१६ चैत्र २०८० शुक्रबार
समाज

‘प्रभु’ को राज्य !

तस्बिर : देवेन्द्र/नागरिक

दाङ – लमही बजारछेउमा चारतले ठूलो घरमा डेढ महिनाअघि ठूलो बोर्ड झुन्ड्याएर घोषणा गरियो ‘प्रभुको राज्य ।’ बोर्डमा लेखिएको थियो, यहोवा (परमेश्वर) को राज्य । बाबइल अध्येताका अनुसार यहोवाको अर्थ परमेश्वर हो ।

यहोवा राज्य घोषणा भएपछि त्यो बस्ती आफ्नो कब्जामा परिसकेको भन्ने बाइबलमा उल्लेख छ । यो राज्यमा अन्य धर्म सम्प्रदायका नागरिकलाई प्रवेश निषेध गर्नु भन्ने पनि बाइबलमा उल्लेख रहेको जानकारहरु बताउँछन् । छिमेकीहरुले प्रभुको राज्य घोषणाको चर्को विरोध गरे । विरोधपछि बोर्ड हटाइएको छ ।

प्रभु राज्यका शासकहरु कहाँ बस्दारहेछन् त ? यो घरदेखि झन्डै पाँच सय मिटर पूर्वमा रहेको अत्याधुनिक घर शासकहरुको निवास रहेछ । रातो रङको तीनतले घरमा पुग्दा एक विदेशी युवक (प्रभु राज्यका शासकमध्येका एकजना) गेटबाहिर निस्किए ।

आफूलाई जापानी नागरिक भनेर परिचय दिएका उनी नेपाली भाषा अस्पष्ट बोल्दा रहेछन् । पत्रकारको परिचय थाहा पाउनसाथ गोरो वर्णको उनको अनुहार एकाएक कालो भयो । आफू निकै व्यस्त रहेको भन्दै उनले गेटभित्र छिर्न हतार गरे । ‘म एकदम हतारमा छु, काममा निकै व्यस्त छु,’ उनले भने, ‘तपाईंलाई समय दिन सक्ने अवस्था मँसग छैन ।’ इसाई धर्म बारेमा सोध्नासाथ उनले जबाफ दिए, ‘म नेपाली संस्कृति मन पराउने भएकाले यहाँ बस्न थालेको हुँ । संगीतप्रेमी म यहीं बसेर संगीत सिकिरहेको छु ।’ छोटो कुराकानीका क्रममा उनले आफ्नो परिचय दिनै मानेनन् । ‘नचिनेको मान्छेलाई परिचय दिने जापानी संस्कारमा हुन्न, म मेरो संस्कारविरुद्ध जान्नँ’ भन्दै उनी घरभित्र छिरे।

संगीत अभ्यासका लागि जापानबाट लमहीमा आएको बताएका ती युवकको दिनहुँको एकएक चर्तिकला नजिकैका पसलेले देखिरहन्छन् । को हुन् उनी ? पसल सञ्चालिकाले भनिन्, ‘क्रिस्चियन धर्म प्रचारमा आएका हुन् रे, दिनहुँ धर्मको पर्चा बाँडेर गाउँगाउँ हिँड्छन् ।’ यो घर विगत दुई वर्षदेखि प्रभुका शासकहरुको आश्रयस्थल बनेको रहेछ । बेलाबेलामा घरमा विदेशी नागरिक फेरिइरहन्छन् । ‘कहिले को कहिले को, नयाँनयाँ अनुहारका विदेशी आइरहन्छन्’, उनले भनिन्, ‘कोही कोरियाका हौँ भन्छन्, कसैले जापानी हौं भन्छन् ।’

प्रभुको राज्य र प्रभुका विदेशी शासकहरुको थलो पहिल्याएपछि प्रभुको शासनबारे विस्तृत जानकारी लिँदै जाँदा बग्रेल्ती अमानवीय घटनाहरुले यो पुष्टि ग¥यो, देउखुरीमा प्रभुको शासन जबरजस्ती चलिरहेको रहेछ ।
पहिलो उदाहरण भेटिइन्, लमही नगरपालिका–५ की गंगा खड्का । केही समयअघि बिहानै घरको पेटी लिपपोत गरेर बसेकी थिइन् । एक महिला नजिकै आइन् । उनले त्यही लिपेको पेटीमै पिसाब गरिदिइन् । पेटीमा पिसाब गरिदिने ती महिला प्रभुकी अनुयायी रहिछन् ।

