coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

न्यायिक समिति सञ्चालन नहुँदा प्रहरीले नै मिलाउँछन झगडा

गरुडास्थित महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरीका लागि आएका महिलाहरु । तस्बिर : नागरिक

रौतहट– निर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हालेको लामो समय बितिसक्दा पनि पालिकाहरुमा न्यायिक समिति संचालन नहुँदा विभिन्न झगडाको छिनोफानो प्रहरीले नै गर्नुपरेको छ। न्यायिक समिति गठन भएर पनि संचालन हुन नसक्दा रौतहटका प्रहरी कार्यालयहरुमा पंचायती गराउने भीडभाड हुने गरेको पाइएको छ।

संघीय सरकारको अवधारणा अनुसार गाउँगाउँमा सिंहदरबारको सेवा सुविधा स्थानीय तहमार्फत प्रदान हुने भनिए पनि रौतहटमा घरेलु हिंसा लगायत विभिन्न घटनाका शिकार बनेका पीडितपीडिताहरुको पंचायती जनप्रतिनिधिको साटो अझै प्रहरीले गर्नुपर्ने चलनमा परिवर्तन आउन सकेको छैन्।

रौतहटको गरुडा नगरपालिकास्थित नेपाल प्रहरीको मातहतमा रहेका महिला तथा बालबालिका सेवा केन्द्रमा घरेलु हिंसाका शिकार भएकी महिलाहरुको दिनहुँ बाक्लो भिडभाड लाग्ने गरेको पाइएको छ। गढीमाई नगरपालिका वडा नम्वर ३ गम्हरियाका १७ बर्षिया मोस्तिकीमा खातुन श्रीमानकै सामु सासु र देवरबाट कुटाई खाएर न्यायको लागि आएकी छिन्। मोस्तिकीमा भन्छिन– श्रीमान गफारकै सामु देवर जिदा हुसैन र सासु मोकिमा खातुनले निर्घात कुटपिट गरेर घरबाट निकाल्दा बाध्य भएर गाउँमै रहेको मइती घर फर्किएर महिला तथा बालबालिका सेवा केन्द्रमा किटानी उजुरी गरे। श्रीमानकै सामु म माथि अन्याय हुँदा एक शब्द पनि नबोल्ने श्रीमानसंग के अपेक्षा गर्न सक्ने गुनासो गर्दै पीडकहरुलाई कानूनको दायरमा ल्याउनका लागि वुवा हबलदार मिया संगै यहाँसम्म आइपुगेको बताइन्।

उजुरी गरेको २० दिन हुन लाग्दा समेत यहाँबाट कुनै आवश्यक कारवाही नहुँदा उनी निराश भएकी छिन्। केही स्थानीयहरुको रोहवरमा मिलाउने कार्य भइरहँदा उनी निकै आक्रोशित हुँदै जबसम्म उनीहरुलाई कारवाही हुँदैन तबसम्म मिलापत्र गर्ने प्रश्न नउठ्ने मोस्तिकीमा बताइन्।

यस्तै यमुना माई गाउँपालिका १ सरुअठा बस्ने मदन मियाले छोरी सहजामुन खातनको गत १ बर्षअघि दुर्गा भगवती गाउँपालिका वडा नम्वर ४ छतौना टोल बस्ने शैनुल्लाह संग विहे गरेका थिए। घर लिपपोत गर्न सहजामुनले माटो ल्याएपछि उनलाई ज्वरो आएको थियो। ज्वरो आएर सिकिस्त बनेकी सहजामुनलाई श्रीमान सहित ससुरा सुखाडी मिया सासु नैयकी खातुनले काम गर्न पर्छ भन्दै विभिन्न बहाना बनाएको भनेर गत मंगलवार निर्घात कुटपिट गरे।

कुटपिट पछि स्थानीयहरुले वडाध्यक्ष रामबाबु यादवलाई राखी पंचायती गर्दा झन् अन्यायमा परेको देखेपछि पीडिताले गाउँकै एकजना व्यक्तिको सल्लाहमा न्यायको लागि महिला तथा बालबालिका सेवा केन्द्र गरुडामा उजुरी गर्न आएको दुखेसो पोखिन।

यसैगरी राजपुर नपा ४ वैरिया बस्ने नजमा खातुन घाँस दाउरा नल्याउदा दुई दिनअघि श्रीमान जमरुल हकले निर्घात कुटपिट गरेर लत्ताकपडासहित घरबाट निकालिदिएको गम्भीर आरोप लगाइन्। घरबाट निकालेपछि गाउँकै आफन्त शेख वाजुलको घरमा शरण लिएर बस्दा उनीहरुकै आग्रहमा यहाँ आएर श्रीमानलाई हदै सम्मको कारवाही गर्न अपिल गरिन। श्रीमान हकले भारतीय नागरिक निशा खातुनसंग विहे गरेपछि म माथि अत्याचार गर्न सुरु गरे। घरको सबै कामधन्धा गर्नुको साथै घासदाउरा समेत ल्याउन नमान्दा कुटपिटको शिकार बन्नु परेको दुखेसो पोखिन।   

हाम्रो समाज कतिको अशिक्षित छ भन्ने ज्वलन्त उदाहरण मोस्तिकीमा, सहजामुन र नजमा खातुन सामान्य उदाहरण हो रौतहटको मध्यवर्ती क्षेत्र गरुडामा रहेको महिला तथा बालबालिका सेवा केन्द्रमा दैनिक ८ वटा घरेलु हिंसाको शिकार भएकी पीडितहरु उजुरी गर्न आउने गरेका छन्।

सेवा केन्द्रका प्रहरी सहायक निरीक्षक सुबोध सिंहले यहाँ आउने उजुरीहरुमा कतिपय अवस्थामा उनीहरु आफै मिले जाने गरेको केही मात्रै कानुनी प्रक्रियामा अघि बढ्ने गरेको स्पष्ट पारिन। यहाँ आएको उजुरीहरुलाई आवश्यक अनुसन्धान गरेर कारवाहीको दायरमा ल्याउने गरिएको समेत उनले बताए।

गत चैत महिनासम्म ३८३ वटा घरेलु हिंसासम्बन्धि उजुरी परेको जसमध्ये ९४ वटा मेलमिलापको मध्यमबाट फर्छौट भएको, १० वटा अदालतमा पठाइएको, ६६ फर्छौट हुन बाँकी रहेको तथा २१३ वटा उजुरीकर्ता प्रहरी सम्र्कमा नआएको महिला तथा बालबालिका सेवा केन्द्र गरुडाको तथ्याँकले देखाएको छ।

पालिकाहरुले न्यायिक समिति संचालनमा सक्रियता नदेखाउँदा प्रहरी कार्यालयहरुमा मुदा छिनोफानो गराउनको चाप बढेको प्रहरी अधिकृतहरु पनि स्वीकार गर्छन।

प्रकाशित: २० वैशाख २०७५ १४:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App