिजन छ । कतै बिहेको रमझम चलिरहेको छ । कतै दाइजोका कारण मृत्यु निम्तिएको छ । परिवार शोकमा डुबेको छ । ‘वैवाहिक सम्बन्ध धरापमा छन् । दाइजोले समाजलाई असाध्य रोगले जस्तै गाँजेको छ,’ सामाजिक अभियन्ता तबरेज अहमदले भने, ‘हिन्दु, मुस्लिम, धनी, गरिब, शिक्षित, अशिक्षित सबैतिर समस्या बराबर छ।’

जिल्ला प्रहरी कार्यालयअन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रकी इन्चार्ज तनुजा श्रेष्ठका अनुसार कार्यालयमा आउने सयमध्ये ६० भन्दा बढी उजुरी दाइजोसँग जोडिएका हुन्छन्।

मधुमालाका बाबुले मनोजलाई छोरी बिहे गरेर दिँदा मागअनुसार दाइजो दिएका थिए । ‘मेरो क्षमताअनुसार दिएको थिएँ । जन्तीको स्वागतमा पनि सकेसम्म कमी हुन दिइनँ । बिहेपछि छोरीको केही दिन सामान्य रुपमै बित्यो तर पछि थप दाइजोको माग आउन थाल्यो । बिस्तारै छोरीमाथि कुटपिट हुन थाल्यो,’ रघुनाथले भने, ‘उसको गाउँमा पञ्चभलाद्मी बसाएर कयौं पटक पञ्चायती भयो । उनीहरुले अबउपरान्त कुटपिट नगर्ने बाचा गर्थे । फेरि केही दिनपछि घटना दोहोरिन्थ्यो ।’ मधुमाला गत माघ २७ गते बिन्दवासनी गाउँपालिका–१ स्थित घरमै मृत फेला परेकी थिइन्।

दाइजोका कारण विभिन्न किसिमका अप्रिय घटना भइरहेकाले यो समस्या निर्मूल गर्न जागरण आवश्यक रहेको अभियन्ता प्रकाश थारू बताउँछन् । ‘छोरीचेलीले विवाहपछि पतिको घरमा उत्पीडन खप्नुपरेका घटना कति छन् कति ?’ थारूले भने।

मधुमालाको हत्या भएको माइती पक्षको आरोप छ । उनका माइतीले माघ २८ गते जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएका थिए । घटना अनुसन्धानमा प्रहरीको भूमिकाबारे पीडित पक्षको चित्त बुझेको छैन । प्रहरीले सुरुमा पोस्टमार्टम रिपोर्ट आएपछि ‘हत्या वा आत्महत्या’ हो भनी खुल्ने बताएको थियो । तर प्रहरीले पोस्टमार्टम रिपोर्ट देखाउन इन्कार गरेको पीडित पक्षको गुनासो छ।

वीरगन्ज महानगरपालिका–३१ इस्लामपुर टोलकी २० वर्षीया अन्जुम आराको घटनामा भने प्रहरीले आरोपितलाई नियन्त्रणमा लिएको छ । कतारमा रहेका ज्वाइँ अफरोजले छोरीलाई फोन गरेर बुलेट मोटरसाइकल माग्न पटकपटक दबाब दिएको अन्जुमकी आमा रोशन जहानले बताइन् । ‘बिहे हुँदा १० कठ्ठा खेत बेचेर चार लाख रुपैयाँ दाइजो दिएकै हुँ । पछि बुलेट मोटरसाइकल मागेर छोरीलाई यातना दिन थाले । मैले मोटरसाइकल दिन नसक्दा छोरीले ज्यान गुमाउनुपर्यो,’ रोशनले भनिन्।

अन्जुमलाई यसअघि पतिले घरबाट निकाला गरेका थिए । त्यसपछि गाउँमै पञ्चायती बसाएर छोरीलाई घर पठाएको अन्जुमका बाबु मुस्तकिम देवान बताउँछन् । बुलेट मोटरसाइकल नपाएको निहुँमा छोरी अन्जुमको सासू, ससुरा र परिवारका अन्य सदस्य मिलेर हत्या गरेको मुस्तकिमको आरोप छ । प्रहरीले अन्जुमका परिवारका चार जनालाई नियन्त्रणमा लिएको छ । अन्जुमका ससुरा ५० वर्षीय कमरुद्दिन फकिर देवान, सासू ४५ वर्षीया हुसेन बानो खातुन, नन्द अंगुरी खातुन र फुपूसासू ३५ वर्षीया जमिला खातुनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले जाानकारी दिए।

