यस वर्षको ‘हुतराज श्रेष्ठ स्मृति पर्यटन पुरस्कार’ बाट गण्डकीका दुईजना पर्यटनकर्मी पुरस्कृत भएका छन्। पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन अवसरमामा आयोजित समारोहमा अग्रज पर्यटन उद्यमी हरिध्वज तुलाचन र युवा पर्यटनकर्मी उर्मिला गुरुङ पुरस्कृत भएका हुन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उनीलाई नगद १५ हजार ५ सय ५ रुपैयाँसहित सम्मानपत्र र दोसल्लाबाट पुरस्कृत गरे। सो अवसरमा संस्थाको स्मारिका ‘परिकल्पना’ पनि विमोचन गरियो।
पोखराका अग्रणी पर्यटन उद्यमी हुतराज श्रेष्ठको स्मृतिमा उनकी श्रीमती तुमला श्रेष्ठले अक्षयकोष स्थापनाका लागि गतवर्ष ५ लाख ५१ हजार १११ प्रदान गरेकी थिइन्। यसवर्ष अक्षयकोषमा एकलाख रुपैयाँ थपेकी छन्। सोही अक्षयकोषबाट वर्षेनी पुरस्कार दिँदै जाने योजनाअनुरुप पहिलोपल्ट सो पुरस्कार तुलाचन र गुरुङलाई दिइएको टेवान अध्यक्ष कमला गिरीले जनाइन्।
प्रतिभा छनोटका लागि सञ्जयकान्त सिग्देलको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो। ड्रागन होटलका संचालक ८१ वर्षीय तुलाचन पोखराको पर्यटन, समाजसेवा र सांस्कृतिक क्षेत्रका अगुवा रहेको सिग्देलले बताए।
यस्तै, दक्षिण एशियाकै पहिलो पर्यटन गाउँ सिरुबारीमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी ३६ वर्षीया उर्मिला गुरुङलाई उत्कृष्ट नेतृत्व गरेको भन्दै पुरस्कृत गरियो। कार्यक्रममा पर्यटन मन्त्री पाण्डेले पर्यटन क्षेत्रको लगानीका लागि निजी क्षेत्रलाई रातो कार्पेट ओेछ्याएर स्वागत गर्नुपर्ने विचार व्यक्त गरे । उनले होटलको मापदण्ड बनाउनेदेखि लिएर पर्यटन ऐन, नागरिक उड्डयन ऐन बनाउन सरकार लागिपरेको बताए। उनले सातै प्रदेशमा पर्यटन बोर्ड स्थापना गरिने बताए।
गण्डकी प्रदेश सभा सदस्यद्वय प्रकाश बराल र सरस्वती गुरुङले पोखराको पर्यटन विकासमा टेवानको महत्वपूर्ण भूमिका रहेको भन्दै सरकारबाट सक्दो सहयोगको प्रतिबद्धता व्यक्त गरे। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पर्यटन संवेदनशील क्षेत्र भएको उल्लेख गर्दै राज्यले पर्यटन विकासमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए। पोखराका पर्यटन व्यवसायी महिलाहरुको सक्रियता २०७४ सालमा टेवान स्थापना भएको हो । संस्थामा हाल १४० सदस्य छन् ।
अध्यक्षमा शोभा
टेवानको चौथो अधिवेशनबाट शोभा न्यौपाने पाण्डे सर्वसम्मत् अध्यक्षमा निर्वाचित भएकी छन्। लामो समयदेखि पर्यटन क्षेत्रमा क्रियाशील पाण्डे होटल एड्मायरकी संचालक हुन्। उपाध्यक्ष अनिता खड्का भट्टराई, महासचिव शोभा अधिकारी पौडेल, सचिव शान्ता सुवेदी तिमिल्सिना र कोषाध्यक्ष शारदा लम्साल चयन भए।
वरिष्ठ सदस्यमा कमला गुरुङ छन् भने सदस्यमा मीना बराल लामा, विष्णुमाया गुरुङ, ज्ञानु श्रेष्ठ, सुधा सुवेदी बराल र जया कार्की सर्वसम्मत् चयन भए। कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ।
प्रकाशित: २३ जेष्ठ २०८२ १४:१६ शुक्रबार





