२५ जेष्ठ २०७७ आइतबार
समाज

हजारौं महिलाकी ‘अभिभावक’

महिला सीप विकास केन्द्रकी कार्यकारी निर्देशक रामकली खड्का। तस्बिर: सन्तोष पोखरेल/नागरिक

फराकिलो हलको चारैतिर धागो र धागोबाट बनेका हाते सामाग्री झुन्ड्याइएका छन् । धागोको चाङनजिकै बसेका महिलाहरू धमाधम काम गरिरहेका छन् । कतिपय धागो रंगाउँदै छन् भने कोही धागो कात्न, सिलाउन र तानमा कपडा बुन्न व्यस्त छन् । झट्ट हेर्दा लाग्छ– कसैलाई पनि गफ गर्ने फुर्सद छैन।

यो दृष्य हो– सिर्जनाचोकस्थित महिला सीप विकास संस्थाको । संस्थाले शारीरिक अशक्त, दृष्टिविहीन, एकल, गरिब, असहाय मात्र नभई उद्यमी बन्न चाहने जो कोही महिलालाई पनि सीप विकासको अवसर दिएको छ । अवसर पाएका धेरै महिलाले सीप सिकेर उद्यमको मार्गसमेत पहिल्याएका छन् । सीप सिकेर धेरैले संस्थामै जागिर पाएका छन् । केहीले त सीप सिकेर घरमै बसीबसी कमाइ गरिरहेका छन्।

महिलालाई सीप सिकाउन अहोरात्र खटिएकी छिन्, रामकली खड्का, ६२ । कुनै बेलाकी सरकारी जागिरे उनी सेवाबाट निवृत्त भएको पनि दुई दशक बितिसक्यो । हुम्लामा जन्मिएकी खड्का विवाहपछि राजधानी पुगिन् । अनि सरकारी जागिरको सिलसिलामा पोखरातिर लागिन् । जागिरकै दौरान उनले महिलासँग निकट हुने अवसर पाइन् । र, उनीहरूको सुख–दुःख देखिन्, बुझिन् र सुनिन् । थुप्रै महिलाले उनलाई समस्या सुनाए । कतिलाई घरखर्च चलाउने समस्या थियो त कति श्रीमानबाट शारीरिक तथा मानसिक यातना भोग्न विवश।

महिलालाई सीप सिकाउन अहोरात्र खटिएकी छिन्, रामकली खड्का, ६२ । कुनै बेलाकी सरकारी जागिरे उनी सेवाबाट निवृत्त भएको पनि दुई दशक बितिसक्यो । हुम्लामा जन्मिएकी खड्का विवाहपछि राजधानी पुगिन् । अनि सरकारी जागिरको सिलसिलामा पोखरातिर लागिन् । जागिरकै दौरान उनले महिलासँग निकट हुने अवसर पाइन् । र, उनीहरूको सुख–दुःख देखिन्, बुझिन् र सुनिन् । थुप्रै महिलाले उनलाई समस्या सुनाए । कतिलाई घरखर्च चलाउने समस्या थियो त कति श्रीमानबाट शारीरिक तथा मानसिक यातना भोग्न विवश । महिलाको पीडाले उनलाई पिरोल्यो । र, उनले यसको समाधान गर्ने जुक्ति सुझाइन्– महिलालाई सीप सिकाउने।

महिलाको पीडाले उनलाई पिरोल्यो । र, उनले यसको समाधान गर्ने जुक्ति सुझाइन्– महिलालाई सीप सिकाउने।  

‘सीप सिकेपछि महिला कमाउन सक्छन्, त्यसले आत्मनिर्भर बनाउँछ,’ उनले भनिन्, ‘कसैसामु हात पसार्नु नपरेपछि महिलाको दुःख कम हुन्छ ।’ जागिरका क्रममा कमाई नगर्ने महिला देखेपछि उनीहरूलाई सीप सिकाउनु पर्छ भन्ने लागेको उनले बताइन्।

‘यहाँ काम गर्न आउने हो । दुःख गर्न नसक्नेलाई हामीले ठाउँ दिन्नौ,’ खड्काले भनिन्, ‘जो श्रमको सम्मान गर्छ, मेहनत गर्न चाहन्छ । जसले सीप सिक्न खोज्छ, उसलाई नै हामीले अवसर दिने हो।’

