काठमाडौं – नेपाल ट्रष्टको कार्यालयको नाममा रहेको जग्गा व्यक्तिले हडपेको भन्दै एक साताभित्र खाली गर्न सूचना जारी गरेको छ। ट्रष्टको स्वामित्वमा रहेको काठमाडौंको छानीको २ रोपनी १३ आना जग्गा व्यक्तिले हड्पेकाले जग्गा खाली गर्न आग्रह गरेको छ।
छाउनीमा स्थानीय जुनी थापाले २ रोपनी १३ आनामा रहेको घर ट्रष्टले पटकपटक आग्रह गर्दासमेत खाली नगरेको भन्दै पत्र पठाएको छ। आइतबार पत्र पठाउँदै ७ दिनभित्रमा घरजग्गा सम्पूर्ण खाली गर्न जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएको छ। राजाको पालामा बक्सिसमा जग्गा पाएको भन्दै सार्वजनिक जग्गा व्यक्तिले लिएको देखिन्छ।
ट्रष्टका कार्यकारी सचिव रमेशप्रसाद सिंहले ट्रष्टका नाममा रहेका जग्गा व्यक्ति–व्यक्तिको हातमा रहेकाले सार्वजनिक जग्गा फिर्ता गर्ने अभियानमा लागेको बताए। ‘पटकपटकसम्म घरजग्गा खाली गर्न जानकारी गराउँदा समेत अटेर गरेकाले अब ७ दिनसम्म फिर्ता नगरेमा कानुन बमोजिम कार्वाही अघि बढाउनेछौं’ सचिव सिंहले भने।
‘ट्रष्टको स्वामित्वमा रहेको कामनपा १३ छाउनी मार्गमा रहेको १०२–११०३–१३ कित्ता नम्बर ११ क्षेत्रफल २–१३–१–१ (१४४० वर्गमिटर)मा रहेको घरजग्गा ७ दिनभित्र यथासिघ्र खाली गरिदिनुहुन जानकारी गराइन्छ’ ट्रष्टले भनेको छ।
प्रकाशित: ११ वैशाख २०७५ ००:५९ मंगलबार