१५ चैत्र २०८० बिहीबार
समाज

प्रदेश सांसद राईद्वारा बालिकाको अभिभावकत्व ग्रहण

छात्रा कमला भुजेलको अभिभावकत्व ग्रहण गर्दै प्रदेश सांसद उषाकला राई। तस्बिर : नागरिक

खोटाङ – प्रदेश नम्बर १ की सांसद उषाकला राईले एक बालिकाको अभिभावकत्व ग्रहण गरेकी छन्। सांसद राईले खोटाङको खोटेहाङ गाउँपालिका–७, खोटाङ बजारस्थित भगवती दिनानाथ माविमा कक्षा २ मा अध्ययनरत छात्रा कमला भुजेलको अभिभावकत्व ग्रहण गरेकी हुन्। सांसद राईले उक्त बालिकालाई उच्च शिक्षासम्म अध्ययन गराउने गरी अभिभावकत्व ग्रहण गरेकी हुन्।

विद्यालयमा आयोजित कार्यक्रममा सांसद राईले बालिकालाई कापी, कलम, किताब, झोला, पोसाकलगायत प्रदान गर्दै अभिभावकत्व ग्रहण गरेकी थिइन्। निम्न आर्थिक अवस्था भएकी कमला कक्षाकी पहिलो विद्यार्थी हुन्।

यस्तै, एमाले नेता राजन बञ्जराले पनि खोटेहाङ गाउँपालिका–४, बड्कादियालेस्थित भाषा आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत् रोजिना विश्वकर्माको अभिभावकत्व ग्रहण गरेका छन्। कक्षामा पढाइ राम्रो भए पनि आर्थिक अवस्था नाजुक भएको भन्दै विद्यालयबाट आग्रह आएपछि बञ्जराले रोजिनाको अभिभावकत्व ग्रहण गरेका हुन्।

एसइईसम्मको अध्ययनका लागि रोजिनाको अभिभावकत्व ग्रहण गरेको एमाले जिल्ला कमिटी सदस्यसमेत रहेका बञ्जराले बताए। रोजिनका बाबुआमा मजदुरी गर्न घर छाडेर महिनौं बाहिर जाने गरेका छन्। रोजिना भने घरमा एक्लै बसेर भए पनि पढाइमा ध्यान दिँदै आएकी छन्।

‘पढ्नमा ट्यालेन्ट छ, सहयोग मिल्यो भने प्रगति गर्न सक्छ, सहयोग गर्नुप-यो भन्ने आग्रह आयो,’ बञ्जराले भने, ‘रोजिनाको पढाइ राम्रो भएकाले अभिभावकत्व ग्रहण गरेको हुँ।’

यसअघि प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले खोटेहाङ गाउँपालिका–७, खोटाङबजारकी ७ वर्षीया वर्षा तामाङ, जिल्ला समन्वय समितिका प्रमुख बबी चामलिङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङस्थित श्रीमावि बाँसबोटेमा कक्षा ५ मा अध्ययनरत शिलिमिका राई र प्रमुख जिल्ला अधकिारी एकदेव अधिकारीले कक्षा ८ मा अध्ययनरत अनुशा श्रेष्ठको अभिभावकत्व ग्रहण गरिसकेका छन्।

प्रकाशित: १८ वैशाख २०७५ ०२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App