गंगाको घरमा गरिएको त्यो हर्कतको मूल कारण रहेछ उनी हिन्दु हुनु । ‘किन घरमा पिसाब फेरिदिएको भनेर गाली गरें,’ खड्काले भनिन्, ‘ती महिलासँगै आएका अर्का विदेशीले तिम्रो घर अब शुद्ध भयो भने ।’ कारण गंगा हिन्दु भएका कारण उनको घरमा सैतानको बास रहेको र प्रभुका अनुयायीले पिसाब गरिदिएर घर पवित्र बनाइदिएको भन्दै ती विदेशीले सम्झाउन खोजे । तर गंगाले रिस थामिनन् । अन्ततः नजिकै रहको चर्चका पास्टर आएर त्यो विवाद साम्य पारिदिए । ‘पास्टरले माफी मागे,’ उनले भनिन्, ‘घरमै आएर पिसाब फेरेर घर पवित्र भयो भन्ने कस्तो धर्म हो ?’खड्काले अर्को यस्तै घटना पनि भोगेकी रहिछन् । तीन छोरामध्ये उनी कान्छा छोरा सुनिलसँग बस्दै आएकी थिइन् । विवाहित छोरा होटेल व्यवसाय गर्न दाङ कपिलवस्तुको सीमा क्षेत्र धानखोला पुगे । यसै क्रममा सुनिलकी पत्नी इसाई धर्ममा लागिन् ।

अब सुनिललाई पनि धर्म परिवर्तनको दबाब आइप¥यो । ‘बाबु मरेको बेला काँधमा बोकेर लगेर अन्त्येष्टि गर्ने मै हुँ,’ धर्म परिवर्तनको प्रस्ताव अस्वीकार गरेको छोरालाई उधृत गर्दै गंगाले भनिन्, ‘म कुनै पनि हालतमा क्रिस्चियन बन्दिनँ भनेर अडान लिइरहेको थियो ।’ गत फागुनमा गंगाकहाँ सुनिल घाइते भएको खबर आमा आइपुग्यो । रक्ताम्य अवस्थामा उनलाई लमहीस्थित अस्पताल ल्याइएको रहेछ । ‘टाउकोमा धेरै ठाउँ काटिएको थियो,’ उनले भनिन् ‘शरीरमा पनि चोटैचोट थियो ।’ हतारहतार उनै आमाले छोरालाई एम्बुलेन्समा राखेर उपचारका लागि नेपालगन्ज पु¥याइन् । सुनिले व्यहोर्नुपरेको यो यातना प्रभुबाटै पाएका रहेछन् । ‘क्रिस्चियन नबनेको भनेर बुहारीले मरणासन्न हुने गरी हानेकी रहिछे,’ उनले भनिन्, ‘धन्न, नेपालगन्जमा उपचार गरेर छोरा बाँच्यो।’

प्रहरीले घटनामा संलग्न रहेको भन्दै सुनिलकी पत्नीलाई नियन्त्रणमा लियो । गंगा आफैंले छुटाइन् । ‘सानी नातिनी छे, आमालाई प्रहरीले थुनेपछि धेरै रुन थाली,’ गंगाले भनिन्, ‘अनि आफैं गएर छुटाइदिएँ ।’ सुनिलले यो ज्यादती थेग्न सकेनन् । अन्ततः उनी अहिले प्रभुकै अनुयायी बनेका छन् । प्रभुको जबरजस्त शासनले छोरा सुनिल धर्म परिवर्तको बाध्यतामा परे । यता आमा गंगासँगको सम्वन्ध टुट्यो । ‘अस्ति घरमा आएको थियो, म बाँच्दासम्म मेरोछेउमा अनुहार नदेखाएस् भनेर पठाएकी छु,’ गंगाले भनिन्, ‘अहिले न आउजाउ, नत बोलीचाली कुनै सम्वन्ध नै छैन ।’

