१९ फाल्गुन २०७७ बुधबार
समाज

चिराचिरा परेको पहरोमुनि नयाँ वस्ती

भूकम्पकाे तीन महिनापछि चिरिएकाे कसेरी डाँडाे (बाँया) चिरिएको कसेरी डाँडोमूनि रहेको माथिल्लो सिगार्चे गाउँ । तस्बिर : ध्रुव/नागरिक

गाती (सिन्धुपाल्चोक) – माथिल्लो सिगार्चे गाउँकी कृष्टी तामाङको परिवार केही महिनायता नयाँ घरमा सरेको छ। तीन वर्ष छाप्रोमा बिताएपश्चात् उनको परिवार नयाँ घरमा सरेको हो। तर नयाँ घर पाए पनि उनको परिवारमा खुसी होइन चिन्ता छाएको छ। किनभने उनीहरूको घर एकदमै असुरक्षित ठाउँमा छ। अर्थात् उनको घरमाथिको कसेरी डाँडा चिराचिरा परेको छ।

डाँडाको माथिल्लो भागमा धाँजा फाटेको छ। ‘डाँडै खस्ने हो कि भन्ने पिरले सताइ रहन्छ,’ काखे बालकलाई दूध चुसाउँदै गर्दा भेटिएकी कृष्टीले चिरिएको पहरो देखाउँदै भनिन् । सामान्य झरी पर्दा पनि डर लाग्ने उनले बताइन्। उनले चिन्ता व्यक्त गर्दै भनिन्, ‘बर्खामा डाँडै पो खस्ने हो कि!’

यस्तै चिन्तामा छिन्– रत्नकुमारी तामाङ पनि। निर्वाचित वडासदस्य रहेकी उनको परिवारले पनि भूकम्पपछि चर्किएकै डाँडोमुनि घर बनाएको छ। नयाँ घर छिर्न पाउँदा उनको परिवारमा पनि जुन उमंग छाउनुपर्ने हो त्यो छैन। ‘अन्यत्र जाने ठाउँ नभएकाले यहाँ बस्नु जोखिम छ भन्ने जान्दा जान्दै पनि घर बनाउन बाध्य भयौं,’ उनले बाध्यता सुनाइन्।

झन्डै ७५ मिटर लामो कसेरी डाँडोको बीच भागमा चिरा परेको छ। चिराले डाँडोलाई दुई भागमा विभाजित गरेको टाढैबाट प्रस्ट देखिन्छ। डाँडोको थाप्लो केही धस्सिएको छ भने त्यहाँ अनगन्ती चिरा र धाँजा छन्। तर त्यही पहरोमुनि स्थानीय भूकम्पपीडित घर बनाउन व्यस्त छन्, मनमा त्रास बोकेर।

जनप्रतिनिधिका नाताले रत्नकुमारीले कसेरी डाँडाबारे जानकारी दिँदादिँदै एक्कासि मौसम बदलियो। आकाशमा बादल मडारिएर झरी दर्केला जस्तै भयो। डरले उनी कालोनिलो भइन्। उनको मनमा त्रास मडारियो, जसरी भर्खरै आकाशमा बादल मडारिएको थियो। ‘डरैडरमा बसेका छौं,’ उनले गाउँलेको अवस्था सुनाइन्।

२०७२ वैशाख १२ गते विनाशकारी भूकम्प जाँदासम्म कसेरी डाँडो केही भएको थिएन। तर भूकम्पको तीन महिनापछि साउन २८ को मध्यरात अकस्मात ठूलो आवाजसहित डाँडो खस्यो। भोलिपल्ट बिहान हेर्दा गाउँलेले डाँडो चिरिएको मात्र देखेनन्, डाँडाको थाप्लो (माथिल्लो भाग) मा धाँजा फाटेको पनि पाए। ‘भूकम्प र पराकम्पले डाँडो थिलथिलो बनाएको रहेछ, पत्तै पाएनौं,’ डाँडो खस्दा धन्नले बाँचेका चन्द्रबहादुर तामाङले सुनाए। उनी गाउँको सबैभन्दा माथि डाँडोमुनि बस्थे। भूकम्पले घर ढालेपछि उनी त्यहीं अस्थायी टहरो बनाएर बसेका थिए । पहिराले उनका सबै सात रोपनी जग्गा पु-यो। उनले अहिले नजिकै स्थानीय साहूले उपलब्ध गराएको जग्गामा घर बनाएका छन्। ‘घर त ठडियो तर मन भने कामिरहेको छ,’ मलिन अनुहारमा चन्द्रबहादुरले भने।

