हुम्लाको सिमकोट गाउँपालिका-७, डाँडाफयामा बुधबार अपरान्ह करिब पाँच बजे एक यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जना महिला घाइते भएका छन्।
डाँडाफयास्थित स्वास्थ्यचौकी नजिकको मोडमा भे १ च १६८५ नम्बरको उक्त जिप दुर्घटनामा परेको हो। घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल सिमकोट पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय, हुम्लाका प्रहरी नायब उपरीक्षक (डिएसपी) शंकर पोखरेलका अनुसार जिपमा कूल ६ जना सवार थिए। दुर्घटनामा चालकसहित अन्य यात्रु भने सकुशल रहेका छन्।
उनका अनुसार घाइते दुई महिलालाई उद्धार गरी एम्बुलेन्समार्फत अस्पताल पठाइएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूको पहिचान खुल्न बाँकी रहेको डिएसपी पोखरेलले बताए।
स्थानीयका अनुसार सदरमुकाम सिमकोटबाट यात्रु लिएर गाउँतर्फ गइरहेको जिप सडकमा मोड्ने क्रममा अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो।
प्रहरीले घटनास्थलको निरीक्षण गरी दुर्घटनाको कारणबारे थप अनुसन्धान प्रारम्भ गरेको जनाएको छ।
प्रकाशित: ३१ वैशाख २०८२ १९:०५ बुधबार