लमहीकोे कोलाही गाउँका मनोज चौधरी पनि प्रभुको शासनमा नराम्ररी फसे । अन्यायमा पारिएको भन्दै उनी उजुरबाजुरमा पनि उत्रिए । तर प्रभुको राज्यविरुद्ध सरकार उभिनै सकेन । मनोजलाई मोटरसाइकलमा आएका दुईजनाले घरबाहिर बोलाए । उनलाई मोटरसाइकलमा हालेर लगियो । अनि जबरजस्ती क्रिस्चियन बन्न लगाइयो । ‘तातो पानी टाउकोमा खन्याइदिएछन्, अनि रगतजस्तो रातो चिज पनि खुवाएछन्,’ स्थानीय एक गाउँलेले भने, ‘रगत खुवाएपछि मनोजले बान्ता गर्न थालेछ, अनि बेहोसै भएछ ।’ मनोजले आफूमाथि आइपरेको अन्यायबारे कुरा खोले । गाउँलेहरु न्याय खोज्नका लागि स्थानीय सरकारसमक्ष पुगे ।

लमही नगरपालिकामा परेको उजुरीलाई नगरपालिकाले भन्यो, ‘यो धर्मसँग जोडिएको विषय भएकाले प्रहरीमा पु¥याउनुस् ।’ पीडितले प्रहरीमै पुगेर उजुरी हाले । तर अहिलेसम्म यो घटनाबारे प्रहरीले एक्सनै लिन सकेन । ‘जबरजस्ती धर्म परिवर्तन गराउने यो अमानवीय व्यवहारविरुद्ध हामी प्रहरीसम्म पुग्यौं,’ ती गाउँलेले भने, ‘तर प्रहरीले अहिलेसम्म यो उजुरीका बारेमा कुनै एक्सन लिएको छैन ।’अनुयायी बढाउनका लागि प्रभुले सामुदायिक विद्यालयहरुलाई उत्तिकै तारो बनाएका रहेछन् । विद्यार्थीलाई उनीहरुले गरेका प्रयोगको अवस्था पत्ता लगाउन लमहीको कोलही गाउँस्थित कोलही माविमा पुग्दा अर्को घटना थाहा भयो ।

प्रभुको शासन त विद्यालयमा पनि सुरु भइसकेको रहेछ । कोलही माविका प्रधानाध्यापक रामप्रसाद खनाल भन्छन्, ‘हामीलाई त सामाजिक विषय पढाउनै मुस्किल पर्न थाल्यो ।’ सामाजिक विषय पढाउने प्रधानाध्यापक खनाललाई इसाई धर्म नै सबथोक भनेर पढाउनपर्ने बाध्यता विद्यार्थीबाट आइलाग्दो रहेछ । उनले गत वर्ष अध्यापनका क्रममा एक इसाई धर्मावलम्बी छात्रासँगको विवाद सुनाए । उनले सबै धर्मसंस्कृति बराबर हुन् भनेर पढाइरहेका थिए । बीचमै एक छात्रा उठेर इसाई धर्म सबैभन्दा माथि रहेको भन्दै यसलाई अन्य धर्मसँग बराबर भनेर परिभाषित गर्न नमिल्ने भन्दै कड्किइन् । ‘हामी शिक्षकहरुले कुनै एक धर्मलाई ठूलो वा सानो भनेर पढाउन मिल्ने कुरै भएन,’ खनालले भने, ‘तर ती छात्रा इसाईलाई किन ठूलो भनिनस् भनेर मसँग बाझिन्।’

यही विद्यालयका अर्का शिक्षक विष्णुप्रसाद भण्डारीलाई प्रभुको दबाब थेगिनसक्नुजस्तै बनिसकेको छ । लमही कान्छीरोडस्थित एक चर्च नजिकै उनको घर छ । चर्चदेखि दुई सय मिटर दुरीमा रहेको उनको घरमा प्रभुका अनुयायी दिनहुँजसो कुनै न कुनै बहानामा पुगिरहेकै हुन्छन् । बहाना अनेक भए पनि उद्देश्य एउटै हुन्छ ‘धर्म परिवर्तन ।’‘अहिलेसम्म मेरोयभन्दा बढी पटक इसाई धर्ममा आउनुस् भन्न आइसके होला,’ उनले भने, ‘चर्चनजिकै घर हुनुको सास्ती भोगिरहेको छ ।’