घटनाको केही दिनपछि इलाका प्रहरी कार्यालयबाट सुरक्षाकर्मी टोली पुग्दासमेत उनको परिवार पहिराकै बीचमा बसेको थियो। प्रहरीले असुरक्षा देखाउँदै सर्न आग्रह गरेपछि उनी अन्यत्र सरेका थिए। अहिले घर बनाएको ठाउँ पनि डाँडोमुनि नै रहेको उनले सुनाए।

झन्डै ७५ मिटर लामो कसेरी डाँडोको बीच भागमा चिरा परेको छ। चिराले डाँडोलाई दुई भागमा विभाजित गरेको टाढैबाट प्रस्ट देखिन्छ। डाँडोको थाप्लो केही धस्सिएको छ भने त्यहाँ अनगन्ती चिरा र धाँजा छन्। तर त्यही पहरोमुनि स्थानीय भूकम्पपीडित घर बनाउन व्यस्त छन्, मनमा त्रास बोकेर। माथिल्लो सिगार्चे गाउँमा अधिकत्तर परिवार पुनर्निर्माण सकेर नयाँ घरमा सरेका छन् भने केही परिवार निर्माणाधीन घर पूरा गर्ने अन्तिम चटारोमा छन्। ‘घटनापछि (डाँडो खस्दा) झन्डै आधा मिटरसम्म धाँजा फाटेका थिए। अहिले जोडिँदै गएको छ,’ अर्का स्थानीय बेन्द्रे तामाङ चिन्ता व्यक्त गर्छन्, ‘यसै (जोडिँदै गरेका धाँजा)ले कुनै दिन झुक्याउन सक्छ।’ गाउँका अगुवा उनैले घटनापछि प्रहरी बोलाएका थिए। प्रहरी निरीक्षक नेतृत्वको टोलीले जोखिम औंल्याएर गए पनि चिरिएको डाँडो हेर्न अरू कोही नआएको उनले गुनासो गरे।

उनका अनुसार स्थानीय बासिन्दा अर्को जुरे घटना निम्तिन सक्ने आशंकामा छन्। २०७१ साउन १७ गते कसेरी डाँडोभन्दा सामान्य चर्किएको जुरे पहाड खस्दा पाँच गाउँ बगाउँदै १ सय ४५ जनाको ज्यान गएको थियो। अहिले डाँडोमुनिको माथिल्लो सिगार्चेभन्दा तल दुई सय ५० घरपरिवार बस्ने तल्लो सिगार्चे र डाँडोमाथि त्यति नै परिवार बस्ने कसेरी गाउँ छन्।

भूकम्पपछि धाँजा र चिरा परेका क्षेत्रको भौगर्भिक अध्ययन गर्न विज्ञ टोली खटिएको सुने पनि यहाँ भने कोही नआएको स्थानीय बासिन्दा बताउँछन्। ‘हाम्रो पहुँच प्रहरीसम्म मात्र छ। त्यहाँ पुगेकै हौं,’ बेन्द्रे भन्छन्, ‘प्रहरीले डाँडो चिरिएको सूचना माथिल्लो निकायमा पु-याए/नपु-याएको थाहा भएन।’ वडासदस्य रत्नकुमारी गाउँलेले विज्ञ टोली आएर डाँडोको भौगर्भिक अध्ययन गरोस् भन्ने चाहेको बताउँछिन्।

प्रकाशित: २४ वैशाख २०७५ ०९:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App