२१ असार २०७७ आइतबार
समाज

‘सहर’ को छनक दिँदै पुनर्निर्माण तीव्र

पुनर्निर्माणपछि रंगिन बनेको सिन्धुपाल्चोक, जलवीरस्थित कात्तिके गाउँ। तस्बिर: ध्रुव/नागरिक

सिन्धुपाल्चोक – साना तथा मझौला आकारका चिटिक्क घर। रातो, निलो, हरियो जस्तापाता र घरको साजसज्जाले रंगिन गाउँ तथा बस्ती। टोलै पिच्छे मोटर पुग्ने सडक र खानेपानी धारा। घर–घरमा शौचालय अनि व्यवस्थित बिजुली बत्ती।

२०७२ वैशाख १२ को विनासकारी भूकम्पले सर्वाधिक क्षति पु¥याउँदा खण्डहरमा बदलिएको सिन्धुपाल्चोकको फेरिएको रुप हो यो। सिन्धुवासी पुनर्निर्माणमा जुरुक्क जाग्दा ठडिइरहेका गाउँ क्रमशः खानेपानी, शौचालय, बिजुली लगायत न्यूनतम सुविधासहितका शहरोन्मूख बस्तीमा बदलिँदै गएका छन्।

‘भूकम्पपछिको तीन वर्षमा पुनर्निर्माणमार्फत सिन्धुपाल्चोकको मुहारै फेरिएको छ,’ भूकम्प पीडितका आवास निर्माणको नेतृत्व गरिरहेको सहरी विकास तथा भवन डिभिजन, जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख टंक गौतमले नागरिकसँग भने। उनका अनुसार सिंगो जिल्ला पुनर्निर्माणको मौजारो अवस्थामा पुगेको छ। अर्थात, पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ सिन्धुपाल्चोक।

यतिबेला जिल्लामा एकसाथ ६६ हजारभन्दा बढी घर बनिरहेको इन्जिनियर रहेका इकाइ प्रमुख गौतम बताउँछन्। तर कति पीडितले घर बनाए भन्ने विश्वसनीय तथ्यांक इकाइसँग छैन। उसको तथ्यांकमा जिल्लामा झण्डै १३ हजार घर पुनर्निर्माण भएको देखिन्छ। इकाइकै प्राविधिक यो तथ्यांकसँग सहमत छैनन्। उनीहरूको अनुमानमा जिल्लामा ६० हजारको हाराहारी घरको पुनर्निर्माण भइसकेको छ।

‘६२ हजार पीडितले घर बनाउन दोस्रो किस्ता लगिसकेका छन्,’ गौतम भन्छन्, ‘यो भनेको त्यति नै संख्यामा घर बन्नु हो।’ भुँई तहको संरचना बनेपछि पीडितले दोस्रो किस्ता माग गर्छन्। विभिन्न प्रक्रिया पूरा भई किस्ता निकासा हुन दुई महिनासम्म समय लाग्ने प्राविधिक बताउँछन्। उनीहरूका अनुसार त्यतिञ्जेल निर्माणाधीन संरचना अन्तिम चरणमा पुगिसक्छन्। पुनर्निर्माणमा खटिने प्राविधिक अभाव हुँदा र दोस्रो किस्ताका लागि उनीहरू संरचना निरीक्षणमा केन्द्रीत हुनु पर्दा निर्माण सम्पन्न घरको एकीन तथ्यांक आउन नसेको प्रमुख गौतम प्रस्ट्याउँछन्।

पीडित जाग्दा पूर्वतातोपानीदेखि पश्चिम हेलम्बुसम्म पुनर्निर्माणको चटारो छ। सीपयुक्त कामदार, प्राविधिक, निर्माण सामाग्री अभाव, लगातारको मूल्य वृद्धि र कालोबजारीका बाबजुद पुनर्निर्माण तीव्रता लिइरहेको छ। साविक ७९ गाविसमध्ये अधिकांशले पुनर्निर्माणलाई मौजारोमा पु¥याएका छन्। पुनर्निर्माणमा दैनिक डेढ लाख जनशक्ति खटिइरहेको इकाइको अनुमान छ।

इकाइका अनुसार जिल्लामा पीडित लाभग्राहीको संख्या ८३ हजार ६ सय छ। लाभग्राही रोजगारमा विदेशमा रहनु, गुनासोमार्फत धमाधम लाभग्राही थपिनु लगायत कारण अझै ५ हजार पीडितसँग अनुदान सम्झौता हुन सकेको छैन। अनुदान सम्झौता गरेका सबै ७८ हजार ५ सय ३५ ले पहिलो किस्ता प्राप्त गरिसक्दा तेस्रो किस्ता भने झण्डै १४ हजारले मात्र लगेका छन्।

