७ वैशाख २०८१ शुक्रबार
समाज

भूकम्पले महिलालाई दियो सिप र अवसर

कार्यगत तालिममा महिला सहभागी भएर बनाउदै गरेको घर।

नुवाकोट – लिखु गाउँपालिका वडा नम्बर ६ थानसिङ चैनपुरकी १९ वर्षकी सुस्मिता मिजारले घर बनाउने तालिम लिइरहेकी छिन्। हातमा सिप भयो भने पछि सम्म पाखुरा बजारेर जीवन धान्न सकिन्छ भन्ने मनसायलाई मनमा लिएर भूकम्प प्रतिरोधी आवास बनाउने सिप सिक्ने अभियानमा जुटिरहेकी छिन्। २५ दिनमा नै डण्डी काट्ने, फर्मा ठोक्ने, बालुवा र सिमेन्टको मात्रा मिलाएर मसला बनाउने, गारो लगाउने जस्ता काम आफैं गर्न सक्ने भएकी छिन् सुस्मिता।

भूकम्प प्रतिरोधि राष्ट्रिय समाज नेपाल एन्सेटले आयोजना गरेको ५० दिने  कार्यगत तालिममा सहभागी भएकी उनी सिकेको सिपलाई निरन्तरता दिएर आगामी दिनहरूमा आफ्नो कार्य बढवा दिन चाहन्छिन्। “घरको आर्थिक स्थितीले गर्दा पढाइलाई निरन्तरता दिन सकिन। कक्षा ८ भन्दा माथी उठाउन सकिन औपचारिक शिक्षालाई। लागेको थियो धेरै पढाई पनि छैन, हातमा केहीको सिप पनि छैन, पराई घरमा गएर चुलो चौकोमा नै बित्छ होला मेरो दिन” घर बनाउने तालिमले सोच नै परिवर्तन गरिदिएको भन्दै उनी भन्छिन्, “अब त म पनि केही गर्छु भन्ने अठोट छ मनमा। आमा भाउजुहरूले कहिल्यै नगर्नु भएको घर बनाउने काम गरेरै आर्थिक पक्षलाई  बलियो बनाउन चाहान्छु। आफ्नो खुट्टामा आफैं उभिन चाहान्छु।”

विनासकारी भूकम्पले घर भत्कायो। बनाउनको लागि दक्ष जनशक्ति छैन। अन्य ठाउँबाट जनशक्ति ल्याएर घर बनाउन लगाउ त पैसाकै समस्या। घरमा रहेका बुढा बाआमाले मात्र के गरुन्। काम सानो ठूलो केही हुन्न। सिप सिक्न पाए त केही गर्न सकिन्छ भन्ने सोच लिएर सुस्मिता मिजार जस्तै चैनपुरकै १८ वर्षीय लक्ष्मी मिजार पनि घर बनाउने काम सिक्दैछिन्।

हरेक बिहान ६ बजेदेखि १० बजे सम्म सञ्चाल भइरहेको तालिममा सहभागी भएकी लक्ष्मी हेड मिस्त्रीको सहयोगमा घरको सुर राख्ने, गारो लगाउने, नस कस्ने जस्ता काममा दक्ष भइसकेकी छिन्। “सुरुवातको दिनमा स्कुलमा जस्तै गरी पढ्दा त के हो के हो जस्तो लागेको थियो। के गर्न सकिएला जस्तो पनि भयो। बानी नपरेर पनि रहेछ। व्यवहारिक रुपमा घर बनाउने अभ्यास नै गर्न थालिसकेपछि त केही गर्न सकिन्छ भन्ने आश पलाउदै  आयो” लक्ष्मी भन्छिन्, “घरको जग खन्ने बेलामा असाध्यै गाह्रो हुनी। जगबाट माथी उठिसकेपछि त असाध्यै सजिलो। टोलको दिदीबहिनी भाउजू आमासँग रहेर सिप सिक्दा सजिलो पनि हुन्छ। एकले कतै विगार्यो भने अर्कोले सम्झाइहाल्छन्।” 

घर बनाउने तालिममा छोरीहरू मात्र होइन बुहारी, आमाहरू पनि सहभागी भएर आफ्नो घर आफै बनाउ भन्ने अभियानमा जुटिरहेका छन्। २६ वर्षमा पाइला चाल्दै गरेकी गोपिनी मिजारलाई घासदाउरा, मेलापाल, भकारोपानी भन्दा घर बनाउने कार्य सजिलो लाग्न थालिसकेको छ। उनका श्रीमान पनि डकर्मी काम गर्दै आइरहेका छन्। विहान तालिममा सहभागि हुिन्छन् भने दिउँसो श्रीमानसँगै काम गर्ने गरेको बताउछिन्। “सुरुवातमा घर बनाउने तालिम आको छ रे गाउँमा म पनि सिक्छु भन्दा बुढोले नचाहिदो काम पर्दैन जान भन्नु भएको थियो। अहिले त उहाँले नि घर बनाउदा यसो गर्नुपर्छ उसो गर्नु पर्छ भनेर सँगसँगै काम गरेर सिकाउनुहुन्छ,” उनी भन्छिन्, “तालिम लिन सुरु हुनुभन्दा अगाडी नै पर्म गरेर घरको डिविसि गरेर छाडेका छौँ। अब हामी आफंै बनाउनेछौँ। हाम्रो घर हामीले नै बनाउने अभियान चलाउदा ओल्लोपल्लो गाउँकाले पनि हामीलाई घर बनाउन बोलाउछन् भन्ने लाग्छ।”

भनिन्छ जीवन नै सिकाई हो। कमला मिजार वर्षले ३९ भइन् तर उत्साहको साथ घर बनाउने तालिममा सहभागी भएर गाउँका छोरीबुहारीलाई समेत उत्साह थपिरहेकी छिन्। घामको तापमा पोलिएर, झरीमा रुझेर खेतीपाती गर्नुभन्दा त घर बनाउने काम नै सहज रहेछ भन्ने गर्छिन्। एनसेटले दिएको सिपले घर ठड्याएर बस्ने धोको पाल्न थालेकी छिन् उनी। “अघिल्लो वर्ष श्रीमान गुमाए। जेठो छोरालाई भूकम्पले घाइते बनायो, शहरमा नै बस्छ। कान्छो छोरा सानै छ। गर्ने भनेको आफै हो,” उनी भन्छिन्, “हाम्रै हातमा सिप भइसकेपछि किन बाहिरी मान्छेलाई पैसा दिनु। हामी आफै गर्ने आफै खाने अब। ढिलो चाडो जे त होला सुस्तरी मिलेर घर बनाउने योजना बनाएका छौँ।”

पहिले देखि नै आवास निर्माण गर्दै आएका डकर्मीहरूलाई सात दिने तालिम दिएर उत्पादन भएकामध्येबाट छानिएका एक जना हेड मिस्त्रीले कार्यगत तालिमलाई अघि बढाइरहेका छन्। पचास दिने कार्यगत तालिममा सहभागी चैनपुरका महिलाहरूले तालिम सकिएपछि पालैपालो आफ्नो घर बनाउने र अवसर आए ठेक्कापट्टा गरेर भूकम्प प्रतिरोधी बलियो घर बनाउने अभियानमा लाग्ने योजना बनाएका छन्।

प्रकाशित: १२ वैशाख २०७५ ०८:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App