१६ चैत्र २०८० शुक्रबार
समाज

गर्मीसँगै स्क्रब टाइफसका रोगी बढे

काठमाडौं – तीन वर्षयता देशका विभिन्न भागमा देखिएको स्क्रब टाइफसका रोगी यसपालि फेरि भेटिएका छन्। तीव्र, ज्वरयुक्त एवं संक्रामक यो रोग जाडो सकिनेबित्तिकै देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। मूलतः दक्षिणपूर्व एसियामा देखिने स्क्रब टाइफसको संक्रमण काठमाडौं र गोरखाका बिरामीमा देखिएको छ। संक्रमणमा परेका दसजना बिरामी एक महिनायता विभिन्न अस्पतालमा उपचार गराई घर फर्केका छन्।

चिकित्सकका अनुसार स्क्रब टाइफस रोग ओरेन्सिया सुसुगमुसी नामक परजीवीको संक्रमणले लाग्ने गर्छ। यो परजीवीलाई एक प्रकारको माइट जातिको सुक्ष्म किराले सार्ने गर्छ। माइटको टोकाइबाट ओरेन्सिया सुसुगमुसी परजीवी मानिसको शरीरभित्र पसेपछि रगतमा संक्रमण हुन्छ भने टोकेको भागमा बिस्तारै कालो खाटा बस्न थाल्छ। टोकेको पाँचदेखि बीस दिनभित्र कडा ज्वरो आउने र ज्वरो नियन्त्रण नहुने जस्ता लक्षण देखिन्छन् । मानिस यो रोगको आकस्मिक बाहक हुन्।

स्क्रब टाइफसको संक्रमणमा परेका सातजना त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र तीनजना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गरी घर फर्केका छन्। जटिल स्वास्थ्यस्थितिमा उनीहरू अस्पतालमा भर्ना भएका थिए। उपचारपछि उनीहरू सामान्य अवस्थामा घर फर्केको चिकित्सकले जनाए। ‘कडा ज्वरो आएपछि उनीहरू गोरखाबाट रिफर भएर आएका थिए,’ शिक्षण अस्पताल आकस्मिक कक्षका सहायक प्रमुख योगेन्द्र शाक्यले भने।

‘उपचारमा आएका मध्ये एकजनालाई भर्ना गरेरै उपचार गर्नुपरेको थियो,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा.शेरबहादुर पुनले भने । जाडो सकिनेबित्तिकै बिरामी उपचारमा आउन थालेकाले यसको प्रकोप थप बढ्न सक्ने चिकित्सकको अनुमान छ। ‘ज्वरो आएका बिरामीमा परीक्षण गर्दा स्क्रब टाइफस संक्रमण पाइएको हो, यसबाट संक्रमित भएकाहरूको संख्या अझै हुन सक्छ,’ डा.पुनले भने।

चिकित्सकका अनुसार माइट जातिको सुक्ष्म किरा झाडीमा बढी टोक्ने गर्छ। गर्मीयाममा शीतलताको खोजीमा मानिस झाडीतिर जाने भएकाले यो किराको टोकाइमा पर्ने गर्छन् । गत वर्ष पनि देशभर दर्जनौं मानिस यो रोगको संक्रममा परेका थिए। गत वर्ष स्क्रब टाइफसबाट संक्रमित भएका मध्ये १० प्रतिशत बालबालिका थिए।

फोहोरमैला थुप्रिने ठाउँ र झाडीमा स्क्रब टाइफसको परजीवी सार्ने माइट पाइन्छन्। यद्यपि बलौटे, अद्र्धशुष्क र पहाडी मरुभूमि क्षेत्रमा पनि यो रोगको प्रकोप देखिएको छ । माइटले टोकेको पाँच दिनपछि ज्वरो आउने, शरीरमा रातो बिबिरा देखिने वा नदेखिकन टोकेको भागमा कालो खाटा बस्ने, कामज्वरो आउने, ग्रन्थी सुन्निने, आँखा रातो हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिन्छन्। यीमध्ये कुनै न कुनै लक्षण देखिएको अवस्थामा तुरुन्त स्वास्थ्य संस्थामा उपचार गर्नुपर्ने चिकित्सकको सुझाव छ । यो संक्रमण भएपछि कलेजोको काम गर्ने क्षमता घट्ने, स्नायु प्रणालीमा पर्ने असरका कारण विभिन्न अंग बिगे्रर मानिसको मृत्यु समेत हुने गर्छ।

रगत परीक्षणबाट रोगको पहिचान गर्न सकिन्छ। परीक्षणबाट यो रोग प्रमाणित भएमा बिरामीलाई डक्सिसाइक्लिन नामक एन्टिबायोटिक औषधि दिएपछि निको हुने गरेको चिकित्सक बताउँछन्।

प्रकाशित: २८ वैशाख २०७५ ०३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App