लमहीको कान्छीरोड नजिककैको नामविहीन चर्चमा पुग्दा एक बालिका त्यहाँबाट निस्कँदै थिइन् । उनी एक महिनासम्मको तालिम लिएर त्यहाँबाट निस्किएकी रहिछन् । ‘आज तालिम सकियो, अब अन्टीको घरमा जाँदैछु,’ लमहीदेखि धेरै पश्चिम सिक्टा गाउँकी बालिका एलिना कुमालले भनिन्, ‘एक महिनासम्म चर्चमै खाने बस्ने व्यवस्था पनि थियो । त्यहाँ बसेर धेरै कुरा सिकें ।’ तालिममा उनीसहित रोल्पा र सल्यानका गरी २३ जना बालबालिका सहभागी रहेछन् । सिक्टा गाउँमै रहेको सामुदायिक विद्यालयमा ८ कक्षामा अध्ययनरत एलिनाले प्रभुको अनुयायी बन्न तालिममा सहभागी भएको बताइन् ।

नयाँ शैक्षिक सत्र सुरु भएयता उनी अहिलेसम्म विद्यालय गएकी छैनन् । ‘भर्खर तालिम सकियो,’ उनले भनिन्, ‘अब घरमा गएर पढ्ने हो ।’ एक महिने तालिका क्रममा उनले ‘प्रभुको लीला’ बारे धेरै मोहक कथा सुन्न पाइन् । यो तालिमबाट उनलाई थप जिम्मेवारी दिइएको रहेछ, यो कथा सुनाएर सकेजतिलाई क्रिस्चियन बनाउनु । ‘आफूले सिकेको कुराका आधारमा सकेजतिलाई यो धर्ममा ल्याउनु भन्ने कुरा सिकाउनुभयो’, उनले भनिन्, ‘हेरौं, कतिसम्मलाई बनाउन सकिन्छ ?’

सरकारले धर्म परिवर्तन गराउनेलाई देशनिकाला गर्ने बताइरहे पनि देउखुरी क्षेत्रमा भने खुलेआम धर्म परिवर्तनको खेल भइरहेको छ । मूलतः यहाँ विदेशी नागरिकहरु यो अभियानमा सक्रिय छन् । जापान, कोरिया तथा अमेरिकाका नागरिक बताउने यी विदेशीहरु लमहीका तीन वटा घरमा भाडामा बस्दै आएका छन् । उनीहरुले झोला बोकेर बाइबल तथा प्रभुको प्रचार सामग्री बोकेर घरघरमा आउने गरेको स्थानीय बताउँछन् । ‘घरका सटरसटर ठोेक्न पुग्छन्,’ कोलही गाउँका शिक्षक विष्णुप्रसाद भण्डारी भन्छन्, ‘उनीहरुलाई धर्म प्रचारका लागि कतैबाट पनि रोकतोक छैन । दिनहुँ खुलेआम घरघरमा पुगेर प्रचार गरिरहेका छन्।’

स्थानीयलाई संगीत तथा भिडियोमार्फत मनोरञ्जन दिलाएरसमेत इसाई धर्ममा आकर्षित गर्ने काम भइरहेको स्थानीय बताउँछन् । लमही सुनखोलीकी सपना विश्वकर्माले गाउँमा दुईपटक रात्रिकालीन सांस्कृतिक कार्यक्रम भइसकेको बताइन् । ‘भिडियो देखाउने, सांगीतिक कार्यक्रम गरेर पनि उनीहरुले स्थानीय आकर्षित गरिरहेका छन्,’ सपना भन्छिन्, ‘हाम्रै गाउँमा मात्रै दुईपटक यस्ता कार्यक्रम भइसके ।’

 

प्रकाशित: २५ वैशाख २०७५ ००:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App