तराईमा विवाहित महिलाले आत्महत्या गर्नुका पछाडि दाइजो प्रमुख कारक रहेको प्रहरी नायब उपरीक्षक लिम्बुले बताए । दोषीहरुलाई कानुनको दायरामा ल्याई कारबाही भइरहेको उनले जानकारी दिए । ‘वीरगन्ज २३ (पर्सौनी) बस्ने वर्ष १८ की रबिताकुमारीको बहुदरमाई नगरपालिका–८ का शिवदयाल कुमारसँग विवाहको तयारी भई निमन्त्रणा कार्डसमेत वितरण भइसकेको र दाइजोबिना विवाह नगर्ने भनी केटा पक्षले भनेपछि तनावका कारण उनले गत ६ गते झुन्डिएर आत्महत्या गरेकी थिइन्,’ लिम्बुले भने, ‘केटा पक्षलाई सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ अनुसार मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढेको छ।’

बहुदरमाई नगरपालिका–३ की सन्ध्या कुमारीको वीरगन्ज–२० का मनोज महतोसँग विवाहका लागि निमन्त्रणा कार्ड वितरण भइसकेपछि केटाका दाजु अशोक महतोले दाइजो नदिएमा विवाह नगर्ने भनी धम्की दिएको घटनामा पनि सोही ऐनअनुसार मुद्दा दर्ता भएको लिम्बुले बताए । लिम्बुले भने, ‘आफ्नो जिम्मेवारी पन्छाउन सानै उमेरमा बिहे गरिदिने, पछि पतिको घरमा दाइजोको माग हुने अझ त्यस महिलाबाट छोरी जन्मिइन् भने झन् दुव्र्यवहार हुने घटना सामान्य हुन् । यसले गर्दा विवाहित महिला आत्महत्या गर्न बाध्य हुन्छन्।’

दाइजोका कारण महिला पीडित भएका केही घटना भने प्रहरीसम्म पनि पुग्दैन । वीरगन्ज बजार क्षेत्रमा एउटा राजनीतिक घरानाकी बुहारी अहिले पतिको दुव्र्यवहार सहन नसकी माइतीमा शरण लिइरहेकी छन् । पतिले व्यवसायमा घाटा लागेपछि ‘माइतीबाट रकम लिएर आउनू’ भन्न थालेपछि गत वर्ष उनीहरुको सम्बन्धमा मनमुटाव भएको थियो । ‘मेरो वैवाहिक जीवन जोगिन्छ कि भन्ने अझै आस छ । केही आफन्त कुुरा मिलाउन प्रयास गर्दै हुनुहुन्छ,’ एक छोरीकी आमा उनले भनिन्, ‘दोधारमा छु । न्यायका लागि प्रहरी र अदालतमा पनि जान सकेकी छैन।’

महिला हिंसाको प्रमुख कारण दाइजो हुने गरेको पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुन बताउँछिन् । ‘प्रतिष्ठित र पढेलेखेको भनिएको परिवारमा पनि समस्या देखिन्छ,’ उनले भनिन्, ‘बाहिर नआएका घटना त कति पो छन्।’

दाइजोका कारण वैवाहिक सम्बन्ध बिग्रिएर सन्तानको भविष्य पनि बिच्चलीमा परेका धेरै घटना रहेको महिला अधिकार मञ्च पर्साकी अध्यक्ष राजकुमारी उपाध्याय बताउँछिन् । उनी भन्छिन्, ‘कमै उमेरमा विवाह हुने त्यसपछि बच्चा जन्मिहाल्ने, पछि त्यो बच्चाकी आमासँग बुवाको सम्बन्ध बिग्रेका कारण बच्चाको भविष्य अन्योलमा परेका घटना धेरै छन्।

प्रकाशित: ६ जेष्ठ २०७५ ००:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App