७ वैशाख २०८१ शुक्रबार
समाज

हलेसीगढी उत्खनन गर्न पुरातत्व विभागसमक्ष आग्रह

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले करिव ३५० वर्ष पुरानो गढी उत्खनन गर्न पहल थालिएको छ। हलेसी क्षेत्रमा राजकीय जग बसाएका होलैसुङको नामबाट चिनिने गढीको अस्तित्व र संरचनालाई संरक्षण गर्दै त्यसको ऐतिहासिक महत्वलाई उजागर गर्न वडा नं ५ दुर्छिमस्थित हलेसीगढी उत्खननका लागि नगरपालिकाले पुरातत्व विभागलाई आग्रह गरेको छ।

ऐतिहासिक गढीको संरक्षण र संवर्द्धन गर्दै पर्यटकीयस्थलका रुपमा विकास गर्न गढीको प्रारम्भिक सर्वेक्षण, उत्खनन एवं पुनःनिर्माणका लागि विशेषज्ञसहित बजेट व्यवस्थाका लागि विभागसमक्ष प्रस्ताव गरिएको नगर प्रमुख इवन राईले बताए। अग्लो डाँडामा रहेकाले हलेसी गुफा, तुवाचुङ–जायजुम, हिमालय शृखंला, तराईका समथर भू–भागसमेत दृश्यावलोकन गर्न सकिने रमणीय ठाउँ भएकाले हलेसी गढीमा पर्यटन संवद्र्धनको प्रचुर सम्भावना रहेको स्थानीयवासी बताउँछन्।

हलेसी गढीले गोरखा दरबार, पाटन दरबार, कीर्तिपुर दरबारको जस्तै ऐतिहासिक महत्व बोकेको भए पनि प्रचार–प्रसारमा नआएकाले उत्खननका लागि नगरपालिकामा प्रस्ताव राखिएको बुद्धिजीवी भुपेन्द्रकुमार राईले बताए। ऐतिहासिक गढीको अस्तित्व नै मेटिने गरी नजिकैबाट मनपर्दो तरिकाले सडक खन्न थालिएको केही समयपछि गढी उत्खननका लागि पहल थालिएको हो।

मध्यपहाडी लोकमार्गको जयराम–हलेसी सडकअन्तर्गत दुर्छिमको छापडाँडाभन्दा केही माथि रहेको हलेसी गढीमा राजा र सेनापति बस्ने छुट्टाछुट्टै गढीको जग अहिले पनि यथावत् छ। सैनिक परेड खेल्ने मैदान, गढी वरिपरि हिँड्ने रिङ रोड, सुरुङ लगायतका संरचना अहिले पनि देख्न सकिन्छ। तर ती संरचनाको अस्तित्व क्रमशः मेटिँदै गएकाले नगर र स्थानीयवासीले गढीको संरक्षणमा चासो देखाएका हुन्।

हालसम्म ओझेलमा रहेको गढीमा नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले आफ्नो सेनालाई तलब वितरण गरेको इतिहास छ। प्रचार–प्रसार गर्न सके नजिकै रहेको धार्मिकस्थल हलेसी आउने पर्यटक तथा दर्शनार्थीलाई ऐतिहासिक गढीमा भ्रमण गराउन सकिने सम्भावना रहेको नगरपालिकाले जनाएको छ।

किराती राजा होलैसुङले स्थापना गरेको राज्यमा भ्वाँरमहोँछा राजा भएको समयमा विसं १८३० भदौमा पृथ्वीनारायण शाहका सेनाले आक्रमण गरेर परास्त गरेको मुन्धुम अध्येता भोगीराज चाम्लिङले बताए। नगरपालिकाभित्र रहेका च्यास्मीगढी र खाम्तेल गढीमध्ये नगरपालिकाले हलेसी गढीको उत्खननको प्रस्ताव गत चैत १५ गते पुरातत्व विभागमा पुर्याएको हो। (रासस)

प्रकाशित: ६ वैशाख २०७५ ०७:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App