४ वैशाख २०८१ मंगलबार
समाज

जागिरको प्रलोभन देखाएर जबरजस्ती धर्म परिवर्तन गराउने ३ महिला पक्राउ

काठमाडौं– जबरजस्ती धर्म परिवर्तन गराउने ३ महिलालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले कास्की घर भई काठमाडौंको नागर्जुन नगरपालिका ४ सितापाइला बस्ने ४१ वर्षीया सुमित्रा गौली, कलंकी बस्ने ३६ वर्षीया राधिका महर्जन र चितवन भरतपुर १६ घर भएकी ४२ वर्षीया फुलदेवी भट्टराईलाई धर्म परिवर्तनको अभियोगमा गत शुक्रबार (वैशाख २१ गते) पक्राउ गरेको हो।

तिनै जनाले चितवनको भरतपुर २७ घर भएकी ३८ वर्षीया लक्ष्मी भट्टराईलाई जागिरको प्रलोभन देखाई जबरजस्ती धर्म परिवर्तन गर्न लगाएका थिए।

काठमाडौं प्रहरी प्रवक्ता डीएसपी मोहन कुमार थापाका अनुसार पीडित लक्ष्मीलाई एनजिओमा जागिर लगाइदिने भनी फुलदेवीले प्रलोभनमा पारेकी थिइन्। उनले वैशाख १५ गते राधिकालाई भेट्न पठाएकी थिइन्। राधिकाले त्यही दिन सितापाइला बोलाएर उनलाई चर्च पुर्याइन। त्यहाँ लक्ष्मीको भेट सुमित्रासँग भयो।

जागिरको आशमा चर्चभित्र पुगेकी लक्ष्मीलाई सुमित्राले इच्छा विपरित बाइवलको पाठ सुनाउँदै दुबै हात समाती जबरजस्ती वत्तिसमा लिनुपर्छ, अनि मात्र जागिर लगाइदिन्छु भनी प्रलोभनमा पारी धर्म परिवर्तन गराउने प्रयास गरेको पीडितको आरोप छ।

आफूलाई जबरजस्ती धर्म परिवर्तन गराउन खोजेपछि लक्ष्मीले वैशाख २१ गते महानगरीय प्रहरी परिसरमा उजुरी दिएकी थिइन्। उनको उजुरीका आधारमा फुलदेवी, राधिका र सुमित्रालाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको डीएसपी थापाले जानकारी दिए।

नेपालको मुलुकी ऐन २०२० अनुसार धर्म परिवर्तन गराउनेलाई ३ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

प्रकाशित: २४ वैशाख २०७५ ०९:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App