१५ चैत्र २०८० बिहीबार
समाज

बोर्डिङ छाडेर सामुदायिक विद्यालयमा विद्यार्थीको घुइँचो

बेनी सामुदायिक माविमा भर्ना हुन प्रवेश परीक्षा दिइरहेका विद्यार्थी। तस्बिर : हरिकृष्ण/नागरिक

म्याग्दी – जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या न्यून छ। नगर तथा गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या कम हुँदा मर्जर वा बन्द हुने अवस्थामा पुगेका छन्। विद्यार्थीभन्दा शिक्षकको संख्या धेरै भएका विद्यालयसमेत भेटिन्छन्।

तर, म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी सामुदायिक माध्यमिक विद्यालयमा भने हरेक वर्ष भर्ना हुन आउने विद्यार्थीको लर्को लाग्ने गरेको छ। सहरदेखि गाउँमा रहेका निजी विद्यालय छाडेर उक्त विद्यालयमा भर्ना हुन आउने विद्यार्थीको घुइँचो लाग्ने गरेको हो।

यसरी भर्ना हुन आउने विद्यार्थीलाई उक्त विद्यालयले प्रवेश परीक्षा लिने गरेको छ। गत मंगलबार प्रवेश परीक्षामा सहभागी हुने विद्यार्थीको घुइँचो देखिन्थ्यो भने विद्यालय बाहिर तिनका अभिभावकको पनि उत्तिकै भीडभाड थियो। कुनै वार्षिक परीक्षाभन्दा कम थिएन।

कक्षा १ देखि ९ सम्म १ सय ६५ विद्यार्थीलाई भर्ना लिन लिइएको परीक्षामा ३ सय २४ विद्यार्थी सहभागी भएका थिए। जसमध्ये १ सय ६१ विद्यार्थी प्रवेश परीक्षा पास हुन सकेनन् । भौतिक संरचना तथा जनशक्ति अभावले आउने सबै विद्यार्थी भर्ना लिन नसकिएको विद्यालयले जनाएको छ।

‘विद्यार्थीको विवरण हेर्दा अधिकांश निजी विद्यालयबाट आएको देखियो। प्रवेश परीक्षामा सफल नभएका विद्यार्थीका अभिभावकलाई उनीहरूको कमजोर पक्षका बारेमा समेत जानकारी गराएका छौ,’ विद्यालयका प्रधानाध्यापक दीपक श्रेष्ठले भने। प्रवेश परीक्षामा सहभागी भएका करिब तीनसय विद्यार्थी निजी विद्यालय छाडेर आएको उनले बताए। निजी विद्यालयका शिक्षकले समेत आफ्ना छोराछोरी बेनी  सामुदायिक विद्यालयमा भर्ना गराएको उनको भनाइ छ।

‘निजी विद्यालयमा विद्यार्थी खोसाखोस हुन्छ, यहाँ भर्ना हुनै मुस्किल छ,’ निजी विद्यालय छाडेर छोरालाई भर्ना गराउन बेनी सामुदायिक माध्यमिक विद्यालय आइपुगेका कृष्ण थापाले भने। ‘सामुदायिक विद्यालयमै अंग्रेजीमा राम्रो पढाई हुन्छ भने महँगो शुल्क तिरेर किन निजीमा पढाइरहनु?,’ उनले भने। 

‘सामुदायिकमा प्रवेश परीक्षा देख्दा छोराछोरी लोकसेवा परीक्षामा सहभागी भएजस्तै लाग्यो, यो प्रतिस्पर्धा गर्नु गुणस्तरीय शिक्षाका लागि राम्रो अभ्यास हो,’ मालिकागाउँपालिका–६, दरबाङबाट तीन छोराछोरी भर्ना गर्न आएकी कमला पुनले भनिन्।

जिल्लाका सबै स्थानीय तह र छिमेकी पर्वत जिल्लाबाट समेत निजी तथा सामुदायिक विद्यालय छाडेर विद्यार्थी आफ्नो विद्यालयमा भर्ना भएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण बहादुर कार्कीले बताए।

चार वर्षदेखि प्रवेश परीक्षा लिने गरिएको जानकारी दिँदै प्रधानाध्यापक श्रेष्ठले यसमा हरेक वर्ष सयभन्दा बढी विद्यार्थी असफल हुने गरेको बताए।

नेपाल सरकार शिक्षा मन्त्रालयले वि.सं. २०७० सालमा बेनी सामुदायिक माध्यमिक विद्यालयलाई नेपालकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय घोषित गरेको थियो।

उक्त विद्यालयले लोभलाग्दो शैक्षिक प्रगति देखाएको बेनी नगरपालिका शिक्षा शाखा प्रमुख विश्वप्रकाश रेग्मीले बताए। ‘शिक्षकको सहकार्य यसको राम्रो पक्ष हो,’ रेग्मीले भने ‘आधारभूत तहदेखि एसइईसम्म निजीलाई उछिनेको छ।’

शिक्षकहरूको लगाव र अभिभावकको जिम्मेवारी, व्यवस्थापन समितिको अनावश्यक हस्तक्षेप नहुनुले पनि बेनी सामुदायिक माध्यमिक विद्यालयले हरेक वर्ष एसइईमा शतप्रतिशत नतिजा ल्याउन सफल भएको स्थानीय अभिभावक बताउँछन्।

प्रकाशित: १३ वैशाख २०७५ ०२:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App