८ वैशाख २०८१ शनिबार
समाज

पाँच वर्षदेखि पुल निर्माण अलपत्र

जाजरकोट – भेरी करिडोरभित्र पर्ने छिन्चु जाजरकोट सडकमा यातायात सञ्चालन भएको १० वर्ष बित्यो । उक्त सडक कालोपत्रे भएको पनि पाँचवर्ष बितेको छ । तर सडकको पासागाड खोलामा पुल निर्माण हुनसकेको छैन । सडक विभागको लापरबाहीले पुल निर्माण पाँच वर्षदेखि अलपत्र परेको छ । 

पासागाड खोलामा पुल नबन्दा बर्खामा यातायात अवरुद्ध हुँदा जाजरकोट, डोल्पा र जुम्लाका यात्रुलाई सास्ती हुने गरेको छ । बर्खा लाग्ने वित्तिकै खोलाको बाढीका कारण यात्रुलाई आवजावतमा सास्ती हुने गरेको हो। 

सडक विभाग र आइएमई आरसी कन्सलटेन्सी ललितपुरको चरम लापरबाहीको कारण पुल निर्माण अलपत्र परेको हो । दुई वर्षअघि निर्माण सम्पन्न गर्नुपर्ने पुलको काम शुरुसमेत नभएको स्थानीय कालीबहादुर पुनले बताए। 

परामर्शदाताले हचुवामा गरेको डिजाइनका कारण पुल निर्माणको कार्य हुन नसकेको सडक डिभिजन कार्यालय चौरजहारीका इन्जिनियर सुशील पौडेलले बताए। पुल निर्माणका लागि ५ वर्षअघि विभागको सूचनाबमोजिम  ३ करोडमा लुम्बिनी–आशिष जेभी निर्माण सेवा काठमाडौंको टेन्डर स्वीकृत भएको थियो । तर निर्माण स्थल र डिजाइनको तालमेल नमिल्दा पुल निर्माण अवरुद्ध भएको पौडेलले बताए। ‘पुल निर्माण स्थलको भौगोलिक अवस्था र डिजाइनले मेल नखाँदा निर्माण कम्पनीले निर्माण कार्य शुरु गर्न नसकेको हो,’ पौडेलले भने। 

पुलको रिडिजाइन भएर लागत यकिन नभएसम्म निर्माण कार्य अघि नबढ्ने उनले बताए। 

प्रकाशित: ८ वैशाख २०७५ ०५:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App