coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सडक पुग्याे तर गाडी पुगेन

मेन्छ्यायेम गाउँपालिकामा स्काईभेटरले सडक निर्माण गदै। तस्बिरः भगिश्वर लिम्बु/नागरिक

तेह्रथुम – स्थानीय तहको निर्वाचन पछि जिल्लाका विभिन्न वडाहरूमा सडक निर्माण गर्दै स्काभेटर पुगे पनि सवारी साधन नपुग्ने समस्याले स्थानीयबासी हैरानीमा परेका छन्।

सडक निर्माणका लागि स्काभेटर आयातमा वृद्धि भएसँगै सडक निर्माण भए पनि उक्त सडकमा सवारी साधन नचल्दा स्थानीयबासी हैरानीमा परेका हुन्। जिल्लाका २ नगरपालिका र ४ गाउँ पालिकाले सबै भन्दा धेरै बजेट सडक निर्माणका लागि विनियोजन गरे पछि संस्थागत लगानीमा मात्र नभई निजी लगानीमा समेत सडक निर्माणका लागि प्रयोग हुने स्काभेटर आयातमा वृद्धि भएसँगै सबै वडाहरू सडक सञ्जालले जोडिए पनि उक्त सडकमा सवारी साधन नचल्दा स्थानीयलाई समस्या भएको हो।

वर्षा याममा स्काभेटरले खनेको सडक वर्षाले बगाउने समस्याले स्थानीय तहले सडकमा गरेको लगानी प्रभाबकारी नभएको गुनासो आउन थालेको छ। पहिलो पटक स्काभेटरले खनेको सडक ट्रयाक खोल्नका लागि मात्र भएको उपभोक्ता समितिले स्वीकारेका छन्।

वडा कार्यालय, गाउँपालिका र नगरपालिकाले समेत पहिलो प्राथमिकतामा सडक निर्माणका लागि बजेट विनियोजन गरेपछि अहिले एक जना  व्यवसायीले ३ वटा सम्म स्काभेटर ल्याएका छन्। स्थानीय युवाहरूको समेत स्काभेटर खरिदमा पहुँच पुगेपछि अहिले गाउँका वडामा निर्माणधिन सडकहरूमा धमाधम स्काभेटर प्रयोग भैरहेका छन्।

स्थानीय स्तरमा निर्माण हुने सडकमा व्यवसायीले प्रयोग गर्ने स्काभेटरले चर्को मुल्य लिएको भन्दै सस्तोमा सडक निर्माणका लागि लालीगुराँस नगरपालिकाले आफ्नै स्वामित्वमा स्काभेटर समेत खरिद गरेर सडक निर्माण गरि रहेको छ। लालीगुराँस नगरपालिकाले सुरु गरेको यो स्काभेटर अभियानले सबै वडामा सडक निर्माण गर्न सम्भब नभएका पछि अहिले सडक निर्माण समितिले धमाधम भाडामा स्काभेटर प्रयोग गर्न थालेका छन्। सस्तो मूल्यमा सडक निर्माण गर्ने आसमा बसेका वडाबासीहरूले अहिले महंगो मूल्यमा स्काभेटर लगाएर सडक निर्माण गर्न बाध्य भएको बताएका छन्।

यस अघि मध्यपहाडी लोकमार्गको निर्माण कम्पनीले मात्र प्रयोग गर्दै आएको स्काभेटर अहिले जिल्लामा निजी लगानीबाट यहँका व्यवसायीहरुले करिव २ दर्जन बढी स्काभेटर खरिद गरेका छन्। यहाँका युवा व्यवसायीहरूको लगानीमा आठराईमा गाउँपालिकामा  वटा, फेदाप गाउँपालिकामा २ वटा, मेन्छ्यायेम गाउँपालिकामा ५वटा, म्याङलुङ नगरपालिकामा ४ वटा छथर गाउँपालिकामा ३ र लालीगुराँस नगरपालिकामा ३ वटा स्काभेटरले विभिन्न भौतिक निर्माणको काम गरिरहेको स्रोतले जनाएको छ। एउटा  स्काभेटर जिल्लामा पुर्याउँदा करिव १ करोड ५ लाख खर्च हुने व्यवसायीहरुले बताएका छन्। श्रोतका अनुसार २५ करोड बढी मूल्यका स्काभेटर अहिले जिल्ला भित्रीएका छन्।

चुनाबीनाराको रुपमा जनप्रतिनधिहरूले ५० हजार देखि १० लाख रुपैयाँसम्मका योजनाहरू समेत छनौट गर्दा विभिन्न वडाहरूमा निर्माण गरिने सडक प्रभावहीन हुने गरेको भन्दै आगामी वर्षहरूमा सडक निर्माणका लागि थोरै बजेट विनियोजन गर्न नहुने सकरोकारवालाले सुझाब दिएका छन्। लामो समय पछि जनप्रतिनिधिहरूको सहभागितामा जिल्लाका विभिन्न वडाहरूमा धमाधम सडक निर्माण भैरहेका छन्। केहि वडाहरूमा भने जनप्रतिनिधिहरूले समेत आफ्नो लगानीमा स्काभेटर खरिद गरि सडक निर्माण गरिहरेका छन्।

उपभोक्ता समितिले स्काभेटरमा प्रतिघण्टा न्यूनतम ३५ सय देखि ६५ सय रुपैयाँ सम्म खर्च गर्ने गरेका छन्। आर्थिक वर्ष सकिन केहि महिना मात्र बाँकी रहदा पनि यहाँ सञ्चालित स्काभेटरले काम सम्पन्न गर्न नसक्ने भएपछि अझै जिल्ला बाहिरबाट भाडामा समेत व्यवसायीहरुले स्काभेटर ल्याउने गरेका छन्। आफ्नो स्काभेटर जसरी भए पनि काममा लगाउनका लागि स्थानीय तहका जनप्रतिनिधि र उपभोक्ता समितिका पदाधिकारीले आफ्नो पार्टीको नेतृत्वमा समिति बनाउने गरेको उपभोक्ताहरुले गुनासो गरेका छन्।

जनप्रतिनिधिहरूले स्थानीयतहको निर्वाचन पछि विकास निर्माणले गति लिएको दाबी गर्दै आएका छन् भने उपभोक्ताले सडक निर्माणको नाममा सडक उपभोक्ता समिति र जनप्रतिनिधिहरूले योजना सम्पन्न गर्नकै लागि मात्र काम गर्ने गरेको आरोप लगाएका छन्। विकास निर्माणको नाममा विनियोजि करोडौ बजेट स्काभेटरकै कारण  जिल्ला बाहिर गएको जानकारहरूले बताएका छन्।

प्रकाशित: ४ वैशाख २०७५ ०९:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App