६ वैशाख २०८१ बिहीबार
समाज

पत्रकार महासंघमा 'सिन्डिकेट' लगाएको भन्दै आन्दोलनको घोषणा

काठमाडौं- पत्रकार महासंघको आसन्न प्रदेश निर्वाचनमा तीन संगठनले 'सिन्डिकेट' लगाएको भन्दै अन्य संगठनले विरोध जनाएका छन्।

प्रदेश निर्वाचन हुँदै गर्दा महासंघलाई साझा पेशागत संगठन हुन नदिन खोजिएको भन्दै क्रान्तिकारी पत्रकार संगठन, प्रेस सोसाइटी नेपाल, प्रगतिशील पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ, मिडिया नेपाल र संघीय प्रेस फोरमले संयुक्त विज्ञप्ती जारी गर्दै विरोध गरेका हुन्।

मंगलबार एमाले निकट प्रेस चौतारी, कांग्रेस निकट प्रेस युनियन र नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरले प्रदेश निर्वाचनको लागि पदीय भागवण्डा गरेका थिए।

महासंघमा उत्पन्न विवादलाई २४ घण्टाभित्र समाधान गर्न समेत उनीहरुले आह्रग गरेका छन्। समाधानको पहल नगरेमा तालाबन्दी सहितका कार्यक्रम समेत उनीहरुले घोषणा गरेका छन्। उनीहरुले यसको कानूनी उपचार समेत खोज्ने बताएका छन्।

'महासंघ जस्तो उच्च गरिमा र भूमिका भएको संस्थामा सिन्डिकेट तथा मनपरी लाद्ने प्रयत्न भइरहेको र कार्यसमितिले अमूर्तरुपमा त्यसलाई मान्यता दिने काम भइरहेको छ', विज्ञप्तिमा भनिएको छ, 'यस्तो क्रियाकलापले अब हुने प्रदेश निर्वाचनको बैधानिकतामाथि नै ठूलो प्रश्न उठ्ने छ।'

नविकरणको मात्र मापदण्ड बनाएर शाखाको निर्वाचनमा सहभागी नभएका किरिब ५० प्रतिशत सदस्यहरुलाई प्रदेश निर्वाचनमा भोट हाल्ने अधिकारबाट बञ्चित गर्न लागिएको समेत विज्ञप्तीमा उल्लेख छ। महासंघको इतिहासमा पहिलो पटक हुन लागेको प्रदेश संरचनालाई समावेशी, सबैको अपनत्व हुने र प्रतिनिधित्वमुलक बनाउने समेत आग्रह गरिएको छ। प्रदेश निर्वाचनको बैधानिकतामा नै प्रश्न उठेको भन्दै उनीहरुले तत्काल प्रक्रिया रोकी छलफल अगाडि बढाउन आग्रह गरिएको छ।

 

प्रकाशित: ५ वैशाख २०७५ १२:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App