२०३२ सालमा संस्था स्थापना भयो । त्यतिबेला उनी जागिरमै थिइन् । त्यो बेला महिलालाई रोजगार दिने चलन थिएन । मात्र, महिलालाई सशक्तीकरण गराउने सोच थियो । तर, अहिले सोच बदिलिएको छ । अहिले महिलालाई पनि उद्यमशील बनाउनु पर्छ भन्ने सोच छ।

स्थापनाताका पोखरा नगरपालिकाले दिएको सानो टहरोमा संस्थाले काम थाल्यो । संस्थालाई केही विदेशी दातृ निकायले पनि सहयोग गरे। ‘सुरुमा १२–१३ हजार रूपैयाँ लगानी गरेर आफैले संस्था खोलेकी हुँ । तर, पछि सबैको सहयोग थपियो,’ उनले भनिन्, ‘२०५६ मा रोजगार कार्यक्रम सुरु गर्यौं ।’ २०५२ सालमा संस्थाको विधिवत दर्ता भयो।

महिलालाई सीप सिकाएर मात्र भएन,  काम पनि दिलाउनु पर्छ भनेर रोजगार कार्यक्रम सुरु गरेको उनले बताइन् । ‘अभिभावक नभएका, आफन्तबाट हेपिएका, घरपरिवारबाट अपहेलित, दुःखी गरिब दिदीबहिनीका लागि रोजगार जरुरी थियो,’ उनले भनिन्, ‘त्यसैले हामीले महिलाकै लागि रोजगार कार्यक्रम थाल्यौं ।’ उनका अनुुसार सुरुमा तीन जना महिलाबाट रोजगार कार्यक्रम सुरु गरिएको थियो । अहिलेसम्म १३ हजारभन्दा बढी महिलाले रोजगार तालिम लिएका छन् । तीमध्ये धेरै घरमै बसीबसी आत्मनिर्भर बनेका छन्।

‘सुरुमा त हामीले प्रौढ शिक्षा, सिलाइबुनाई, कानुनी परामर्श, जनस्वास्थ्य तालिम पनि दिन्थ्यौ । तर, पछि रोजगारमूलक कामलाई पनि प्राथमिकता दियौं,’ उनले भनिन्, ‘अहिले सिलाइबुनाइ र हाते बुनाइसँगै रंगाउने, बुट्टा बनाउनेलगायत प्रशिक्षण दिन्छौं।’

संस्थाले महिलालाई सीप सिकाउँदै सामान उत्पादन पनि थाल्यो । केही वर्षअघि संस्थालाई व्यापार गरेको आरोप लाग्यो । त्यसपछि खड्काले विकल्प सोचिन्– संस्थाले सामान उत्पादन गरेर बेच्ने र त्यसको नाफाले कम्पनी चलाउने । त्यसपछि संस्था महिला सीप विकास प्रालिमा रूपान्तरण भयो।

अहिले यो कम्पनीमा पाँच सय ८६ महिला काम गर्छन् । महिलाले उत्पादन गरेका सामान बजारमा बिक्री हुन्छन् । नाफाबाट महिलालाई सीपमूलक प्रशिक्षण दिइन्छ । सामान बेच्न कुनै समस्या नै नभएको पनि उनले बताइन् । ‘हामीले विदेशमा समेत सामान निर्यात गर्छाै । हामीलाई सामान बेच्न कुनै अप्ठेरो छैन । नेपालीभन्दा विदेशीले सामान रुचाएका छन्,’ खड्काले भनिन्।

नाफाको रकम महिलालाई सीप सिकाउन उपयोग गरेको उनले सुनाइन् । ‘संस्थाले सिधंै सामान बेच्न नपाउने भएपछि महिला समूह मिलेर उद्योग चलाएका छौं । त्यही उद्योगको नाफा रकम यसमा खर्चन्छौं,’ खड्काले भनिन्, ‘हाम्रो उद्देश्य सफा छ । जसरी भए पनि महिलालाई उद्यम बनाउने हो । सीप सिकाएर दिदिबहिनीलाई आत्मनिर्भर बनाउने हो।’