विनासकारी भूकम्पले सिन्धुपाल्चोकमा सर्वाधिक क्षति पु¥याउने क्रममा ३ हजार ५ सय ७० को ज्यान लिँदै ९५ प्रतिशत घरसंरचना पूर्ण रुपमा क्षतिग्रस्त बनाएको थियो। सबै गाउँ–बस्ती खण्डहरमा बदलिँदा जिल्ला झण्डै–झण्डै संरचनाविहिनको अवस्थामा पुगेको थियो। भग्नावशेषै–भग्नावशेषका गाउँ–बस्ती, आफन्त गुमाउनुको पीडा, चौरतर्फी सत्यानास, विनास र लगातारका पराकम्पनले उत्पन्न गराएको त्रास, भोको पेटमा खुला आकाशमूनिको बास देख्दा लाग्यो सजिलै सिन्धुपाल्चोक व्यूँउतन सम्भव छैन।

तर पीडितमा शोकलाई शक्तिमा बदल्ने जागरण पैदा हुँदा भूकम्पको तीन वर्ष र पुनर्निर्माण अभियान थालनीको दुई वर्षको छोटो समयमै सिन्धुपाल्चोक ठडिएको छ। पुनर्निर्माणलाई पीडितले साझा संकल्प बनाउँदा जिल्लाका गाउँ–बस्ती भूकम्पअघिककै पूर्ववत अवस्थामा मात्र पुगेका छैनन्, झन् राम्रा, चिटिक्क र सुन्दर भएका छन्।

भूकम्पको वर्षपछि २०७३ वैशाख १२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै क्षति बेहोरेको सिन्धुपाल्चोकको चौताराबाटै पुनर्निर्माण अभियानको थालनी गरेका थिए। त्यसको एक वर्षपछिसम्म पुनर्निर्माणले आशातीत गति लिन सकेको थिएन। गएको वैशाखमा स्थानीय तहले जनप्रतिनिधि पाउनुका साथै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान वितरण प्रक्रियालाई सरल र सहज बनाउँदै किस्ता लिने समय सीमा तोकेपछि पुनर्निर्माण अभियानकै रुप अघि बढिरहेको छ।

गत वर्ष असारदेखिको साढे १० महिनाको अवधिमा मात्र पीडितले एकसाथ ५६ हजार घरको पुनर्निर्माण थालेको इकाइको तथ्यांकले देखाएको छ। स्थानीय तहले जनप्रतिनिधि पाइरहदा गत जेठ अन्तिमसम्म जिल्लामा १ सय ६३ घर निर्माण सम्पन्न हुँदा करिव १० हजार पीडितले मात्र पुनर्निर्माण थालेका थिए।

इकाइ प्रमुख गौतम स्थानीय तहमा जनप्रतिनिधि आएपछि पुनर्निर्माणमा निकै सघाउ पुगेको बताउँछन्। ‘पीडितका अनुदान किस्ता वितरण सम्बन्धी र अन्य गुनासाका चाङ बोकेर जनप्रतिनिधि आफैँ सदरमुकाम आइपुग्छन्,’ उनी भन्छन्, ‘जिल्लादेखि केन्द्रसम्म धाएर समस्याको गाँठो फुकाउँछन्।’ चुनावी अभियानमा पुनर्निर्माणलाई नै मुख्य एजेन्डा बनाएका उनीहरूले यसैलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छन्।

पुनर्निर्माणको कारण सडक, खानेपानी, शौचालय, सरसफाइ, विद्युतका क्षेत्रमासमेत ठूला काम भएका छन्। घर बनाउन पानीको जोहो गर्दा प्रत्येक जनस्तरबाट बस्तीमा खानेपानी सुविधा पुगेको छ। सरकार र संघसंस्थाको सहयोगमा ‘पम्पिङ’, ‘लिफ्टिङ’ सहित साना–ठूला दर्जनौँ खानेपानी आयोजना पुगेका छन्। त्यस्ता ठाउँका बस्तीका हरेक घरमा व्यक्तिगत धारा जडान गरिएको छ। ‘

सार्वजनिक र व्यक्तिगत त्यस्ता धारा अपांग र बालबालिका मैत्रीसमेत छन्,’ भूकम्पपछि एक दर्जनभन्दा बढी खानपानी आयोजनामा काम गरेको जनहित ग्रामीण सेवाका कार्यकारी निर्देशक राजेन्द्र शर्माले भने।

प्रकाशित: १२ वैशाख २०७५ १४:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App