बैतडी – विकास भनेको देखिने हुनुपर्छ भन्दै बैतडीका स्थानीयतहले अधिकांश बजेट सडक निर्माणमा लगाएका छन्। जिल्लाका १० वटै स्थानीयतहले पहिलो प्राथमिकताका साथ धमाधम सडक काटन थालेका छन्।
प्राविधिक इष्टमेट, वातावरणीय प्रभाव मुल्यांकन नगरी डोजरले काटिका सडक जोखिमपूर्ण बनेका छन्। जथाभावी सडक निर्माणले भु–क्षय र पहिरोको जोखिम बढन थालेको छ। स्थानीयतहको सडक मोहले बस्ती व्यवस्थापन योजना नबनाएर डोजर र सडकमा मात्रै बढी रकम खर्चिएका छन्।
संघीयतापछि गाउँमा बढी बजेट आएपछि बजेट कार्यान्वयनको योजना बनाउन नसक्दा अधिकांश स्थानीयतहले सडक, स्काभेटर, डोजर खरिदमा लगाएका छन्। अधिकांश स्थानीयतहले विकास बजेटबाट मेसिन किनेका छन्। गरिबीको रेखामुनि रहेका परिवारलाई रोजगारी सिर्जना हुने बजेट डोजर उत्पादन गर्ने कम्पनी र तेलमा खर्च गरेका हुन्।
स्थानीयको जीवनस्तर सुधार गर्ने, रोजगारीको सिर्जना गर्ने र आर्थिक विपन्न वर्गको हितमा नीति बनाउन सक्ने अधिकार सम्पन्न स्थानीयतहले सडक निर्माणमा बजेट र समय खर्चेको बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्ले बताए।
स्थानीयतहले डोजर भित्र्याएपछि मजदुरको रोजगारी खोसिएको छ। ज्यालामजदूरीमा दैनिक गुजारा गर्दै आएका स्थानीय रोजगारी नपाएर समस्यामा छन्। नगर तथा गाउँपालिकाले मुल सडकमा मेसिन प्रयोग गरे पनि ग्रामीण तथा सहायक सडकमा मजदूरबाट काम गर्न नसक्दा रोजगारी खोसिएको मजदूरहरूले गुनासो गरेका छन्। गाउँमा हुने विकास निर्माणका काममा मेसिनको प्रयोग हुन थालेपछि मजदुरी गरेर गुजारा गर्ने सर्वसाधारण रोजगारीको लागि भारत पस्न थालेका छन्।
धमाधम खनिदै आएका सडकको नत डिजाइन इष्टमेट छ नत वातावरणीय मुल्यांकन नै गरिएको छ। डोजरले सड खन्दा खेतीयोग्य जमिन, वनजंगल र पानीका मुहान सुक्न थालेको सिगास गाउँपालिका–३ का कृष्णसिंह धामीले बताए। प्रत्येक बस्ती र टोलमा सडक पु¥याउने भन्दै भुगोग, जनसंख्यालगायत कुनै अध्ययन नै नगरी सडक काटिएका छन्। कतिपय सडक प्राविधिक रुपमै उपयुक्त छैनन। प्राविधिक बिना डोजर चालक नै प्राविधिक बनी काटिएका अधिकांश सडक जोखिमपूर्ण छन्।
स्थानीयतहले बस्ती व्यवस्थापनको योजना नबनाएर सडक काटिरहेको सडक डिभिजन प्रमुख इन्जिनिय अमितकुमार श्रेष्ठले बताए। बस्ती व्यवस्थापनको योजना बनाएर सडक निर्माण गर्दा दीगो हुने उनको तर्क छ। सडक सम्बन्धि राय सल्लाह लिन कुनै पनि स्थानीयतहले सल्लाह नगरेको इन्जिनियर श्रेष्ठको भनाइ छ।
सडक निर्माण गर्दा प्राविधिकले विस्तृत अध्ययन गरेर डिपिआर तयार गर्दा न्यूनतम एक सय २० मिटर सीधा देखिने गरेर मात्र सडकको घुम्ती राख्नुपर्ने डिभिजन प्रमुख श्रेष्ठको भनाइ छ। तर बैतडीका स्थानीयतहले त्यो मापदण्ड पूरा गरेका छैनन। प्राविधिक कुराको बारेमा स्थानीयतहका प्रमुखलाई ज्ञान नहुनु अनौठो नभए पनि स्थानीयतहले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडकका विषयमा सम्बन्धित कार्यालय वा शाखासँग समन्वय गर्न सकेका छैनन।
यसैबीच स्थानीयतहले बस्ती व्यवस्थापन नगर्दा खेतीयोग्य जमिनमा सडक र घरघडेरी बन्न थालेका छन्। खेतीयोग्य फाँट नासिँदै गएपछि कृषिको लागि उपयुक्त मानिएको जमिन मासिन थालेको छ। जिल्लाको पुर्चौडी,मेलौली, पाटन नगरपालिकालगायत अन्य गाउँपालिकामा यो समस्या बढदै गएको छ।
पुर्चौडी नगरपालिका–१, हाटको खेतीयोग्य फाँटमा घर बन्न थालेका छन्। धान गहुँ प्रशस्त फल्ने, लोली, कफलखाना र खडीखेतको सयौं रोपनी उर्वर फाँटमा धमाधम पक्की घर बन्न थालेपछि खेतीयोग्य जमिन मासिँदै गएको छ।
प्रकाशित: १ जेष्ठ २०७५ ०५:५२ मंगलबार