कम्पनीका अहिले चार शाखा छन् । ग्रामीण भेगमा पनि शाखा खोलिएका छन् । यी शाखामा गाउँका महिला पनि सीप सिक्न आउँछन् । महिलाले घरको काम सकेर सीप सिक्छन् । अनि घरमै बसीबसी काम पाउँछन् ।
गाउँका महिलालाई सहज बनाउन देखि ग्रामीण भेगमा पनि शाखा खोलिएको संस्थाले जनाएको छ । यसले कामका लागि सहर झर्ने महिलालाई रोकेको उनले बताइन् । गाउँका हरेक शाखामा प्रशिक्षक खटाइएको छ । तीन महिने निःशुल्क प्रशिक्षण लिएपछि महिलाले शाखाबाट कच्चा पदार्थ घरमा लैजाने र आवश्यक सामाग्री तयार पारेर शाखामै बुझाउँछन् । अनि, त्यही अनुुसार महिलाले पारिश्रमिक पाउँछन्।

‘कच्चापदार्थ लिन र सामान पु¥याउन पोखरासम्म धाउनु पर्ने बाध्यतालाई हामीले सहजीकरण गरेर गाउँसम्म सेवा पुर्यायौं । त्यसले महिलाहरूमा उत्साह थपियो,’ उनले भनिन्, ‘पोखरा आउजाउको खर्च र समय सबै कम भयो ।’ ‘महिलाको आम्दानी उनीहरूको खटनपटनमा भर पर्छ । जति बढी काम गर्छन् वा जति धेरै सामान बनाउँछन्, उति बढी कमाउँछन्,’ खड्काले थपिन्, ‘हामीले सामान उत्पादन गरेपछि प्रतिगोटाको आधारमा पारिश्रमिक दिन्छौं ।’ संस्थाले अहिले झन्डै एक हजार प्रकारका सामान उत्पादन गर्छ । स्थानीयस्तरमै उत्पादित कच्चापदार्थदेखि आयातित सामानबाट समेत खेलौना, झोला, कपडा बनाइन्छ । अल्लो, सुती कपडा, धागोका सामान यहाँ उत्पादन हुन्छन् । ती सामानमध्ये धागो, रंगलगायत कच्चा पदार्थ भारत र अल्लो, ऊन, सुती कपडालगायत सामान नेपालकै प्रयोग हुन्छ।

‘हाम्रो उत्पादनलाई विदेशीले खुबै रुचाएका छन् । हाम्रो मार्केट स्वदेशभन्दा पनि विदेश हो,’ खड्काले थपिन्, ‘अष्ट्रेलिया, अमेरिका, बेलायत, जर्मन, नेदरल्यान्ड, इटालीलगायत मुलुकमा हामीले सामान पठाउँछौं ।’ उत्पादनको करिब ८० प्रतिशत विदेशमा र बाँकी २० प्रतिशत स्वदेशमा खपत हुने उनको अनुमान छ । ‘वर्षको करिब तीन करोड रूपैयाँको सामान त हामीले सिधै विदेश पठाउँछौ । त्यसबाहेक लेकसाइड, काठमाडौंका पर्यटकीय गन्तव्यबाट पनि बिक्री हुन्छन् । पर्यटकीय गन्तव्यका ग्राहक पनि विदेशी पाहुना नै हुन्।

‘हामी प्रकृति, संस्कृति, परम्परा झल्काउने सामान उत्पादन गर्छाै । गुणस्तर कायम गर्न कहिल्यै कमजोरी गरेनौ । र, गर्दैैनौं पनि,’ उनी भन्छिन्, ‘हामीले उत्पादन गरेका सामानमा गुणस्तरप्रति कतै प्रश्न उठ्न दिन्नौं । किनकी हामीलाई यिनै उत्पादनले चिनाएको, धानेको र माथि उठाएको छ ।’ संस्थामै सीप सिकेर जागिर पाएका महिलाहरू काम र दाम पाउँदा खुसी छन् । कोही त प्रशिक्षण दिन विदेश समेत पुगेका छन्।

गंगा थापा, धागोमा रंग घोल्ने काम गर्छिन् । बंगलादेशको ढाका पुगेर उनले धागोमा कसरी रंग मिलाउने र टिकाउने बारेमा प्रशिक्षण लिएकी छन् । उद्योगबाट आउने धागोलाई प्रशोधन गर्दै निश्चित रंगले रंग्याउनु कम्ती चुनौती छैन । तर, स्वदेश र विदेशमा सिकेको सीपले थापालाई अब्बल बनाएको छ । ‘मैन सहितको धागो आउँछ । त्यसलाई प्रशोधन गरेर पगालेर मैन फ्याक्नुपर्छ । अनि बल्ल आवश्यकता अनुसारको रंगको घोलमा मिलाउनुपर्छ,’ थापाले भनिन्, ‘यो निकै नै प्राविधिक काम हो । जो कोहीले गर्न सक्दैन । किनकी कपडा धुँदा रंग जानु भएन।’

