coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सडक बनेसँगै दुर्घटना बढ्यो

चितवन -  नारायणगढ– मुग्लिन सडकखण्ड सहज बन्दै जाँदा दुर्घटना पनि बढेर गएका छन्।
विगतका केही वर्ष यात्रुले हैरानी व्यहोर्दै आएको यस सडकको नारायणगढबाट १६ किलोमिटरसम्म ११ मिटर चौडा र त्यस उता मुग्लिनसम्म नौ मिटर चौडा सडक अहिले बनेको छ।

खाल्डाखुल्डी हुँदा सवारीको गति कम हुने भए पनि अहिले तीव्र गतिमा सवारी गुडेपछि दुर्घटना बढ्दै गएका हुन्। नारायणगढ मुग्लिन सडकखण्डमा यस आर्थिक वर्षको साउन महिनामा एक सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको थियो। भदौ महिनामा दुर्घटना भएको थिएन भने असोजमा  भएको दुर्घटनामा एकको मृत्यु भएको थियो।

कात्तिक महिनामा ६ दुर्घटना हुँदा एकको मृत्यु र एकजना घाइते भएका थिए । मंसिरमा दुई दुर्घटनामा परी एकको मृत्यु र एक जना घाइते भएका थिए । पुसमा दुई दुर्घटनामा एकको मृत्यु र एक घाइते भएका थिए।

पछिल्ला समय सडक सहज बनेसँगै दुर्घटनाको संख्या र मृत्यु हुनेको संख्या बढ्दै गएको छ। माघ महिनामा सो सडक खण्डमा चार वटा दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको थियो भने, एकजना घाइते भएका थिए। फागुन महिनामा ६ वटा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो। भने ३० जना घाइते भएका थिए। चैत महिनामा आठवटा दुर्घटनामा परी चार जनाको मृत्यु भएको थियो भने छ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तकाअनुसार जब सडकयात्रा सहज हुँदै गयो तब दुर्घटना बढेको देखिन्छ । सो सडक खण्डमा कालोपत्रे गर्ने काम माघ महिनाबाट तीव्र गतिमा अगाडि बढेको थियो। त्यही महिनाबाट सवारी दुर्घटनाको संख्या बढ्दै गएको छ।

सडक निर्माणको क्रममा सडकमा संकेत कम भएको र सवारी चालकले तीव्र गतिमा सवारी चलाएका कारण दुर्घटना बढेको ट्राफिक प्रमुख पन्तले बताए। ‘सडक र सडक किनारामा हुनुपर्ने ट्राफिक संकेत नहुँदा जथाभावी सवारी चलाउँदा पनि दुर्घटना बढेको पाइन्छ,’ उनले बताए।

बाटो सहज बन्दै जाँदा दुर्घटना बढेको देखिन्छ, नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले भने, “बाटो सहज छ भन्दैमा हतारमा सवारी चलाइदिने गर्नाले दुर्घटना बढेको हो ।”पछिल्ला दुई महिनामा सडक दुर्घटना बढेपछि आयोजनाले जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरेर सचेतनाको कार्यक्रम सञ्चालन गर्न लागेको खनालले जानकारी दिए।

“पहिला सडकमा खाल्डाखुल्डी हुँदा कम दुर्घटना भएको थियो, अहिले ३३ दशमलव २ किलोमिटरमध्ये ३० किलोमिटर कालोपत्रे भएकाले सडकमा सवारी चालकले अनियन्त्रित रुपमा सवारी चलाई दिँदा दुर्घटना बढेको पाईन्छ,” खनालले भने । आयोजनाले नियन्त्रित रुपमा र लाइनमा सवारी चलाउन सचेतना कार्यक्रम चलाउन शुुरु गरेको उनले बताए।सडक बने पनि पुल नबन्दा सवारी जाम हुने र दुर्घटना बढ्ने समस्या देखिएको छ।रासस

 

प्रकाशित: ७ वैशाख २०७५ ०७:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App