७ वैशाख २०८१ शुक्रबार
समाज

पर्यटकीय गन्तव्य अमाहा सिमसार

पर्यटकीय गन्तव्य बनेको बराहक्षेत्र नपा ८ स्थित अमाह पोखरी।    तस्बिरः रोहित/नागरिक

धरान – समुदायले संरक्षण गरेको घना जंगल र मानव वस्तीको बीचमा अवस्थित छ, अमाह पोखरी। पोखरी मात्र डेढ हेक्टर क्षेत्रफल(करिब २ बिघा)मा फैलिए पनि सिमसार क्षेत्र भने ५२ हेक्टर क्षेत्रफलमा फैलिएको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका ५ मा पर्ने यही अमाह सिमसार क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकहरूको गन्तव्य बनिरहेको छ।

अमाह सामुदायिक वन क्षेत्रमा पर्ने अमाह पोखरीको अस्तित्व नै लोप हुन लागेको थियो। स्थानीय र वन समूहले करिब ४ वर्षअघि प्राकृतिक स्वरुपमा फर्काएर पुर्नजीवन दिएका थिए। अहिले त्यही पोखरी र सिमसार क्षेत्रमा विभिन्न ठाउँबाट पर्यटकहरू घुम्न आइपुग्दा वन समूहका पदाधिकारी र स्थानीयबासी दंग छन्।

साविक भरौल गाविसमा पर्ने यो सिमसार पर्या–पर्यटनकै नमुना उदाहरणसमेत बनेको छ। पोखरीको संरक्षण र पर्या–पर्यटनको नमुना अभ्यास भएपछि यसले राज्यको पनि ध्यान खिचेको छ। अहिले सिचाई विभागले त्यही पोखरीबाट ४ सय हेक्टर खेतीयोग्य जमिनमा सिचाईको व्यावस्था गर्न करोडौंको योजना पनि कार्यान्वयन भइरहेको छ।

सिमसार संरक्षणको साथै पर्या–पर्यटनको विकास र प्रर्वद्धन अमाह सामुदायिक वन समूहले नेतृत्व गरिरहेको छ। यसमा स्थानीय एवं वन समूहका सदस्यहरूले पनि होस्टेमा हैसै गरेका छन्। ‘

सिमसारको प्राकृतिकरुपमा संरक्षण गर्ने, जीवजन्तुको पनि संरक्षण गर्ने र आन्तरिक पर्यटनको विकास गर्ने हाम्रो लक्ष्य हो,’वन समुहका पूर्वअध्यक्ष एवं वर्तमान सल्लाहकार लिलामणी जिमीले भने,‘पर्यटनको माध्यमबाट वन समूहको मात्र होइन, यहाँका जनताको पनि आयस्रोत बढ्नुपर्छ भनेर हामी पर्यटकीय पूर्वाधार निर्माणमा जोडदिइरहेका छौं।’ यही सिमसार क्षेत्रको पर्यटन प्रर्वद्धन गर्न अमाहमा तीन दिने पर्यटन मेला शनिबारदेखि शुरु भएको छ।

अमाह पोखरीलाई वन समूह र स्थानीयले २०७० सालमा २८ लाख बढी लगानीमा पुर्नजीवन दिएका थिए। यसमा जिल्ला वन कार्यालयले मात्र २ लाख बजेट दिएको थियो। समुहले ऋण काढेर गरेको लगानी अझै तिरिसकेको छैन। समुह ऋणमै भएपनि अमाहामा घुम्न, बोटिङ गर्न र पिकनिक खान धेरैतिरबाट आन्तरिक पर्यटकहरू पुग्न थालेपछि स्थानीयहरु खुसी छन्।

अमाह पोखरी तथा सिमसार र यहाँको प्राकृतिक सौन्दर्यले पर्यटकहरूलाई लोभ्याएको देखेर उनीहरू दंग छन्। ‘धेरै जना त धरानबाट घुम्न, पिकनिक खान आउछन्, अरु तिरबाट पनि आउछन्,’समूहका अध्यक्ष भोजराज रिल्ली घले भन्छन्,‘शनिबार र विशेष पर्वमा छुट्टीको दिन त यहाँ घुइचो लाग्छ।’ दिनमा डेढ, २ सय पर्यटकहरू पनि आउने गरेको उनले खुलाए। 

सिमसार क्षेत्र भएकोले पोखरीमा प्राकृतिक पानी जम्मा भएको छ। वन समूहले २ वटा फाइवरको स्वान बोट र ३ वटा काठको डुंगा पर्यटकहरूको लागि पोखरीमा राखेको छ। घुम्न आउने पर्यटकहरू पैसा तिरेर बोटिङ गर्छन्। स्थानीयका होटल, पसलको बिक्री पनि बढेको छ। पोखरीको बीचमा आइल्याण्ड(टापु) बनाइएको छ, जहाँ अमाह जलदेवीको थान छ। घुम्न आउने पर्यटकहरूले त्यहाँ पूजा पनि गर्छन्।

जलदेवीलाई कागजको घोडाफूल र पानको पातमा फूलपाती बेरेर चढाउने चलन छ। त्यहाँ पूजाआजा गर्नाले मनोकांक्षा पुरा हुने, दुःख विमार तथा रोगव्याधीले नसताउने जनविश्वास छ। ‘यो ठाउँ साविक भरौल गाविसमा पर्छ, अहिले यही सिमनसार र पोखरीको कारण यो ठाउँको पहिचान बनेको छ। यहाँबारे बारे सुनेर धेरै ठाउँबाट पर्यटकहरू आउछन्, रमाउछन्, खान्छन्, गाउँको आर्थिक गतिविधि पनि बढाएको छ,’अध्यक्ष घलेले भने।

अमाहा वन क्षेत्र २ सय ३ हेक्टर भएपनि सिमसार खण्ड भने मात्र ५२ हेक्टर छ। पोखरीले त डेढ हेक्टर मात्र आगटेको छ। अमाह पोखरी बनेपछि यहाँ विभिन्न प्रजातिका चराहरू आउन थालेको गाउँलेहरू बताउछन्। वन समूहले गुरुयोजना बनाएर नै पर्या–पर्यटन विकासको अवधारणा अघि सारेको छ।

‘अमाहलाई प्रदेश १ कै नमुना सिमसार पर्यटकीयस्थल बनाउन चाहन्छौं, यसको लागि गुरुयोजना बनाएर पुर्वाधार थप्ने कामहरु गर्दैछाैं,’अध्यक्ष घले भन्छन्। अमाह सिमसार क्षेत्रमा चिल्ड्रेन पार्कसहित अर्को पोखरी निर्माण कार्य पनि अघि बढीरहेको छ। अमाहा पोखरी र आसपासको वनक्षेत्रमा चिम्पाङ्जी, सालक, गोही र डल्फिनलगायत जीवजन्तुको मुर्ति पनि राख्ने योजना छ। 

प्रकाशित: २३ वैशाख २०७५ १०:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App