स्वदेश र विदेशको सीपले आफूजस्ता महिलालाई ठूलो अवसर दिलाएको थापाको भनाइ छ । ‘पकेट खर्च चाहिए पनि पतिसँग माग्नु पर्ने बाध्यतालाई यो सीपले विस्थापित गरेको छ,’ थापाले भनिन्, ‘महिलालाई सीप चाहिएको छ । सीप पाएपछि थोरधेर कमाउन सक्छन् । यसले महिलाको शिर ठाडो गराएको छ ।’ सीप विकास संस्थाले धेरै महिलालाई उद्यमी बनाउन योगदान दिएको उनले बताइन्।

चुममाया पुर्जा म्याग्दीकी हुन् । शारीरिक रूपमा उनी कमजोर छिन् । उनी बसेर मात्र काम गर्न सक्छिन् । तैपनी उनमा केही गर्न सक्छु भन्ने जोश र जाँगर छ । त्यही जोश र जाँगर बोकेर १४ वर्षअघि पुर्जा महिला सीप विकास संस्थामा आइन् । तीन महिने सीप सिकिन् । अहिले बच्चाको खेलौना बनाउने र त्यसको डिजाइन कोर्ने जिम्मा उनको काँधमा छ । यो अवधिमा उनले केन्या पुगेर प्रशिक्षण पनि लिइन् । ‘शरीर कमजोर भए पनि मेरो मन कमजोर छैन । त्यही आँटले मैले यहाँ निवेदन दिए, छानिए । अनि सीप सिके,’ उनले भनिन्, ‘अहिले कर्मचारीको रूपमा काम गर्छु ।’ उनको विचारमा आँट, साहस र जाँगर हुने जो कोही पनि महिला अहिलेको समयमा बेरोजगार बस्नु पर्दैन । सीप सिकेर कामलाई सम्मान गर्ने हो भने आफैले आत्मनिर्भर बनाउने बाटो पहिल्याउन सकिन्छ।

‘हामी आफूले आफैलाई कमजोर नठानौ । सीप सिकेर काम गरौँ, जाँगर चलाऔँ, काम पाइन्छ । त्यसले दाम पनि पाइन्छ,’ पुर्जा भन्छिन् । ‘हजारौं महिलालाई आत्मनिर्भर बनाएर खड्का अभिभावक बन्नुभएको छ,’ उनले थपिन् ।
संस्थाले तालिममा एकल, गरिब, अशक्त, दलित, जनजाति महिलालाई पहिलो प्राथमिकता दिँदै आएको छ । संस्थाकी कार्यकारी निर्देशक रहेकी खड्काका अनुसार सीप सिक्ने चाहने महिलाले सिधै संस्थामै पुगेर नाम दर्ता गर्न सक्छन् । अनि महिलाको अवस्था हेरेर तालिममा प्राथमिकता दिइन्छ । ‘सीप सिक्न चाहेका महिला हुनेखाने हुन् वा हुँदा खाने भन्ने हामीले पहिचान गर्छौ । कतिपयको त घरमै पुगेर अवस्था पहिल्याउँछौ,  साहै्र कमजोर अवस्था रहेकाले तालिममा पहिलो प्राथमकिता पाउँछन्,’ खड्काले भनिन्, ‘हुँदा खानेलाई पहिलो अवसर दिने हो भने त्यसले उनीहरूको आत्मबल बढाउँछ।’

 

महिला सीप विकासमा काम गर्दै चुममाया पुर्जा ।
महिला सिप विकासमा धागो रंगाउँदै गंगा थापा ।
महिला सीप १,२
पोखराको महिला सीप विकास संस्थामा हाते तानबाट कपडा बुनिँदै ।
महिला सीप ३
पोखराको महिला सिप विकास संस्थामा कपडा सिलाइँदै ।

 

 

 

 

प्रकाशित: १३ वैशाख २०७५ १३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App